कोहलपुर,
तीनजना दलित महिला पत्रकारले जातीय विभेद्विरुद्ध महाकाली–मेची साइकल यात्रा २०८० सुरु गरेका छन् । वैशाख ६ गतेदेखि सुदूरपश्चिम प्रदेशको नेपाल–भारत सीमा नाका गडचौकीबाट उनीहरुले साइकल यात्रा सुरु गरेका हुन् ।
सबैखाले विभेद् अन्त्य हाम्रो अभिभारा, न्याय समानता र आत्म सम्मानका लागि महाकाली मेची साइकल यात्रा सुरु गरिएको हो । साइकल यात्रामा पत्रकार रीता बुढाथोकी, इन्दिरा विश्वकर्मा र संगीता नेपाली संलग्न छन् । बुढाथोकी रेडियो नेपालमा आबद्ध छिन् भने राष्ट्रिय दलित पत्रकार संघ नेपालकी केन्द्रीय सचिवसमेत हुन् । नेपाली राष्ट्रिय दलित पत्रकार संघ अर्घाखाँचीकी सदस्य तथा सामुदायिक रेडियोमा आबद्ध छिन् । यता विश्वकर्मा राष्ट्रिय दलित पत्रकार संघ नेपालकी लुम्बिनी प्रदेश सदस्य र नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासीकी कार्यसमिति सदस्य पनि हुन् ।
तीनैजनालाई शनिबार बाँकेस्थित दलित अगुवाहरुले स्वागत तथा सम्मान गरेका छन् । जातीय विभेद्विरुद्ध सन्देश प्रवाह गर्न साइकल यात्रा सुरु गरेका उनीहरुलाई कोहलपुरमा भव्य स्वागत गरियो । स्वागत कार्यक्रममा बोल्दै साइकलयात्री बुढाथोकीले नेपाली समाजमा विद्यामान रहेको जातीय विभेद् र भेद्भाव न्यूनीकरण गर्ने उद्देश्य रहेको बताइन् । उनका अनुसार जातीय विभेद् उन्मूलनको यात्रामा गैरदलित समुदायलाई समेत समेट्ने यात्रा प्रयास रहनेछ । ‘दलित समुदायमा चेतनाको अभाव छ भनिन्छ । त्यो गलत हो । चेतना गैरदलित समुदायमा छैन,’ उनले भनिन्, ‘उहाँहरुलाई दलित समुदाय पनि मानव हुन् । उनीहरुलाई विभेद् गर्नुहुँदैन भन्ने चेतना देखिँदैन । त्यसैले हामीले उहाँहरुलाई चेतनशील बनाउन सक्नुपर्छ ।’
उनले गोष्ठी, भेला तथा सम्मेलन गरेर मात्रै नहुने भन्दै सिर्जनात्मकरुपमा जातीय विभेद्विरुद्ध सन्देश प्रवाह गर्न सकिन्छ भनेर यात्रा सुरु गरिएको बताइन् । यात्रा अवधिभरि जातीय विभेद्को अवस्थाका विषयमा विभिन्न जिल्लामा कार्यक्रम आयोजना गर्ने र यात्राको प्रतिवेदन बनाएर सरकारलाई बुझाउने लक्ष्य रहेको उनले बताइन् । जातीय विभेद् गर्न नपाइने कानुनी व्यवस्था भए पनि कार्यान्वयन हुन नसकेको भन्दै राज्यलाई दबाब सिर्जना गर्न पनि जोखिमपूर्ण यात्राको थालनी गरिएको उनको भनाइ छ ।
कोहलपुर नगरपालिकाका कार्यपालिका सदस्य तथा सामाजिक विकास समितिका संयोजक ईश्वरीप्रसाद विश्वकर्माले यात्राले समतामूलक समाज निर्माण, राज्यलाई दलितमैत्रीरुपमा काम गर्न दबाब सिर्जना गर्ने बताए । उक्त अवसरमा बोल्दै रेडियो प्रतिबोध एफएमका अध्यक्ष शिव सुनारले दलित महिला पत्रकारहरुले सुरु गरेको अभियान महŒवपूर्ण रहेको बताए । उक्त टोलीलाई राष्ट्रिय दलित पत्रकार संघ बाँके शाखाले समेत स्वागत गरेको थियो ।