नेपालगन्ज ।
नेपालगन्जका मुख्य बजार क्षेत्रमै सटर खाली हुन थालेका छन् । जताततै सटर भाडामा लेखिएका पोष्टरहरु टाँसिएको देख्न सकिन्छ ।
यसैबीच, नेपाल उद्योग तथा व्यवसायी महासंघ बाँकेले भाडामा पसल तथा व्यवसाय सञ्चालन गरिरहेका व्यवसायीहरुलाई घरभाडामा छुट दिन घरधनीहरुसँग आग्रह गरेको छ । महासंघ बाँकेले बुधबार पत्रकार सम्मेलन गरेर व्यापारीको पलायन रोक्न र व्यवसायीलाई टिकाइ राख्नका लागि घर भाडामा छुट दिन घरधनीहरुसँग आग्रह गरेको हो ।
पत्रकार सम्मेलनमा बोल्दै महासंघका बाँके अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले बैंकको उच्च ब्याजदरका कारण र सरकारले व्यवसायीमैत्री नीति अख्तियार गर्न नसकेका कारण व्यवसायीहरु पलायन हुने अवस्था आएको बताए । कोरोना महामारीयता नेपालगन्जका करिब दुई सय व्यवसायीहरु व्यवसायबाट पलायन भएको श्रेष्ठले दाबी गरे ।
व्यवसायीहरुको आम्दानी घटेको र अवस्था सहज नहुञ्जेलसम्म घरघाडा नबढाउन, खाली भएका सटर वा गोदामलाई सहुलीयत दरमा उपलब्ध गराई बजार पलायन हुनबाट रोक्न र हाल लिइरहेको भाडालाई अहिलेको आर्थिक मन्दी र घट्दो व्यापार सही स्थानमा नआउँदासम्म जति सकिन्छ, भाडादरमा छुट उपलब्ध गराउन श्रेष्ठले अनुरोध गरे ।
श्रेष्ठले आफ्नो घरमा रहेका सटरमा व्यवसाय गरिरहेका पाँचजना व्यवसायीको एक वर्षसम्म दश प्रतिशत भाडा छुट दिने घोषणासमेत उक्त अवसरमा गरे । उनले व्यवसायी टिकेमा घरधनीको पनि आम्दानीको दिगो सुनिश्चितता हुने भन्दै अहिलेको विषम परिस्थितिमा व्यवसायीलाई सहयोग गर्न आग्रह गरे ।
महासंघका सचिव भीमबहादुर रानाभाटले नेपालगन्जको व्यवसायलाई टिकाइ राख्न स्थानीय सरकारले लिने गरेको व्यावसायिक कर र भाडामा छुट दिने घरधनीको घरबहाल कर मिनाहा गरिदिन अनुरोध गरे । उनले व्यवसायीले नियमित तिर्दै आएको नगरपालिका, वाणिज्य कार्यालय, घरेलु उद्योग कार्यालय, औषधि व्यवस्था कार्यालय, अन्तशुल्क कार्यालय, उद्योग वाणिज्य संघलगायत कार्यालयहरुले नवीकरण तथा जरिवाना मिनाहा गरिदिन पनि माग गरे ।
नेकपा एमाले सम्बद्ध व्यवसायीको संगठन महासंघका अध्यक्ष श्रेष्ठले व्यवसायीहरुको छाता संगठन नेपालगन्ज उद्योग वाणिज्य संघले व्यवसायीका समस्या समाधानका लागि आफूहरुले दिएका सुझावहरु बेवास्ता गरेको आरोप पनि लगाए ।
पत्रकार सम्मेलनमा नेपालगन्ज उद्योग वाणिज्य संघका एसोसियट सदस्य सञ्जय अग्रवाल, नेपाल उद्योग तथा व्यवसायी महासंघका केन्द्रीय सदस्य मीना ढकाल, व्यवसायी अगुवाहरु मधुसुदन शर्मा, भीम कँडेल, सरला विष्टलगायतको उपस्थिति थियो ।
प्रतिक्रिया दिनुहोस्