21 February 2024  |   बिहिबार, फाल्गुन १०, २०८०

बाँकेमा कोरोनाको जोखिम बढ्दै

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, बैशाख ८, २०८०  

नेपालगन्ज (बाँके),  भातरको उत्तरी क्षेत्रमा कोभिड–१९ (कोरोना भाइरस) संक्रमण दर बढ्दै गएको छ । त्यसको प्रभाव सोझै नेपालसम्म पुग्छ । तर, भारतको उत्तर प्रदेशसँग सीमा जोडिएको नेपालगन्जस्थित जमुनाह नाकामा प्रभावकारी ढंगले सतर्कता अपनाइएको छैन । जसले गर्दा बाँकेमा कोरोना भाइरसको जोखिम बढेको छ ।
दैनिक जमुनाह नाकाबाट मात्रै ठूलो संख्यामा मान्छे आवातजावत गर्छन् ।

नेपालगन्जबाट नजिकैको भारतीय बजार रुपैडियाबाट किनमेलका लागि आवतजावत गर्नेको संख्या त झन एकिन नै छैन । रोजगारीका लागि भारत गएका मात्रै दैनिक करिब चार सयभन्दा बढी नेपाली जमुनाह नाका हुँदै नेपाल भित्रिन्छन् । सीमा क्षेत्रमा स्वास्थ्य सुरक्षा व्यवस्थापन प्रभावकारी नहुँदा बाँकेसँगै पश्चिम नेपालमा कोरोना भाइरसको जोखिम बढेको हो । सीमा क्षेत्रसँगै बाँकेमा कोरोना भाइरसबारे सतर्कता अपनाइएको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी हरिप्रसाद शर्माले बताए ।

तर, सीमा क्षेत्रमा अपनाइएको सतर्कता प्रभावकारी भने हुन नसकेको स्थानीयको भनाइ छ । पछिल्लो समयमा सीमा चार सय ७९ जनाको एन्टीजेन परीक्षण गरिएको छ । सीमामा निर्माण गरिएको हेल्थ डेस्कका अहेब हेमन्त रानाका अनुसार बिहीबार एक सय ५६, बुधबार एक सय १८, मंगरबार एक सय १८, सोमबार एक सय ३१ र आइतबार एक सय ९२ जनाको एन्टीजेन गरीक्षण गरिएको छ । जसमध्ये २३ जनामा कोरोना भाइरस पुष्टि भएको छ । तिमध्ये तीनजना नेपालगन्जका भएको अहेब रानाले जनाए ।

‘भारतबाट आउने जतिलाई परीक्षण गर्छाैं,’ उनले भने, ‘दैनिक जति सकिन्छ त्यतिको परीक्षण गर्छाैं ।’ कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि प्रयासहरु थालिएको स्वास्थ्य कार्यालयले जनाएको छ । नेपाल–भारत सीमा खुला हुँदा पनि बाँकेमा कोरोना भाइरसको जोखिम बढेको हो । यसभन्दा पहिला बाँके कोरोना भाइरसको उच्च जोखिम क्षेत्रमा परेको थियो ।

अहिले सीमा क्षेत्रमा मात्र देखिएको र जिल्लाभित्रै कोरोना भाइरस संक्रमण नदेखिएको कोभिड–१९ व्यवस्थापन समितिका फोकल पर्सन तेज ओलीले जनाए । उनका अनुसार भेरी अस्पतालमा दैनिक कोरोना भाइरस परीक्षण हुने गरेको उनी बताउँछन् । ‘बाँकेमा चारजना सक्रिय संक्रमित हुनुहुन्छ,’ उनले भने, ‘उहाँहरुलाई होम आइसोलेसनमा राखेर उपचार गरिएको छ ।’ सीमा क्षेत्रमा करिब ४०÷५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको उनले बताए । ‘महामारीदेखिनै हामीले जोखिम न्यूनीकरणका लागि प्रयास गरेका हौंँ,’ उनी भन्छन्, ‘उक्त प्रयास रोकिएको छैन । जारी नै छ ।’

प्रकाशित मितिः शुक्रबार, बैशाख ८, २०८०     10:46:20 AM  |