कोहलपुर,कोहलपुरमा समृद्धिको बाटोसम्बन्धी विकास संवाद सम्पन्न भएको छ । महिला अधिकार, वर्तमान अवस्था र भविष्यको विकासमा समृद्धिको बाटोसम्बन्धी विकास संवाद भएको हो ।
समृद्धिको बाटो नामक संस्थाको आयोजनामा विकास संवादका साथै नयाँ वर्षको अवसरमा शुभकामना आदानप्रदान तथा उद्यमी महिलाहरुलाई सम्मान कार्यक्रम सम्पन्न भएको छ । बाँके क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य सूर्यप्रसाद ढकालको प्रमुख आतिथ्यतामा विकास संवाद तथा महिला उद्यमीहरुलाई सम्मान कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रममा संस्थाका अध्यक्ष माया गौतमको अध्यक्षता थियो ।
कार्यक्रमको अवसरमा कोहलपुर क्षेत्रमा विभिन्न व्यवसाय गरिरहेका १० जना उद्यमी महिलालाई सम्मान गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि ढकाल र लुम्बिनी प्रदेशसभा सदस्य वसन्ती अधिकारीलगायतले सम्मानित हुने महिलालाई सम्मानपत्र हस्तान्तरण गरे ।
उक्त अवसरमा बोल्दै प्रतिनिधिसभा सदस्य ढकालले समृद्धि अहिलेको प्रमुख आवश्यकता रहेको बताए । त्यसमा पनि महिलाहरुको समृद्धिको बाटो अपरिहार्य रहेको उनको भनाइ छ । ढकालले कैयौं विकसित देशहरुमा समृद्धिको बाटोको विषयमा सयौं वर्षअघि बहस सुरु भए पनि हाम्रो देशमा भर्खरै मात्र समृद्धिको बहस सुरु भएको बताए ।
‘महिला शसक्तिकरण अहिलेको आवश्यकता हो । महिलाहरु आर्थिकरुपमा सम्पन्न हुन आवश्यक छ । उद्यम गर्नुपर्छ । अनि मात्र आर्थिकरुपमा समृद्ध हुन सकिन्छ,’ उनले भने । यस्तै लुम्बिनी प्रदेशसभा सदस्य अधिकारीले राजनीतिक, सामाजिक र आर्थिकरुपमा महिला समृद्ध हुनुपर्ने बताइन् । महिलाहरु उद्यमशील बन्नु पर्नेमा उनले जोड दिइन् । त्यसका लागि परिवार, समाज र सरकारको सहयोग आवश्यक रहेकोमा उनले बताइन् । उक्त अवसरमा संस्थामा आबद्ध महिलाहरुको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्