कोहलपुरमा मालपोत सञ्चालनको प्रक्रिया सुरु



कोहलपुर, कोहलपुरमा मालपोत कार्यालय सञ्चालनका लागि प्रक्रिया सुरु भएको छ । शाखा उद्घाटन भएको लामो समयपछि कोहलपुरमा मालपोत कार्यालय सञ्चालनका लागि प्रक्रिया सुरु भएको हो ।गत महिनामा कोहलपुरमा नापी र मालपोत कार्यालयका शाखा उद्घाटन गरिएको थियो । तत्कालीन भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले कार्यालय उद्घाटन गरेकी थिइन् । मालपोत कार्यालय सञ्चालनका लागि बजेट विनियोजन भएर कर्मचारीसमेत खटाइएको छ ।

भूमि सुधार तथा मालपोत कार्यालयले विक्रम गिरीलाई कोहलपुर शाखा कार्यालय प्रमुखका रुपमा जिम्मेवारी दिएको छ । कार्यालय प्रमुख गिरीले कार्यालय सञ्चालनका लागि प्रक्रिया सुरु गरिएको बताए । उनका अनुसार शाखाको कार्यालय राख्ने घर भाडाका लागि प्रक्रिया सुरु भइसकेको छ ।


घर भाडाका लागि सूचना जारी गरेर काम भइरहेको उनले बताए । कार्यालय प्रमुख गिरी मालपोत कार्यालयको घर भाडाका लागि पाँचजना घरधनीले प्रस्ताव पेस गरेका छन् । ‘कार्यालय सञ्चालनका लागि घर भाडामा लिने प्रक्रिया सुरु भएको छ,’ उनले भने, ‘कार्यालय सञ्चालनका लागि सम्पूर्ण प्राविधिक रिपोर्ट फाइनल हुनुपर्छ । त्यो फाइनल भएको छैन । केही समय लाग्छ होला ।’ कार्यालय सञ्चालनका लागि भाडा निर्धारण आवश्यक भएको उनले बताए । यहाँका सम्पूर्ण प्राविधिक रिपोर्ट आवश्यक भएको भन्दै उनले भने, ‘कार्यालय सञ्चालन हुन अझै महिनादिनभन्दा बढी समय लाग्न सक्छ ।’

मंगलबार जिल्ला प्रशासन कार्यालय बाँकेमा घरभाडा निर्धारण समितिको बैठक आह्वान गरिएको थियो । प्रमुख जिल्ला अधिकारी विपीन आचार्यका अनुसार समितिको बैठक नै बस्न सकेन । मालपोत कार्यालयका कार्यालय प्रमुखलाई अहिलेसम्म भएको प्रगतिको रिपोर्ट ल्याउन भनिएको थियो । तर, रिपोर्ट नल्याएका कारण बैठक नै नबसेको प्रजिअ आचार्यको भनाइ छ । कोहलपुरमा मालपोत र नापी कार्यालय स्थापनाका लागि यहाँका संघीय सांसद सूर्यप्रसाद ढकाललगायतका जनप्रतिनिधि र विभिन्न राजनीतिक दलले ध्यानाकर्षण गराउँदै आएका थिए ।

कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्यले केही नीतिगत कुराले गर्दा कार्यालयको सेवा सञ्चालनमा ढिलाइ भएको बताए । ‘जिल्लाबाट जिम्मेवारी लिएर आउनु भएका कर्मचारीहरुले कोठा र भाडादरका विषयमा काम गरिरहनु भएको छ । नगरपालिकाले पनि उहाँहरुलाई छिटो काम गर्न भनिरहेको छ,’ उनले भने, ‘काम गर्ने उहाँहरुको जिम्मेवार हो । काम हुँदैछ । प्रक्रिया पुग्यो भने सञ्चालन भइहाल्छ । कुनै पनि अवरोध छैन । नीतिगत प्रक्रिया पुग्न बित्तिकै काम हुन्छ ।’

ढकाल र प्रजिअबीच भेटवार्ता
कोहलपुरमा नापी र मालपोत शाखा कार्यालय सञ्चालनका विषय प्रतिनिधिसभा सदस्य सूर्यप्रसाद ढकाल र प्रमुख जिल्ला अधिकारी विपीन आचार्यबीच भेटघाट भएको छ । मंगलबार जिल्ला प्रशासन कार्यालय बाँकेमा भएको भेटघाट कार्यक्रममा कोहलपुरमा तत्काल मालपोत र त्यसपछि नापी कार्यालय सञ्चालनका विषयमा छलफल भएको हो ।
प्रतिनिधिसभा सदस्य ढकालले कोहलपुरमा मालपोत र नापी कार्यालय स्थापना गराउने विषयमा प्रमुख जिल्ला अधिकारी (प्रजिअ) लाई कार्यालय मै भेटेर कुराकानी गरेको बताए । तत्काल कोहलपुरमा कार्यालय सञ्चालन गरेर सेवा सुरु गर्न प्रजिअ आचार्यलाई प्रशासनको तर्फबाट हुने पहल गर्न आग्रह गरेको उनको भनाइ छ । प्रजिअ आचार्यले तत्काल कर्मचारी पठाउन आफूले मालपोत कार्यालयलाई निर्देशन दिएको र छिट्टै कर्मचारी पठाएर प्रक्रिया सुरु गर्ने प्रतिबद्धता जनाएको बताइएको छ ।
अहिले भूमिसुधार तथा मालपोत कार्यालय एकजना अधिकृत स्तरको कार्यालय प्रमुख कोहलपुरमा खटाइसकेको छ । कार्यालय सञ्चालन व्यवस्थापन नहुँदा काम सुरु हुन सकेको छैन । ढकालका अनुसार केही दिनमै थप चार÷पाँचजना कर्मचारी कोहलपुरमा खटिनेछन् । एकसातामै सेवा सञ्चालन हुने उनको दाबी छ । यस्तै प्रक्रियागतरुपमा नापी कार्यालयको सेवासमेत सञ्चालन हुने उनको भनाइ छ । कोहलपुरमा मालपोतको कार्यालय सञ्चालनका लागि ३१ जना कर्मचारी आवश्यक छ ।

 

  • No tags available
प्रकाशित मिति : २०७९ चैत २२ गते बुधबार