पर्यटन प्रवद्र्धनसम्बन्धी छलफल



कोहलपुर:  बाँके राष्ट्रिय निकुञ्जले अहिले २८औँ वन्यजन्तु सप्ताह मनाइरहेको छ । सप्ताहको सातौँ दिन निकुञ्जले जिल्लास्थित होटेल व्यवसायी, मध्यवर्ती सामुदायिक वनका पदाधिकारी, निकुञ्जअन्तर्गतका पोष्ट इञ्चार्ज र नेचर गाइडहरुसँग छलफल र संवाद गरेको छ । ‘समन्वय, सहकार्य र सहअस्तित्व, वन्यजन्तु संरक्षण साझा दायित्व’ भन्ने मूल नाराका साथ निकुञ्जको आयोजनामा जैविक चौतारीको माध्यमबाट संरक्षणको सवाल, चुनौती तथा अवसरसम्बन्धी छलफल तथा संवाद गरेको हो ।


पर्यटन प्रवद्र्धन गर्नका लागि होटेल व्यवसायी र सरोकारवालासँग निकुञ्जले छलफल गरेको छ । उक्त अवसरमा बोल्दै कोहलपुर मध्यवर्ती समितिका अध्यक्ष ओमप्रकाश ओलीले पर्यटन प्रवद्र्धनका लागि स्थानीय सरकार र निकञ्जबीच समन्वय भएको बताए । निकुञ्ज, होटेल व्यवसायी, मध्यवर्ती क्षेत्रहरु मिलेर पर्यटन प्रवद्र्धनका लागि योजनाअनुसार अघि बढ्न उनले सुझाव दिए । उक्त अवसरमा बोल्दै मध्यविन्दु मध्यवर्ती सामुदायिक वनका अध्यक्ष हर्कबहादुर बिष्टले बाघको मात्रै प्रचारप्रसार गर्न सके आन्तरिक तथा बाह्य पर्यटक भिœयाउन सहयोग पुग्ने बताए ।

यस्तै देउराली हरियाली मध्यवर्ती समूहका अध्यक्ष लोकेन्द्र खत्रीले बाँके राष्ट्रिय निकुञ्जलाई लुम्बिनी प्रदेशकै प्रमुख पर्यटकीय क्षेत्र बनाउन मिल्ने बताए । त्यसका लागि बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा जाने पर्यटकहरुको विकल्प खोज्नुपर्नेमा उनले जोड दिए । होटेल अतिथिका सञ्चालक नरबहादुर ओलीले योजनाबद्धरुपमा अघि बढ्नुपर्ने सुझाव दिए ।

सफारी ट्याक खोल्नुपर्ने र मध्यवर्ती क्षेत्रमा उत्पादन हुने अर्गानिक वस्तुहरुको बजारीकरणमा ध्यान दिनुपर्ने उनले बताए । उक्त अवसरमा बोल्दै निकुञ्जका प्रमुख संरक्षण अधिकृत शाहले पर्यटन प्रवद्र्धनका लागि जैविक चौतारीको अवधारणा अघि सारिएको बताए । अहिले निकुञ्जमा २२ जना नेचर गाइड रहेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०८० वैशाख ८ गते शुक्रबार