कोहलपुर, ६ वैशाख
कालीकोटको नरहरिनाथ गाउँपालिकाले योगी नरहरिनाथको इतिहास संस्थागत अभियान सुरु गरेको छ । तत्कालीन ठाँटीकोट गाउँ विकास समितिअन्तर्गत वडा नम्बर ७ लालुगाउँमा जन्मिएका योगीले संकलन गरेका इतिहास, गरेका काम र योगदानलाई संस्थागत गर्न पालिका अभियानकै रुपमा लागेको हो ।
नरहरीनाथ गाउँपालिकाका अध्यक्ष नगेन्द्र विष्टले योगी नरहरिनाथले दिएको योगदानको उच्च कदर गर्दै स्थानीय सरकारको तर्फबाट उनको इतिहास सुरक्षित गर्न लागिएको बताए ।
कोहलपुरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष विष्टले स्थानीय सरकारको तर्फबाट संस्थागतरुपमा प्रचारप्रसार अभियान सुरु गरेको बताए । नरहरिनाथमा जन्मिएका राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा ख्याती प्राप्त व्यक्तित्वको सम्मानका लागि पनि गाउँपालिकाले नीतिगतरुपमा उनको सम्मानका लागि अघि बढेको अध्यक्ष विष्टको भनाइ छ ।
‘नरहरिनाथको आदर्शलाई पछ्याउँदै हामीले विकास गर्न खोजिरहेका छौँ । उहाँले हामी मानव हौँ । महामानवको व्यवहार गर्नुपर्छ भन्नु भएको छ,’ उनले भने, ‘यो कुरा अहिले पनि उत्तिकै महŒवपूर्ण छ । महामानवले आफ्नो मात्रै होइन सिंगो विश्वको लागि सोच्दो रहेछ । उहाँ त्यस्तै हुनुहुन्थ्यो । उहाँ महान हुनुहुन्थ्यो ।’
गाउँपालिकाले नरहरिनाथको महŒव, गरेका कामबारे जानकारी गराउने उद्देश्य रहेको उनको भनाइ छ । उनलाई सामान्य जोगी, भिक्षु र सन्यासीका रुपमा हेर्ने गरिएको भन्दै उनले भने, ‘उहाँले महान् स्रष्टा हुनुहुन्थ्यो ।’ योगी नरहरिनाथले ६ वटाभन्दा बढी किताब लेखेका थिए ।
उनका हस्तलिखित पुस्तकलाई गाउँपालिकाले प्रकाशनको तयारी गरेको छ । २०८० सालमै गाउँपालिकामा योगी नरहरिनाथ योग अध्ययन प्रतिष्ठान स्थापना गर्न लागेको बताए । त्यसमा पुस्तकालयसहित योगको समेत व्यवस्था हुने छ ।
नरहरिनाथलाई बुझ्न चाहनेका लागि सम्पूर्ण प्याकेज निर्माण गर्ने प्रयासमा रहेको पालिकाले जनाएको छ । उनलाई नेपालसहित भुटान, भारत र जापानलगायतका देशमा अहिले पनि मानिसहरुले पुज्ने गरेका छन् । यस्तै नरहरिनाथकै नाममा १५ शथ्याको अस्पताल निर्माण भइरहेको उनले बताएका छन् ।
योगी नरहरिनाथ को हुन् ?
योगी नरहरिनाथको जन्म विक्रम सम्वत् १९७१ फागुन १७ गते आइतबारका दिन कालीकोट जिल्लामा भएको थियो । उनी तत्कालीन ठाँटीकोट गाउँ विकास समिति वडा नम्बर ७, लालुलोखाँडामा जन्मिए । उनी भारद्वाजगोत्रीय ललितसिंह ऋक्सेन थापा र माता गौरीदेवी (आत्रेयगोत्री) को माइला पुत्र हुन् । योगीको आठ वर्षकै उमेरमा ब्रतवन्ध गरिएका थियो । उनको वास्तविक नाम बलवीरसिंह ऋक्सेन थापा हो ।
विक्रम सम्वत् १९८१ मा जुम्ला चन्दननाथ मन्दिरका महन्त छिप्रानाथ योगीसँग सन्यास लिएपछि मात्र उनको नाम योगी नरहरिनाथ भयो । योगी नरहरिनाथ नौ वर्षको उमेरमा जुम्ला, चौघानस्थित वटुकभैरवनाथ सिद्ध चन्दननाथ भाषा पाठशालामा प्रवेश गरेका थिए । त्यसपछि उनले हरिद्वार, मायापुरी योगा श्रममा समग्र व्याकरण, दर्शनशास्त्र र काव्य साहित्यको अध्ययन गरे । योगी नरहरिनाथ ८८ वर्षको उमेरमा २०५९ फागुन १३ गते मृत्यु भएको थियो ।









प्रतिक्रिया दिनुहोस्