‘वडाको विकासका लागि सेवकको रुपमा खटिएको छु’



१.वडा अध्यक्षका रुपमा यहाँको दैनिकी कसरी बितिरहेको छ ?

म लामो समयदेखि सामाजिक कार्यक्रममा सक्रिय छु । राजनीतिसँगै सामाजिक कार्य तथा व्यवसाय गर्दै आएको छु । म अरुको सेवा गर्न पाए भने खुसी हुन्छु ।  वडा अध्यक्ष निर्वाचित भएपछि मेरो सेवाको दायरा झन फराकिलो भएको छ । सम्पूर्ण वडाको अभिभावकको रुपमा मैले हरेक बस्ती र घर घरका मानिसको समस्या बुझ्ने, सुन्ने र समस्या समाधानको जिम्मेवारी रहेको छ । सोही अनुसार वडाबासीहरुको समस्या समाधान तथा भै परी आउने सम्पूर्ण बाधाहरुको सुल्झाउनको लागि म रातदिन नभनी खटिएको छ ।

निर्वाचित हुनुपूर्व र वडाअध्यक्ष निर्वाचित भइसकेपछि धेरै कुरामा अन्तर हुँदो रहेछ । अहिले त म घरमा राम्रोसँग खानासमेत खान पाउँदिन । परिवारसँग राम्रोसँग भेटसमेत हुँदैन । हरेक पल वडाबासीको सेवामा लागिरहेको छु ।  म पूर्ण रुपमा समाज सेवामा समर्पित छु ।

२.वडा अध्यक्षको रुपमा दश महिनाको समयलाई कसरी विश्लेषण गर्नुहुन्छ ?

वितेको दश महिना मेरो लागि नौलो सिकाइको रुपमा रहयो । एउटा वडाको अध्यक्ष भइसकेपछि धेरै कुरा सिक्ने र सिकाउने अवसर मैले पाएको छु । म वडामा कहाँ समस्या छ भनेर खोज्ने जिम्मेवारीमा छु । त्यसैले मेरो लागि धेरै कुराहरु सिकाइको रुपमा रहेका छन् । म आएपछि सबैभन्दा ठूलो विपद्को रुपमा वर्षा भयो ।  बाढी आयो । धेरै नागरिक घरबारविहीन भए ।

म धेरैका घरमा पुगे । आफैपनि उद्धारमा खटिए ।  हाम्रो वडाको सिंगो टिम नै खटियो । त्यसको लागि हामी सम्पूर्ण वडाबासी एकजुट भएर अघि बढ्यौ । ठुलो क्षति हुन पाएन । त्यसैले एकता नै बल हो भन्ने कुरालाई मध्यनजर गरेर हामीले  हरेक योजना तथा कामका लागि सम्पूर्णका राय सुझावका आधारमा काम गर्ने गरेका छौँ ।

दशैंको बेला बाढी आयो । त्यतिबेला जनताले दुःख पाए । हामीले धेरै कुरामा राम्रोसँग व्यवस्थापन गरेका थियौ । केही विकासका काम पनि सुरु गरेका छौँ

झंक बहादुर थापा

वडा अध्यक्ष

डुडुवा–५

३. डुडुवा –५ मा प्रमुख समस्याहरु के– के छन् ?

डुडुवा गाउँपालिका वडा नम्बर ५ मा थुपै्र समस्या छन् ।  ती मध्ये यहाँको प्रमुख समस्या बाढी नै हो । यो वडा बाढी पीडित वडाका रुपमा घोषणासमेत भएको छ । बालापुर, खड्कनपुर, लडियाघाट लगायतका बाढीका लागि उच्च जोखिम क्षेत्रका रुपमा रहेका छन् ।  अन्य समस्यापनि रहेका छन् । २०७४ देखि स्थानीय तह लागू भयो । पहिला गाविस थियो ।यहाँ धेरै ग्रामीण क्षेत्र रहेका छन् । अहिलेपनि विकास हुन सकेको छैन ।

त्यतिबेला सामान्य ग्राबिल हुने मात्रै काम भयो । जनताले अपेक्षा गरे अनुसारको विकास हुन सकेन । यहाँ राम्रोसँग पूर्वाधारको विकास हुन सकेको छैन । विद्युत तथा सडक सञ्जालको समस्या रहेको छ । बेरोजगारी यहाँको प्रमुख समस्या हो । धेरै समस्या रहेका छन् । यस्ता समस्या समाधानका लागि वडा तथा गाउँपालिकाको तर्फबाट हामीले समस्या समाधानको लागि पहल गरिरहेका छौँ ।

