कोहलपुर: राप्तीसोनारी गाउँपालिकाले जग्गा नापजाँच सुरु गरेको छ । गाउँपालिकामा रहेका भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुलाई लालपूर्जा वितरण गर्ने प्रयोजनका लागि पालिकामा जग्गा नापजाँच सुरु गरिएको हो ।
लालपूर्जा वितरणका लागि जग्गा नापजाँचको काम राप्तीसोनारी वडा नम्बर ३ बाट सुरु गरिएको छ । उक्त कार्यको राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेलले सुरुवात गरेका हुन् । उनले लामो समयदेखि अव्यवस्थितरुपमा बसोबास गर्दै आएका नागरिकहरुलाई लालपूर्जा वितरणको प्रक्रिया सुरु भएको बताए । उनका अनुसार सम्पूर्ण प्रक्रिया पूरा भएपछि राप्तीसोनारीका जनताले लालपूर्जा प्राप्त गर्नेछन् । उनले पहिलो चरणमा लिने काम भएको बताए । त्यसपछि स्क्रीनिङ गर्ने र निस्ता प्रमाण दिने काम भइसकेको अध्यक्ष पौडेलको भनाइ छ ।
भूमि सम्बन्धी कार्यका लागि गाउँपालिकामा भूमि प्रशासन शाखालाई स्थापना गरेर काम भइरहेको उनले बताए । शाखाले नै भूमिसम्बन्धी सम्पूर्ण काम गर्ने उनले बताएका छन् । गाउँपालिकाकी उपाध्यक्ष मनिषा सिंह थारुले अब कुनै पनि नागरिक भूमिहीन र लालपूर्जाविहीन हुनुपर्ने अवस्था नआउने बताएकी छन् ।
राप्तीसोनारी गाउँपालिका भूमि प्रशासन शाखा प्रमुख शेरबहादुर रोकाका अनुसार राप्तीसोनारीमा कूल १३ हजार २४ जना भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासी छन् । तीमध्ये भूमिहीन दलित पाँच सय ६२, भूमिहीन सुकुम्बासी एक हजार दुई सय ८९ र अव्यवस्थित बसोबासी ११ हजार एक सय ७३ जना छन् ।
उनले वडा नम्बर १ मा एक हजार तीन सय ३२ जना, वडा नम्बर २ मा दुई हजार एक सय ७५ जना र वडा नम्बर ३ मा आठ सय ६८ जना रहेको बताए ।
यस्तै वडा नम्बर ४ मा एक हजार पाँच सय ९०, वडा नम्बर ५ मा एक हजार पाँच सय ५६ जना र वडा नम्बर ६ मा एक हजार पाँच सय ८१ जना भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासी रहेको रोकाको भनाइ छ । यस्तै वडा नम्बर ७ मा दुई हजार ७५ जना, वडा नम्बर ८ मा नौ सय तीन र वडा नम्बर ९ मा नौ सय ४३ जना रहेको राप्तीसोनारी गाउँपालिकाअन्तर्गत भूमि प्रशासन शाखाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्