कोहलपुर,सञ्चारकर्मीलाई १० दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ । बिरमी चन्द्र फाउण्डेसन नेपालको आयोजनामा चैत २७ गते सुरु भएको सञ्चारकर्मीका लागि १० दिने तालिम बिहीबार सम्पन्न भएको हो ।
लुम्बिनी प्रदेश सदस्य तथा पूर्वमन्त्री कृष्णा केसी (नमुना) को प्रमुख आतिथ्यतामा तालिम भएको छ । उक्त अवसरमा बोल्दै उनले तालिम उपलब्धिमूलक रहेको विश्वास व्यक्त गरिन् । उनले आगामी दिनमा यस्ता तालिम आयोजनाका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् । प्रदेशसभा सदस्य केसीले तालिममा सिकेका कुरा व्यवहारिकरुपमा लागू गर्नसमेत आग्रह गरेकी थिइन् ।
आगामी दिनमा पत्रकारहरुको थप क्षमता अभिवृद्धिका लागि आफूले व्यक्तिगत तथा प्रदेशसभाबाट गर्नुपर्ने सहयोग गर्न आफू तयार रहेको उनले बताइन् । तालिममा जिल्लाभरका ४० जना पत्रकारहरु सहभागी थिए । तालिममा प्रशिक्षकको रुपमा शंकरप्रसाद खनाल, रुद्र सुवेदी, गोविन्द्र पाण्डे, डिल्ली बिसीलगायत थिए । तालिम समापनको अवसरमा बोल्दै सहभागी शान्ति सुनारले तालिममा पत्रकारितासम्बन्धी आधारभूत कुराहरुको ज्ञान भएको बताइन् । उनका अनुसार तालिममा प्रशिक्षकहरुद्वारा सिकाइका कुराहरु अक्षरस पालना गर्ने प्रतिबद्धता व्यक्त गरेकी थिइन् ।
बिरमी चन्द्र फाउण्डेसन नेपाल बाँकेका अध्यक्ष डा. डक्टप्रसाद धितालले तालिम सहभागीहरुको लागि लाभदायी भएको विश्वास व्यक्त गरे । उनले आगामी दिनमा यस्ता नयाँ पत्रकार उत्पादनका लागि यस्ता प्रकारका तालिमको आयोजना गरिने बताए । सञ्चारकर्मीलाई १० दिने क्षमता अभिवृद्धि तालिममा लुम्बिनी प्रदेश सरकार आन्तरिक मामिला तथा सहकारी मन्त्रालयको आर्थिक सहयोग गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्