21 February 2024  |   बुधबार, फाल्गुन ९, २०८०

चर्को ब्याजदरविरुद्ध पुनः आन्दोलन

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, बैशाख ७, २०८०  

कोहलपुर, बैंक तथा वित्तीय संस्थाविरुद्ध कोहलपुरका व्यवसायीहरु पुनः आन्दोलनमा उत्रिएका छन् । नयाँ वर्षलाई लक्षित गर्दै स्थगित भएको उक्त आन्दोलन पुनः सुरु भएको हो ।
बैंक तथा वित्तीय संस्थाहरुले ऋण असुलीको नाममा आंतक मच्चाइरहेको व्यवसायीहरुको आरोप छ । व्यावसायिक हकहित संरक्षण समिति बनाएर कोहलपुरका व्यवसायीहरु संगठितरुपमा आान्दोलन गरिरहेका छन् । उनीहरुले विभिन्न १० बुँदे माग राख्दै चरणबद्ध आन्दोलन गरेका छन् । उक्त समितिका अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठले स्थगित भएको आन्दोलन पुनः सुरु भएको र अबका आन्दोलन सशक्त हुने बताए ।

मंगलबार समितिको बैठक बसेर विभिन्न निर्णय गरिएको छ । बैठकले बाँकेका सम्पूर्ण पालिकामा रहेका व्यावसायिक संघ संस्थासँग समन्वयात्मक बैठक बस्ने निर्णय गरेको छ ।
उक्त बैठकको निर्णयमा भनिएको छ, ‘वर्तमान अवस्थामा बैंक ब्याजदर सम्बन्धमा देखिएका समस्याबारे उद्योगी व्यापारीहरुले सञ्चालन गरिरहेका आन्दोलनका विभिन्न गतिविधिहरुलाई अझ बृहत् बनाइने छ । जनहितकारी आन्दोलनलाई परिणाममा पुग्नको लागि कोहलपुर, नेपालगन्ज, राप्तीसोनारी उद्योग वाणिज्य संघलगायत उद्योग वाणिज्य गठन भएका जिल्लाका आठवटै पालिकाका स्थानीय व्यापारीलाई ऐक्यबद्ध बनाइनेछ ।’

यस्तै कोहलपुर उद्योग वाणिज्य संघ र नेपालगन्ज उद्योग वाणिज्य संघसँग समन्वयात्मक बैठक बस्ने निर्णय गरिएको समितिका अध्यक्ष श्रेष्ठले मिसन टुडेलाई जनाए । व्यवसायीहरुले बैंकको ब्याजदर एक अंकमा सीमित गरिनुपर्ने आधारदर ४÷५ प्रतिशतभन्दा बढी हुन नहुने, हाल चलन चल्तीमा रहेका पाँच सय र एक हजार दरका नोटहरु प्रतिबन्द लगाउनुपर्नेलगायतका १० बुँदे माग अगाडि सारेका छन् ।

प्रकाशित मितिः बिहिबार, बैशाख ७, २०८०     9:39:27 AM  |