विकासका लागि साना साना कुरालाई समाधान गर्न खोजिरहेका छौँ । पहिलेका जनप्रतिनिधिहरुले उल्लेखनीय काम गर्न सकेनन् ।  हामीले थोरै काम गर्ने तर परिणाममुखी काम गर्न खोजिरहेका छौँ ।   मन्दिरहरु धेरै बने । अरु कुराहरु बने । बाढीले कटान गर्ने भएकोले  दीर्घकालीन समाधान आवश्यक छ ।

४. वडामा रहेका समस्या समाधानका लागि वडाको तर्फबाट के–के पहल गर्नु भएको छ ?

म निर्वाचित भएर आएदेखि डुडुवा गाउँपालिका वडा नम्बर ५ मा रहेका समस्या समाधानका लागि सरोकारवाला निकायको ध्यानाकर्षण गराउँदै आएको छु । गाउँपालिका तथा जिल्लास्तरमा हुने हरेक कार्यक्रमका यहाँका समस्याहरुलाई बुलन्द रुपमा राखिरहेको छु । अस्ती भर्खरैपनि जसपाबाट जित्नु भएका प्रदेश सांसद भण्डारीलाल अहिरलाई कृषि क्षेत्र र भौतिक पूर्वाधार समस्या समाधानको लागि बजेट विनियोजन गरिदिन अनुरोध गरेको छु ।

त्यसको लागि मैले फाइल समेत बुझाएका छु । यस्तै इस्तियाक राईलाई समेत मैले वडा विकासका लागि पहल गरिरहेको छ । बाढीको समस्या समाधानको लागि ठूलो बजेट आवश्यक छ । हामी लागिरहेका छौँ । मैले समस्या समाधानको योजना समेत निर्माणको तयारी गरिरहेको छु ।  यहाँको समस्या बाटोपनि हो । जसरीपनि यहाँको विकासमा काँचुली फेर्नेछु ।

५.वडा नम्बर ५ को भौतिक पूर्वाधार निर्माणको अवस्था के छ नी ?

यहाँको भौतिक पूर्वाधारको अवस्था सन्तोजनक नै छ । अहिले वडा नम्बर २ देखि ६ सम्म सम्पूर्ण वडालाई सडक सञ्जालसँग जोड्ने सडक निर्माण हुँदैछ । यो सडक निर्माण भएपनि वडा नम्बर ५ लाई पनि प्रत्यक्ष रुपमा प्रभाव पार्नेछ ।

यो सडक कूल २५ किलोमीटर हुनेछ । यो दुई वर्षीय योजना हो । यस्तै नेपालगन्जको मदनापुरदेखि कोहलपुर ७ सँग जोड्ने डुडुवाको बाटोको लागि प्रदेश मन्त्रालयले बजेट विनियोजन गरेको छ । यस्तै नाली निर्माणपनि भइरहेको छ । अहिले एकदमै गुणस्तरीय काम भइरहेको छ ।

 ६.वडाको शैक्षिक अवस्थाको विषयमा पनि बताइदिनुहोस् न ?

वडाको शैक्षिक सुधारका लागि म सुरुदेखि नै प्रयासरत छु । यो मुद्दा मेरो चासोको विषय पनि हो । हाम्रो वडामा दुई वटा सामुदायिक विद्यालय रहेका छन् । एउटा विद्यालयमा इलेक्ट्रिसियन पढाइ हुन्छ । त्यहाँ कक्षा १२ सम्म पढाइ भइरहेको छ । ती विद्यालयमा विद्यार्थीहरुको संख्यापनि सन्तोषजनक नै रहेको छ ।

यहाँको समस्याको रुपमा सामुदायिक र संस्थागत विद्यालयबीचको विभेदको रुपमा रहेको छ । यहाँका अभिभावकहरुले सामुदायिक भन्दा संस्थागत विद्यालय रोज्ने गरेको मैले पाएको छु ।  अहिलेको आवश्यकता भनेको सामुदायिक विद्यालयलाई राम्रो बनाउने हो । शैक्षिक सुधारको लागि तीन पक्ष निकै महत्वपूर्ण रहेको छ । विद्यार्थी, शिक्षक र अभिभावक । विद्यार्थीले राम्रोसँग पढिदिने हो भने । शिक्षकले राजनीतिक नगर्ने हो भने ।

