नेपालगन्ज ।
बाँकेमा आउने बर्खे बालीका लागि आवश्यक तीन हजार मेट्रिक टन युरिया मल र एक हजार चार सय मेट्रिक टन डिएपी मल आउन बाँकी रहेको छ । जिल्लामा धान बालीका लागि तीन हजार पाँच सय मेट्रिक टन युरिया मल आवश्यक पर्नेमा हालसम्म पाँच सय २८ मेट्रिक टन स्टक छ भने १५ मेट्रिक टन मल आउन लागेको कृषि सामग्री कम्पनी लिमिटेड नेपालगन्जका प्रमुख रमेश पौडेलले जानकारी दिए ।
यसैगरी धान बाली लगाउने सिजनका लागि एक हजार पाँच सय मेट्रिक टन डिएपी मल आवश्यक पर्नेमा हालसम्म कार्यालयको गोदाममा एक सय २५ मेट्रिक टनमात्रै स्टक रहेको पौडेलले बताए । यसैगरी पोटास १९ दशमलव ६५० मेट्रिक टन स्कट रहेको उनले जानकारी दिए । बाँकेमा वार्षिक ६ हजार मेट्रिक टन युरिया मल आवश्यक पर्ने आँकलन गरिए पनि चालु आर्थिक वर्षको फागुन मसान्तसम्म एक हजार ६ सय ४४ मेट्रिक टन मल मात्रै बेचिएको पौडेलले बताए ।
यसैगरी सात ६९ मेट्रिक डिएपी र ९८ दशमलव दुई सय मेट्रिक टन पोटास बिक्री भएको उनको भनाइ छ । युरियाको वार्षिक अनुमानित मागअनुसार अझै तीन हजार आठ सय मेट्रिक टन युरिया बाँकेमा उपलब्ध हुन बाँकी छ । थप मल कहिले आइपुग्छ भनेर यकिन भन्न नसकिने भए पनि धान लगाउने सिजनअघि अधिकांश मल आइपुग्ने दाबी पौडेलको छ ।
तर, ३० प्रतिशत माग पूर्ति नहुन सक्ने उनको भनाइ छ । ‘त्यति माग त हाम्रो सीमा नजिक भएकोले भारतीय बजारबाट पनि धानिन्छ जस्तो लाग्छ । आशा गरौँ धेरै अभाव हुँदैन ।’ हरेक वर्ष धानबाली लगाउने बेला मल नपाइएको गुनासो किसानहरुले गर्दै आएका छन् । उक्त समस्या समाधानका लागि समयमै टेण्डर आह्वान गरी मल खरिद गर्नुपर्ने माग उठ्दै आएको छ ।
तर, कृषि सामग्री कम्पनी लिमिटेडले टेण्डर प्रक्रिया लामो हुने र ढुवानी गर्ने पक्षले समयमा समयमा मल ढुवानी नगरिदिँदा समयमा मल नआइपुग्ने गरेको बताउँदै आएको छ । कम्पनीको नेपालन्जस्थित कार्यालयका प्रमुख पौडेल अहिले पनि कम्पनीको बुटवलस्थित गोदाममा मल थन्किएर रहे पनि ढुवानी समयमा नभइरहेको जानकारी पाएको बताउँछन् ।
उनले यस वर्ष मलको अभाव नहुन दिन प्रयास भइरहेको पनि बताए । धानको ब्याड राख्ने सिजन वैशाख १५ पछि सुरु हुने गरेको बताउँदै उनले अहिले स्टक रहेको मल वैशाख पहिलो साताबाट वितरण गर्न सुरु गर्ने जानकारी पनि दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्