कोहलपुर ।
बैजनाथ गाउँपालिका र कोहलपुर नगरपालिकाले आफ्नो क्षेत्रभित्रको सार्वजनिक जग्गा अनधिकृतरुपमा अतिक्रमणको प्रयास भइरहेकोप्रति ध्यानाकर्षण भएका जनाएका छन् । बुधबार दुवै पालिकाले सूचना जारी गर्दै सार्वजनिक जग्गा अनधिकृतरुपमा अतिक्रमणको प्रयास भइरहेको भन्दै ध्यानाकर्षण भएको जनाएका हुन् ।
बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाहीद्वारा हस्ताक्षर विज्ञप्तिमा लेखिएको छ, ‘गाउँपालिका क्षेत्रभित्रको सार्वजनिक जग्गा कुनै पनि व्यक्ति, समूह, संगठनले अनधिकृतरुपमा अतिक्रमण नगर्न र नगराउन आग्रह गरिन्छ ।’
साथै सार्वजनिक सम्पत्ति संरक्षण गर्नु सबै नागरिकको प्रमुख दायित्व भएको उनले जनाए । कसैले बल जबरजस्तीरुपमा सार्वजनिक जमिन अतिक्रमित गरेको खण्डमा नेपालको कानुनअनुरूप कारबाही गरिनेसमेत अध्यक्ष शाहीले उल्लेख गरेका छन् । पछिल्लो समय बैजनाथ गाउँपालिकाभित्र पहाडी तथा हिमाली जिल्लाबाट सार्वजनिक जमिन उपलब्ध गराउने समूह सक्रिय रहेको पाइएको छ ।
यस्तै, कोहलपुर नगरपालिका क्षेत्रभित्रको सार्वजनिक जग्गा अनधिकृतरुपमा अतिक्रमणको प्रयास भइरहेकोप्रति कोहलपुर नगरपालिकाले पनि गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । कोहलपुर नगरपालिकाका कार्यबाहक नगर प्रमुख संगीता सुवेदीद्वारा जारी सूचनामा सार्वजनिक जग्गा अतिक्रमण गरेको पाइए कारबाही गरिने चेतावनीसमेत दिइएको छ ।
‘नगरपालिका क्षेत्रभित्रको सार्वजनिक जग्गा कुनै पनि व्यक्ति÷समूह÷संगठनले अनधिकृतरुपमा अतिक्रमण नगर्न र नगराउन आग्रह गरिन्छ,’ नगरपालिकाको विज्ञप्तिमा भनिएको छ । यो सूचना नगर कार्यपालिका स्तरको भएकाले अटेर गरेर अतिक्रमण गरे प्रचलित कानुनअनुसार तत्काल कारबाही प्रक्रिया अगाडि बढाइने पनि सूचनामा चेतावनी दिइएको छ ।
यदी सरकारी सार्वजनिक जग्गा अनधिकृतरुपमा अतिक्रमण गर्न गराउन लागेको देखेमा कोहलपुर नगर प्रहरी, ईलाका प्रहरी कार्यालय र नजिकैको प्रहरी कार्यालयमा जानकारी गराउन पनि आग्रह गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्