नेपालगन्ज, नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघको नयाँ नेतृत्व चयनमा सर्वसम्मतको प्रयास हुँदा निर्वाचन प्रक्रियामा ढिलाइ भएको छ । सोमबार साँझबाट सुरु भएको महाधिवेशनको बन्दसत्रले अध्यक्ष किरण पौडेलले प्रस्तुत गरेको प्रतिवेदन, महासचिव क्षितिज थेबेले प्रस्तुत गरेको संगठनात्मक प्रतिवेदन र आर्थिक प्रतिवेदन पारित गरेको छ । तर, त्यसपछि सुरु भएको नेतृत्व चयनको प्रक्रियामा सर्वसम्मतको प्रयास हुँदा मंगलबार साँझसम्म पनि निर्वाचन प्रक्रिया सुरु भएन ।
साँझ करिब ६ बजेसम्म पनि निर्वाचन समिति कहाँ महाधिवेशन प्रतिनिधिहरुको आधिकारिक सूची आइपुगेको थिएन । अर्काेतिर आकांक्षीहरु पनि खुलेर प्रस्तुत हुन सकिरहेका थिएनन् । नेकपा एमालेका केन्द्रीय सदस्य सूर्यप्रसाद ढकालका अनुसार मंगलबार साँझ ४ बजेसम्म सर्वसम्मतिका लागि समय दिइएको थियो ।

तर, त्यस अवधिमा पनि सहमति हुन सकेन । मंगलबार अपरान्हसम्म पनि सर्वसम्मति नजुटेपछि राति १२ बजेसम्मका लागि सर्वसम्मतिको समय बढाइएको थियो ।
मंगलबार बेलुकीसम्म अध्यक्षमा तीनजना, उपाध्यक्षमा १० जना, उपमहासचिवमा करिब आठजना, महासचिवमा दुईजना दाबेदार देखिएका युवा संघका नेताहरुले जानकारी दिए । अध्यक्षमा हालका महासचिव क्षितिज थेबेसहित उपाध्यक्षहरु सन्तोष रावल, अमिल लामाले पनि दाबेदारी छोडेका थिएनन् । महासचिवमा हालका उपाध्यक्ष सुमन पुरीमात्रै दाबेदार रहेकोमा अध्यक्षको दाबेदारी गर्दै आएकी अञ्जना अधिकारीले पनि दाबी गरेकी थिइन् । त्यसपछि उक्त पदमा पनि सहमति जुट्न सकेन ।
उपाध्यक्ष र सचिवमा पनि धेरैजनाको दाबेदारी देखिएपछि नेताहरुले गरेको सर्वसम्मतिको प्रयास सफल हुन सकेन । नेतृत्व चयनबारे समन्यव गर्न नेकपा(एमाले) स्थायी कमिटी सदस्य एवम् मोर्चा संगठन इञ्चार्ज भानुभक्त ढकाल, पोलिटब्यूरो सदस्य एवम् युवा संघ इञ्चार्ज महेश बस्नेत, केन्द्रीय सदस्य एवम् बाँके इञ्चार्ज सूर्यप्रसाद ढकाललगायतका नेताहरु खटिएका छन् ।
युवा संघको कार्यसमितिमा एकजना अध्यक्ष, तीनजना उपाध्यक्ष, महासचिव एकजना, उपमहासचिव दुई, सचिव नौजना र कोषाध्यक्ष एकजना गरी १७ जना पदाधिकारी रहने व्यवस्था छ । पदाधिकारीसहित दुई सय ९९ जनाभन्दा नबढ्ने गरी केन्द्रीय कमिटी चयन गरिने उपाध्यक्ष पुरीले जानकारी दिए । उपाध्यक्ष पूरीले सर्वसम्मतिबाट नेतृत्व चयन गर्नु उन्नत लोकतन्त्रको अभ्यास भएकोले आफूहरुको जोड त्यसमा रहेको बताए । सहमति नजुटेमा निर्वाचनमा जाने बाटो पनि खुला राखिएको उनले बताए ।
पुरीले नेतृत्व चयनसँगै संघको कार्ययोजनाको तयारी पनि सँगसँगै भइरहेको बताए । मस्यौदा समितिले कार्ययोजनाको दस्ताबेज तयार गरेर प्रस्तुत गर्ने र छलफलपछि पारित गरिने उनले बताए ।









प्रतिक्रिया दिनुहोस्