अभिभावकले जिम्मेवार वहन गरिदिने हो भने यहाँ विकास हुन कुनैपनि समय लाग्दैन । सामुदायिक विद्यालयको शिक्षा सुधार अभियान मैले सञ्चालन गर्ने तयारी गरिरहेको छु ।  त्यसैले विद्यालय अनुगमनलाई तिव्रता दिइएको छ । अनुगमनमा आएका कुराहरुलाई हामीले योजनाका साथ अघि बढ्ने योजना गरिरहेका छौँ । पटकपटक गइरहेको छु । विद्यालय अनुगमनमा गइरहेको छ ।  वडाको तर्फबाट कडाइ गरिरहेको छ । संस्थागत विद्यालय भन्दा सामुदायिक विद्यालयलाई वडा नम्बर ५ ले प्राथमिकता दिएको छ । शिक्षा क्षेत्र सुधार हामी गरेरै छोड्नेछौँ ।

७.यहाँको स्वास्थ्य क्षेत्रमा संस्थामा जनशक्ति, भौतिक पूर्वाधार लगायतको अवस्था कस्तो छ ?

वडा नम्बर ५ अन्य वडा भन्दा स्वास्थ्य क्षेत्रमा १ नम्बरमा रहेको छ । यहाँ विभिन्न स्वास्थ्य संस्था रहेका छन् । यहाँ मधेशी समुदाय रहेको छ । डुडुवा पाँचमा पहाडी समुदाय छ ।  मधेशी समुदायले स्वास्थ्य जाँच नगराउने समस्या रहेको छ ।  यदि स्वास्थ्य जाँच नगराएमा सुरक्षा भत्ता रोक्ने नीति लिएका छौँ । यस्तो व्यवस्था गरेपछि उहाँहरु स्वास्थ्य जाँचका लागि आउने गर्नु भएको छ ।  हात्तीपाइलेविरुद्ध कडाइ गरेका छौँ । स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मीको संख्या पयाप्त रहेको छ । भौतिक पूर्वाधारको अवस्थापनि राम्रो रहेको छ ।

हामीले विभिन्न समयमा  स्वास्थ्य शिविर सञ्चालन गर्दै आएका छौँ ।  यो भौगोलिक रुपमा यो ठूलो छ । यहाँका विभिन्न योजना निर्माणका काम थालेका छौँ । यस्तै स्वास्थ्यसँगै जोगिएको खानेपानी क्षेत्रको विकासका लागि विभिन्न आयोजना निर्माणको काम सुरु भएको छ । केही वर्षमा हामीले वडाबासीलाई पूर्ण रुपमा खानेपानीको व्यवस्था गर्न सक्छौँ ।

 ८.अबको पाँच वर्षमा वडा नम्बर ५ कस्तो होला के भन्नुहुन्छ ?

अहिलेको वडा नम्ब। ५ र अबको पाँच वर्षपछिको वडा नम्बर ५ मा धेरै भिन्नता हुनेछ ।  यसमा मेरो प्रतिबद्धतापनि रहेको छ । मैले कुनैपनि हालतमा वडा नम्बर ५ लाई विकास गर्नुछ ।  यहाँका जनताका अपेक्षा पुरा गर्नुछ । र मेरा चुनावी प्रतिबद्धता पालना गर्नुछ । त्यसैले अहिलेको र भोलीको वडामा आकाश पातालको फरक पाउनेछन्, यहाँका जनताले ।

शिक्षा क्षेत्रमा आमूल परिवर्तन भएको हुनेछ । अनुरोधका साथ विकासमा सरिक हुन आम वडाबासीलाई आग्रह गर्न चाहन्छु । सामुदायिक शिक्षा सुधार हुनेछ । स्वास्थ्य अवस्थाको पनि व्यापक सुधार भएको हुनेछ ।  हरेक महिना स्वास्थ्य जाँच गर्ने व्यवस्था हुनेछ । अन्त्य सम्पूर्ण वडाबासीलाई वडाको विकासका लागि हातेमालो गरिदिन आग्रह गर्न चाहन्छु ।

  • No tags available
प्रकाशित मिति : २०७९ चैत २१ गते मंगलबार