21 February 2024  |   बिहिबार, फाल्गुन १०, २०८०

राष्ट्रिय युवा संघको महाधिवेशन : युवाहरुको मुख्य सवाल रोजगारी

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, चैत्र २७, २०७९  

नेपालगन्ज : डोल्पाका सुमन बुढा नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालको नवौं महाधिवेशन आयोजक कमिटी सचिव हुन् । उनीसहित डोल्पाबाट महाधिवेशनमा सहभागी हुन सुजन बुढा, विमान रोकायालगायत नेपालगन्ज आइपुगेका छन् । उनीहरु महाधिवेशनमा सहभागी हुँदै गर्दा उत्साहित छन् । अर्काेतिर उनीहरुलाई अहिलेको राजनीतिले युवाहरुको असली मुद्दाहरुमा काम गर्न नसकेको महसुुस पनि भइरन्छ । ‘युवाहरुका लागि अहिलेको मुख्य मुद्दा रोजगारी हो,’ सुमनले भने, ‘देशमा बसेर बाँच्न सक्ने र भविष्य सुरक्षित छ भन्ने महसुस गराउन सक्नु राजनीतिको मुख्य कार्यभार हुनुपर्ने हो । तर, त्यसो हुन सकिरहेको छैन । अब युवा संघले यसको नेतृत्व गर्नुपर्छ ।’


सहरमा बस्ने युवाले भोगिरहेको समस्या र डोल्पाजस्तो भौगोलिकरुपले विकट क्षेत्रका युवाहरुले भोगिरहेका समस्यामा पनि राज्य गम्भीर भइदिनुपर्ने उनीहरु बताउँछन् । सुजनले भने, ‘एक त त्यसै अवसर छैन । भएको अवसर पनि हामीजस्तो विकटमा बस्ने युवाहरुसम्म कम आइपुग्छ । अवसरको न्यायोचित वितरण पनि हुनु जरुरी छ ।’ उनले कर्णालीवासीहरुलाई राजनीतिक नेतृत्वले गर्ने व्यवहारसम्मले आफूहरुको मन कुडिने गरेको बताए । ‘हामी अहिले पनि तीन÷चार दिन लगाएर काठमाडौं मन्त्रीहरुलाई भेट्न पुग्छौँ । तीन घण्टा कुराएर हाम्रा कुरा सुन्न उहाँहरुले तीन मिनेट समय दिनुहुन्छ,’ विमानले भने । उनीहरुले अहिलेको युवाले रोजगारीसँगै शिक्षा, स्वास्थ्य र खेलकुदका अवसरहरु खोजिरहेकोमा जोड दिए ।

ललितपुरबाट महाधिवेशनमा सहभागी हुन आइपुगेका विक्रम थापालाई पनि अहिले युवाहरुका लागि हिलो सवाल रोजगारी नै हो भन्ने लाग्छ । ‘परिवर्तन, परिवर्तन मात्रै भएन । अब के परिवर्तन भन्ने ? को पनि उत्तर राजनीतिले दिनुपर्छ,’ उनले प्रश्न गरे, ‘पढेलेखेका युवाहरुले पनि देशमा आफ्नो भविष्य नदेख्नुलाई कसरी परिवर्तन भन्ने ?’ थापाले अब राजनीतिमा लाग्ने युवाहरुको हातमा पनि इलम हुनुपर्ने मत राखे । इलम नभएका व्यक्तिले राजनीति गर्दा भ्रष्टाचार बढेको उनको तर्क छ । पर्वतका परशुराम सुवेदी पनि रोजगारीलाई नै राजनीतिले प्रमुख मुद्दा बनाउनुपर्ने धारणा राखे । आफू पनि दुबईमा बसेर आएको बताउने परशुरामले भने, ‘विदेशिएका नागरिकहरुलाई राजनीतिले स्वदेश फर्किनसक्ने वातावरण दिनुपर्छ । पलायन हुन लागेकाहरुलाई स्वदेशमै बस्न आशा जगाउन सक्नुपर्छ ।’

युवा संघको बाँके जिल्ला कमिटीकी कोषाध्यक्ष मुना कठायत पनि अहिलेको युवाको मुख्य सवाल रोजगारी नै रहेको बताउँछिन् । ‘राज्यले रोजगारी दिन नसकेपनि स्वरोजगार बन्ने वातावरण निर्माण गरिदिनुपर्छ,’ उनले भनिन्, ‘उत्पादन भएको सामान पनि बजारको अभावमा त्यसै खेर जान्छ । भारतीय उत्पादनका कारण नेपाली युवाले उत्पादन गरेका उत्पादनहरुको बजार खुम्चिएको छ । यसको समाधानका लागि अबको राजनीतिले काम गर्नुपर्छ ।’ उनले आत्मनिर्भर अर्थतन्त्रका लागि युवा संघले दबाब दिने नीति लिनुपर्ने बताइन् । बाँकेकै नारायण केसी अहिलेको युवाले योग्यताअनुसारको रोजगारी, पक्षपातविहीन संरचनाको अपेक्षा गरेको बताए । राजनीतिक संगठनले त्यसका लागि साधनको रुपमा काम गर्नुपर्नेमा अहिले उल्टो भइरहेको उनले बताए ।

महाधिवेशनमा सहभागी हुन आएका अधिकांश प्रतिनिधिहरुले अहिलेको युवाहरुको मुख्य सवाल रोजगारी नै भएकोमा जोड दिए । साथै, शिक्षा, स्वास्थ्य र खेलकुद तथा वृद्धि विकासको न्यायोचित अवसरका लागि पनि युवा संघजस्ता राजनीतिक संगठनले काम गर्नुपर्ने उनीहरुको मत छ ।

प्रकाशित मितिः सोमवार, चैत्र २७, २०७९     8:51:43 AM  |