नेपालगन्ज, एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको नयाँ कार्यसमिति अन्ततः क्षितिज थेवेको अध्यक्षतामा सर्वसम्मत चयन भएको छ । दुई दिनसम्म चलेको रस्साकस्सी नटुंगिएपछि मतदानबाट नेतृत्व टुंगो लगाउने भनिएको थियो । तर, नेताहरूले मतदानमा जान नदिने रणनीती बनाएर सर्वसम्मतिकै लागि जोडबल गरेपछि महाधिवेशनको अवधि एकदिन लम्बिएको थियो ।
२९ गते सकिने भनिएको महाधिवेशनमा अन्ततः विहिबार सर्वसम्मतिको सुची वाचन गरियो । सर्वसम्मत चयन थेवे नेतृत्वको कार्यसमितिमा उपाध्यक्षमा अमित लामा, पुष्प श्रेष्ठ, कृष्णहरी केसी, महाराज गुरुङ, सीता सुवेदी, रमेश तिवारी र प्रकाश गौतम, महासचिवमा सुमन पुरी चयन भएका छन् । यसैगरी उप महासचिवमा महेन्द्र गुरुङ, राजन थापा चयन भएका छन् ।
सचिवहरुमा विनय शाह, खेम शर्मा, जय गुरुङ, मोबिन आलम, अनिता कन्दङ्वा, देवानन्द मेहता, विष्णा चन्द, पर्वत भण्डारी, कुबेर अधिकारी चयन भएका छन् । कोषाध्यक्षमा राकेश राई, लेखा आयोग प्रमुखमा सन्तोष चौलागाई, उपप्रमुखमा नानीराम तिवारी र सचिवमा कविन बोगटी, अनुशासन आयोग प्रमुखमा राकेश लामा, उपप्रमुखमा दिपेश खड्का र सचिवमा राजन नेपाली चयन भएका छन् । यसैगरी निर्वाचन आयोग प्रमुखमा बलराम बेलबासे, उपप्रमुखमा बाबु छतकुली र सचिवमा गोकर्ण नेपालीसहित दुई सय ८३ सदस्यीय केन्द्रिय समिति चयन भएको पत्रकार सम्मेलन गरी नवनिर्वाचित अध्यक्ष थेवेले जानकारी दिए ।
पत्रकार सम्मेलनमा बोल्दै युवा संघका इन्चार्ज महेश बस्नेतले एकताको सन्देश दिनेगरी संघको सर्वसम्मत नेतृत्व चयन भएको बताए । उनले आफूहरु रातदिन नभनेर सहमति जुटाउने काममा खटिएको परिणमस्वरुप सर्वसम्मति जुटेको पनि उल्लेख गरे । बस्नेतसहित पूर्व अध्यक्ष राजिव पहारी, मोर्चा विभाग प्रमुख भानुभक्त ढकाल, पूर्व उपाध्यक्ष सूर्य ढकाललगायतले सर्वसम्मति जुटाउनका लागि भूमिका खेलेको उनले बताए । अब थप उर्जाका साथ युवा संघ अघि बढ्ने नयाँ कार्यदिशा महाधिवेशनबाट पारित भएको उनले बताए ।
पत्रकार सम्मेलनमा बोल्दै थेवेले अब युवा संघलाई नयाँ दिशातिर अघि बढाउनेगरी कार्ययोजना महाधिवेशनबाट पारित भएको बताए । उनले भने, ‘युवा संघलाई नमुना बनाउने गरी हामीले कार्ययोजना बनाएका छौँ । सबै युवाहरुको नेतृत्वदायि संगठन बनाउनेतिर मेरो पर्यत्न रहनेछ ।’ उनले विगतमा गर्दै आएका सृजनात्मक कार्यक्रमहरुको निरन्तरतासँगै अब युवाहरुलाई उत्पादनमूखि बनाउनेतिर संघले कार्यदिशा तय गरेको बताए । ‘युवाहरुलाई उत्पादनमुखि बनाएर राष्ट्रिय पुँजीको निर्माण गर्नेतिर हाम्रा कार्यक्रमहरु निर्देशित हुनेछन् । विदेश जानुपर्ने बाध्यता अन्त्य नै त गर्न नसकिएला । देशमै बसेर पनि राम्रो कमाई हुने वातावरण निर्माण गर्ने हाम्रो ध्येय हुनेछ,’ थेवेले भने ।
प्रतिक्रिया दिनुहोस्