राष्ट्रिय युवा संघको महाधिवेशन आज : बाघलाई बिम्ब बनाएर महाधिवेशन गर्दै युवा संघ



नेपालगन्ज,  नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष किरण पौडेलले आइतबार महाधिवेशनको तयारीबारे जानकारी दिने क्रममा भने, ‘महाधिवेशनको लोगोमा बाघको अनुहार राखेका छौं । यो लोगो राख्नुको कारण बाँके र बर्दिया बाघ संरक्षणका लागि परिचत जिल्ला हुन् भनेर चिनाउनु पनि हो । साथै, राष्ट्रिय युवा संघ सडकको बाघ हो भन्ने सन्देश पनि हो ।’
युवा संघले जनसरोकार, जनजीविका र सुशासनका सवालमा जहिल्यै अग्रपंक्तिमा रहेर खबरदारी गरेको र नीति निर्माणका लागि दबाब सिर्जना गरेकाले युवा संघ सडकको बाघ रहेको तर्क पौडेलको थियो । पौडेलको जस्तै तर्क युवा एमालेका युवा विभाग इञ्चार्ज महेश बस्नेतले पनि गरे । बस्नेतले युवा संघ राजनीतिक दलका युवा संगठनमध्ये बाघ संगठन हो भन्ने जानकारी दिन र बाघ संरक्षणको क्षेत्रको प्रवद्र्धन गर्न लोगोमा बाघ प्रयोग गरेको बताए ।

युवा संघका महासचिव क्षितिज थेबे पनि आफ्ना रचनात्मक र नीतिमा प्रभाव पार्ने गतिविधिका कारण संघ अरु युवा संगठनहरुमध्ये बाघ संगठनको रुपमा रहेको कुरामा जोड दिन्छन् ।
बाँके राष्ट्रिय निकुञ्ज बाघ संरक्षणकै लागि स्थापित निकुञ्ज भएको र अधिवेशन पनि बाँके जिल्लामै आयोजना गरिएकोले बाघलाई लोगो बनाउनु उपयुक्त ठानिएको नेताहरु बताउँछन् । उनीहरु युवा संघलाई चुस्त र चलायमान संगठनको रुपमा विकास गर्ने लक्ष्यलाई पनि बाघले सम्बोधन गर्ने दाबी गर्छन् । अर्काेतिर ऐतिहासिक कार्यक्रमले पर्यटन प्रवद्र्धनका लागि सघाउ पु¥याओस् भन्ने हेतू रहेको पनि उनीहरुको भनाइ छ । जे होस्, युवा संघले आफ्नो नवौं महाधिवेशन बाघलाई बिम्ब बनाएर गर्दैछ ।

आज चैत २७ सोमबार सुरु भइ चैत २९ गते सम्पन्न हुने युवा संघको नवौँ राष्ट्रिय महाधिवेशनको तयारीका सन्दर्भमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै युवा संघका अध्यक्ष पौडेलले अधिवेशन नेपालगन्जमा गर्नुको उद्देश्य विकेन्द्रकृत अवधारणाको आत्मसात गर्नु रहेको दाबी गरे । ‘यसअघिका हाम्रा कार्यक्रमहरुमा सुदूरपश्चिम र कर्णाली प्रदेशका साथीहरुलाई परेको असुविधा केही हदसम्म कम गर्न पनि नेपालगन्जमा महाधिवेशन गरेका हौं,’ उनी भन्छन् । अधिवेशनले नयाँ नेतृत्व चयनका साथै राजनीति तथा सांगठनिक प्रतिवेदनमाथि छलफल र विधान संशोधन पनि गर्ने जानकारी दिए ।

सम्मेलनमा बोल्दै युवा विभाग इञ्चार्ज बस्नेतले अधिवेशनले नेतृत्व परिवर्तन गर्ने मात्रै नभइ संघको आगामी नीति र कार्यदिशा तय गर्ने बताए । उनले अहिलेको युवाका मुख्य सवाल रोजगार, शिक्षा र स्वास्थ्यको लागि स्पष्ट र प्रभावकारी कार्ययोजना अधिवेशनले तय गर्ने जानकारी दिए । उनले अधिवेशनमा अहिलेसम्म भएका राजनीतिक कमजोरीको समीक्षा गर्दै अहिले युवा संघले अब लिनुपर्ने बाटोको खाका कोर्ने बताए । उनले भने, ‘महाधिवेशनले समसामयिक राजनीति र युवा आन्दोलनमा देखिएको भ्रष्टिकरण र अपराधीकरणलाई परास्त गर्दै अबको कार्यदिशाको गम्भीर समीक्षा हुनेछ । युवा आन्दोलनमा अराजकतावादी तत्वको प्रभाव पर्न दिइने छैन ।’

नेतृत्व चयनमा सर्वसम्मतको प्रयास हुने
युवा संघको नवौं महाधिवेशनबाट नयाँ नेतृत्व पनि चयन गरिँदै छ । तर, नयाँ नेतृत्व चयन सर्वसम्मत नै गर्ने प्रयास हुने नेताहरु बताउँछन् । यद्दपि कसरी नेतृत्व चयन गर्ने भन्ने निर्णय महाधिवेशनको हलले गर्र्ने उनीहरुको भनाइ छ । युवा संघका अध्यक्ष किरण पौडेलले प्रतिनिधिको चाहना र भावनाअनुसार नेतृत्व चयन प्रक्रिया अघि बढाइने बताए । ‘नेतृत्व चयनका लागि सर्वसहमत वा निर्वाचन गर्ने भन्ने प्रतिनिधिको जे माग हुन्छ त्यही भावनाअनुसार अघि बढिने छ,’ उनले भने, ‘पार्टी र युवा संघमा राजनीतिक वा वैचारिक कुनै गुटबन्दी छैन । पद प्राप्तिका लागि टकराब हुनसक्छ । यसलाई हामीले व्यवस्थापन गर्नेछौं ।’

महाधिवेशनले पार्टीको नीति, निर्णय र नेतृत्वलाई आत्मसाथ गर्ने उनको भनाइ छ । पौडेलले मतदान नै लोकतन्त्रको एकमात्र अभ्यास हो भन्ने तर्क सही नभएको बताए । उनले मतदान गर्दा एक मत बढी आएमा पनि मान्नुपर्ने अवस्था आउने बताउँदै सर्वसम्मत गर्दा शतप्रतिशतको मतको सम्बोधन हुने तर्क गरे । उनले पद र सुविधामा मात्रै केन्द्रित हुने चरित्रको प्रभाव संगठनभित्र परे पनि त्यसको उचित व्यवस्थापन गरिने बताए । पौडेलका अनुसार सदस्यहरुमा सर्वसम्मत हुने लगभग निश्चित भइसके पनि १७ जना पदाधिकारी कसरी चयन गर्ने भन्ने हलले निक्र्याैल गर्ने दाबी गरे ।

 

  • No tags available
प्रकाशित मिति : २०७९ चैत २७ गते सोमबार