21 February 2024  |   बुधबार, फाल्गुन ९, २०८०

टोल विकास संस्थाका पदाधिकारीलाई क्षमता विकास तालिम

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, चैत्र ३०, २०७९  

कोहलपुर:  टोल विकास संस्थाका पदाधिकारीहरुलाई क्षमता विकास सम्बन्धी तालिम प्रदान गरिएको छ । कोहलपुर नगरपालिका सामाजिक विकास शाखाको आयोजनामा कोहलपुर नगरपालिकामा रहेका टोल विकास संस्थाहरुका पदाधिकारीहरुलाई क्षमता विकास सम्बन्धी तालिम प्रदान गरिएको हो । कोहलपुर नगरपालिकाका १५ वटै वडामा रहेका टोल विकास समितिका पदाधिकारीहरुलाई दिइने तालिम अन्तर्गत बिहीबार वडा नम्बर १२ का टोल विकास संस्थाका पदाधिकारीहरुलाई तालिम प्रदान गरिएको हो ।

कोहलपुर नगरपालिका वडा नम्बर १२ मा ११ वटा टोल विकास समिति सामाजिक विकास समितिमा दर्ता भएका छन् । दर्ता भएका समितिका अध्यक्ष, कोषाध्यक्ष र सचिवलाई तालिम प्रदान गरिएको सामाजिक विकास शाखाले जनाएको छ । यसअघि ६ वटा स्थानमा तालिम सम्पन्न भइसकेको शाखाले जनाएको छ । कोहलपुरमा हालसम्म ५४ वटा टोल विकास समिति दर्ता भएका छन् ।

अन्य समिति दर्ताको प्रक्रियामा रहेको शाखाले जनाएको छ । वडा नम्बर १२ मा आयोजित तालिममा बोल्दै कोहलपुर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर हमालले संघीयता कार्यान्वयन अन्तर्गत कोहलपुर नगरपालिकाले टोल विकास संस्थाको अवधारणा अनुसार विकास गर्न चाहेको बताएका छन् । उनका अनुसार टोल विकास समितिमार्फत वडाको विकासका लागि नगरपालिकाले कार्यविधि नै बनाएर टोल विकास संस्थालाई बलियो बनाउन खोजिएको हो ।

उनले टोल विकास संस्थाले वडा विकासमा भूमिका खेल्नुपर्ने बताए । उक्त अवसरमा बोल्दै कोहलपुर नगरपालिकाका कार्यपालिका सदस्य तथा सामाजिक विकास समितिका संयोजक इश्वरीप्रसाद विश्वकर्माले समृद्ध कोहलपुर निर्माणका लागि टोल विकास संस्थाहरुलाई सक्रिय बनाइएको बताए । उनले कोहलपुर नगरपालिकामा रहेका प्रत्येक वडामा रहेका टोलमा समिति गठन गरिने बताए ।

‘टोल विकास संस्थाहरुको भूमिका महत्वपूर्ण रहेको छ । तपाईहरु वडा विकासमा सक्रिय हुनुहोस । सफा र समृद्ध वडा विकासमा सहयोग गर्नुहोस्’ उनले भने । वडा नम्बर १३ का अध्यक्ष डम्बरबहादुर खड्काले टोल विकास संस्था र वडा कार्यालयको समन्वयमा विकास अघि बढाउनुपर्नेमा बताएका थिए । उक्त कार्यक्रमको सहजीकरण दलित सेवा संघ बाँकेका अध्यक्ष बुद्ध सुनारले गरेका थिए । तालिममा वडा नम्बर १२ का टोल विकास संस्थाका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मितिः बिहिबार, चैत्र ३०, २०७९     10:13:21 PM  |