कोहलपुर,मातृ मृत्युदर तथा नवजात शिशु मृत्युदर घटाउनका लागि बाँके डुडुवा गाउँपालिकाले विशेष रणनीति बनाउनु सुरु गरेको छ । विगत दुई वर्षदेखि मातृ मृत्युदरको अवस्था शुन्यमा झरेको तर चालु आर्थिक वर्षमा एक जना गर्भवती महिलाको मृत्यु भएकाले प्रभावकारी रुपमा व्यवस्थापन गर्न कार्ययोजना निमार्ण गरिएको हो ।
गाउँपालिका स्वास्थ्य शाखाद्धारा आयोजित सुरक्षित मातृत्व सम्बन्धी अभिमुखीकरण तथा योजना तर्जुमा गोष्ठीका सहभागी नर्सिङ कर्मचारीहरुले आगामी दिनमा मृत्युदर शुन्यमा झार्न कार्ययोजना निमार्ण गरेको पालिकाको स्वास्थ्य शाखा प्रमुख धबहादुर बुढाले बताए । उनका अनुसार डुडुवामा एक जना गर्भवतीको मृत्यु हुनुको कारण भनेको इक्लामसीया रोगका कारण भएको हो, यस्ता रोग तथा समस्याबारे पहिलै नै सचेत भई स्वास्थ्यकर्मीसँगको सम्पर्कमा रहनुपर्ने उनले बताए ।
डुडुवाको कम्दी, बनकट्टी, बेतहानी र हिरिमिनिया गरी ४ स्थानमा प्रभावकारी प्रसूति केन्द्रहरु सञ्चालनमा रहेको गाउँपालिका स्वास्थ्य शाखा बुढाको भनाइ छ । उनका अनुसार एक वर्षमा करिब एक हजार बढी महिलाहरु संस्थागत सुत्केरी गराउने गरेका छन् । भने केन्द्रमार्फत २४ सै घण्टा सेवा उपलब्ध गराइएको छ । अभिमुखीकरणमा स्वास्थ्य चौकी इन्चार्ज, स्वास्थ्यकर्मी र नर्सिङ कर्मचारीहरु सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्