21 February 2024  |   बिहिबार, फाल्गुन १०, २०८०

जैसपुरमा तरकारी पकेट क्षेत्र

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, बैशाख १५, २०८०  

नेपालगन्ज (बाँके),
तरकारीमा आयात कमी गर्न र स्थानीय किसानलाई आत्मनिर्भर बनाउने उद्देश्यले नेपालगन्जमा तरकारी पकेट क्षेत्र निर्माण गरिएको छ । यस आर्थिक वर्षमा नेपालगन्जको १६ नम्बर वडा जैसपुरलाई तरकारी पकेट क्षेत्र निर्माण गरिएको हो ।


प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत नेपालगन्जमा थप तरकारी पकटे क्षेत्र निर्माण गरिएको नेपालगन्ज उपमहानगरपालिकाअन्तर्गतको कृषि शाखाले जनाएको छ । तरकारी पकेट क्षेत्रका लागि जैसपुरको नसरा कृषक समूह छनोटमा परेको छ । नेपालगन्जमा तरकारीको क्षेत्रफल बढाउन, आत्मनिर्भर बनाउन र आयात रोक्न तरकारी पकेट क्षेत्र निर्माण गरिएको कृषि शाखाकी अम्बिका रिजालले जनाइन् । ‘तरकारी पकेट क्षेत्रले आयातलाई केही हदसम्म कम गर्नेछ,’ उनले भनिन्, ‘आफ्नै ठाउँको ताजा तरकारीसमेत खान पाइने छ । यहाँका किसान कृषिमा आत्मनिर्भरसमेत हुने अपेक्षा गरिएको छ ।’ तरकारी पकेट क्षेत्रका लागि पहिलो वर्ष ११ लाख रुपैयाँ खर्च हुने छ भने दोस्रो वर्ष करिब ६ लाख रुपैयाँ खर्च हुनेछ ।

‘एउटा पकेट क्षेत्र कार्यक्रम दुई वर्ष चल्छ,’ उनले भनिन्, ‘कार्यक्रम राम्रो भयो भने निरन्तरता पाउँछ । उद्देश्यअनुसार भएन भने कार्यक्रम दोस्रो वर्षका लागि निरन्तरता दिँदैनौं ।’ यो पकेट क्षेत्र निर्माणका लागि १० हेक्टर क्षेत्रफलमा तरकारी खेती हुनुपर्ने उनको भनाइ छ । ‘यस कार्यक्रमले किसानहरुलाई व्यावसायिक बनाउन मद्दत पुग्नेछ,’ उनी भन्छिन् ।

अहिले यहाँ बन्दागोपी, काउली, फर्सी, लौका, काँक्रालगायतका तरकारी लगाइएको नसरा कृषक समूहका अध्यक्ष सलम कवडियाले जनाए । ‘तरकारी राम्रो भएको छ,’ उनले भने, ‘हामीले पनि राम्रो गर्ने प्रयास गरेका छौं ।’ गत वर्ष नेपालगन्जले १९ नम्बर वडामा तरकारी पकेट क्षेत्र निर्माण गरेको थियो । यस वर्ष पनि उक्त तरकारी पकेट क्षेत्रलाई निरन्तरता दिइएको नेपालगन्ज उपमहानगरपालिकाअन्तर्गतको कृषि शाखाले जनाएको छ । अहिले भारतीय बजारबाट ठूलो मात्रामा तरकारी तस्करी हुने गरेको बेलाबेला गुनासाहरु आउने गरेका छन् । विषादी प्रयोग गरिएका भारतीय तरकारीले उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष असर पार्दै आएको छ । नेपालगन्जमा तरकारीको माग उच्च छ । स्थानीय उत्पादनले मात्र धान्न नसक्दा भारतीय बजारबाट तरकारी भित्रिने गरेको कतिपयको भनाइ छ ।
यहाँका किसानले तरकारीबाट राम्रो उत्पादन गरेर बजारिकरण गर्न सक्नेछन् ।

च्याउ पकेट क्षेत्र बनाइँदै
नेपालगन्जमा कन्ये च्याउ पकेट क्षेत्र निर्माण गर्न थालिएको छ । च्याउ उत्पादनमा किसानलाई आकर्षित र आत्मनिर्भर बनाउन कन्ये च्याउ पकेट क्षेत्र निर्माण गर्न थालिएको हो ।
यसभन्दा पहिला पनि नेपालगन्ज उपमहानगरपालिकाले उक्त च्याउ पकेट क्षेत्र निर्माण गर्न थालेको थियो । तर, किसान, समूह र सहकारीबाट प्रस्तावना आएको थिएन । त्यतिबेला दुईवटा मात्र प्रस्तावना आएको र उक्त प्रस्तावना मापदण्ड नपुगेकाले पुनः अहिले पकेट क्षेत्र निर्माणका लागि प्रक्रिया थालिएको नेपालगन्ज उपमहानगरपालिकाअन्तर्गतको कृषि शाखाले जनाएको छ । कन्ये च्याउ पकेट क्षेत्रमा एक हजार बीउबाट च्याउ उत्पादन गर्नुपर्नेछ ।

‘यसका लागि प्रस्तावना माग गरिएको छ,’ कृषि शाखाकी रिजालले भनिन्, ‘प्रस्तावना नेपालगन्जका कृषक, कृषक समूह, सहकारीले दिन सक्नेछ ।’ प्रस्तावना आएपछि नगरको आर्थिक विकास समितिको बैठकमा छलफल हुनेछ । त्यसपछि प्राविधिक समितिले अनुगमन गर्ने र अनुगमनपछि पुनः आर्थिक विकास समितिको बैठकले पकेट क्षेत्र छनोट गर्नेछ ।

 

प्रकाशित मितिः शुक्रबार, बैशाख १५, २०८०     7:15:03 AM  |