नेपालगन्जमा ‘मगन्ते’को राज



नेपालगन्ज,
नेपालगन्जको धम्बोझी नजिकै कोहलपुरका लागि लोकल गाडी छुट्ने स्थान र पुष्पलाल चोकमा जो कोही जानूस् त्यहाँबाट तपाईं सहजै उम्किन सक्नुहुन्न । किनकी त्यहाँ मगन्तेको ‘राज’ छ । सडक वा रोकिएका सवारी साधन जहाँ पनि मगन्ते पुग्छन् । र हात जोड्दै पैसा माग्न थाल्छन् । अव्यवस्थितरुपमा सडकमा माग्न बसेकाहरुले सर्वसाधारणलाई सास्ती दिने गरेका छन् ।


नेपालगन्जस्थित धम्बोझी नजिकै विकाश कार्की गाडी पार्किङगर्छन् र बाहिर निस्किन खोज्छन् । गाडीबाट बाहिर नस्किँदै उनको अगाडि, दाई पैसाभन्दै महिलाले कचौरा थाप्छिन् । उनले पैसा नदिँदासम्म ति महिलाले उनलाई गाडीबाट बाहिर निस्किनै दिएनिन् । अन्ततः कार्कीले पैसा दिए, अनि मात्र उनीबाट उन्मुक्ति पाए । गाडीबाट ओर्लिन नपाउँदै अर्का बालबालिका आउछन्, खुट्टा समाउछन् अनि भन्छन्, ‘अंकल पैसा दिनून पैसा ।’ उनको कामको ध्यान एकातिर थियो । गाडीबाट झर्दाको अवस्थाले उनको ध्याननै अन्तै मोडियो ।

त्यस्तै नेपालगन्जबाट कोहलपुर आउँदै गरेको म्याजिक गाडीमा पनि ति महिला कचौरा थाप्दै पुगिन् र भन्छिन्, ‘दाई, दिदी पैसा दिनूनपैसा ।’ यो त प्रतिनिधि उदाहरण मात्र हो । नेपालगन्जमा मगन्तेहरुले हैरानी दिने गरेका छन् । महिला र बालबालिकाहरु बढी यसमा प्रयोग भएका देखिन्छन् ।मगन्तेहरुले पैसा मागेर हैरानी दिने गरेको नेपालगन्जबाट कोहलपुर आउँदै गरेका दिनेश थारुले बताए ।

‘गाडीमा बसेका मान्छेसँग खुट्टा समाउँदै पैसा माग्दै गर्छन,’ उनले भने, ‘कसैसँग होला नहोला । तर मगन्तेहरुले करै गरेर पैसा माग्छन् ।’ मगन्तेहरुले पैसा नदिए खुट्टैसमेत समाउने गरेको उनी बताउँछन् । यसरी मगन्तेले अव्यवस्थितरुपमा पैसा माग्ने गर्दा यसले नकारात्मक सन्देश जाने बिर्मी खड्काले बताइन् । ‘जिल्ला बाहिरको मान्छे र केही पर्यटकहरु पनि आएका हुन्छन्,’ उनले भनिन्, ‘उनीहरुसँग पनि मरिहत्ते गरेर पैसा माग्छन् । यसले नेपालगन्जबारे बाहिर कस्तो सन्देश जान्छ ?’
मगन्तेले सर्वसाधारणलाई हैरानी बनाउने गरेका स्थानीयको गुनासो
छ । सडक मानवमुक्त देश घोषणा भए पनि यत्रतत्रैरुपमा मगन्तेले माग्ने गरेको दृष्यले उक्त घोषणालाई चुनौती दिएको छ । ‘नेपालगन्जका चोकचोकमा हिँड्नै सकिँदैन, मगन्तेले समाइ हाल्छन्,’ जानकीबाट नेपालगन्ज आएका मोहम्मद अलि शेषले भने, ‘पैसा दिउ भने दैनिक ति सबैलाई दिन सकिँदैन । नदिउ भने कहिलेकसो आफैँसँग पैसा हुँदैन ।’

  • No tags available
प्रकाशित मिति : २०८० वैशाख ११ गते सोमबार