स्वास्थ्य शिविरमा तीन सय ७५ जनाले लिए सेवा



नेपालगन्ज ।

लायन्स क्लब अफ नेपालगन्ज युनिटीले शनिबार नेपालगन्जमा आयोजना गरेको निःशुल्क स्वास्थ्य परीक्षण शिविरमा तीन सय ७५ जनाले सेवा लिएका छन् ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २० मा आयोजित निःशुल्क स्वास्थ्य परीक्षण शिविरमा चेकजाँचसहित औषधी पनि वितरण गरिएको लायन्स क्लब अफ नेपालगन्ज युनिटीकी अध्यक्ष विन्दु चर्तीमगरले जानकारी दिइन् ।

शिविरमा स्त्री रोग, बाल रोग, नाक, कान, घाटी रोग तथा जनरल चेकजाँच गरिएको उनले बताइन् । शिविरमा नाक, कान घाटी रोग विशेषज्ञ डा. अन्शु शर्मा, स्त्री रोग विशेषज्ञ डा. पुनम आचार्य, फिजिसियन डा. शंकर केसी र बालरोग विशेषज्ञ डा. समिर महासय लगायत ११ जना स्वास्थ्यकर्मी खटिएका थिए ।

शिविरमा आएकामध्ये तीन जनामा स्वास्थ्य समस्या देखिएकाले लायन्स क्लबको सहकार्यमा उनीहरुलाई अस्पतालमा रेफर गरिएको चर्तीमगरले जानकारी दिइन् । शिविरमा बाल बालिकाको सहभागिता धेरै रहेको र महिलामा पाठेघर सम्बन्धी समस्या धेरै देखा परेको चिकित्सकलाई उदृत गर्दै चर्तीमगरले बताइन् ।

  • No tags available
प्रकाशित मिति : २०७९ चैत २६ गते आइतबार