टिप्पणी : नेपालगन्ज–दिल्ली उडानको पर्यटकीय र आर्थिक महत्व



वीरेन्द्र जैसी, नेपालगन्ज
पहाडमा उत्पादन हुने वस्तु र भारतबाट आयातित वस्तुको साटफेरको व्यापारबाट गुल्जार भएको नेपालगन्ज सहर पश्चिम नेपालको व्यापारिक केन्द्रको रुपमा यद्धपि विद्यमान छ । प्रशासनिक हैसियत केही गुमे पनि यो सहरले अहिले पनि पश्चिम नेपालको औद्योगिक र व्यापारिक नेतृत्व गरिरहेको छ । पर्यटकीय गन्तव्यले भरपुर यस क्षेत्रमा घुम्न आउने पर्यटकहरुको लागि नेपालगन्ज ‘ट्रान्जिट पोइन्ट’ हो । यस सहरलाई उद्योग र वाणिज्यका गतिविधिले अहिले पनि विकल्पविहीन रहन दिएका छन् । साथै सहरलाई गुल्जार बनाउन महŒवपूर्ण भूमिका नेपालगन्ज विमानस्थलको पनि छ ।
नेपालगन्ज विमानस्थलबाट नेपालगन्ज–दिल्ली उडानको कुरा हुन थालेको तीन दशक भइसकेको छ । नेपालगन्ज उपमहानगरपालिकाका तत्कालीन मेयर विजय गुप्ताको पालामा २०४९ सालमा नेपालगन्जबाट दिल्ली उडानको लागि पहिलोपल्ट औपचारिकरुपमा पहल थालनी भएको पाइन्छ । गुप्ताका अनुसार त्यसबेला नेपालगन्ज नगरपालिकाले निर्णय नै गरेर नेपालगन्ज–दिल्ली उडान गराउने विषयमा केन्द्र सरकारसँग माग गरेको थियो । उनका अनुसार त्यसबेलाका मध्य तथा सुदूरपश्चिमका सबै जिल्लाका जिल्ला विकास समितिका सभापतिलाई नेपालगन्जमा भेला गराएर राँझा विमानस्थललाई अन्तर्राष्ट्रियस्तरको बनाउने विषयमा एकमत भई निर्णय नै गरिएको थियो ।


२०४९ सालमा नै साविकको मध्य तथा सुदूरपश्चिमका सबै जिल्लाका जनप्रतिनिधिहरुले अन्तर्राष्ट्रिय उडानका लागि उपयुक्त देखेको र महŒवमा ऐक्यबद्धता जनाएको नेपालगन्ज विमानस्थलबाट दिल्ली विमान उडेको हेर्ने यस क्षेत्रका जनताको सपना अझै अधुरो छ । २०७५ सालमा रवीन्द्र अधिकारी पर्यटन तथा नागरिक उड्डयनमन्त्री भएको बेला नेपालगन्ज–दिल्ली उडानको विषयले राष्ट्रिय बहसको अवसर पाएको थियो । मन्त्री अधिकारीले संसद्मै चार महिनाभित्र नेपालगन्ज दिल्ली उडान हुने उद्घोष गरेका थिए । बुद्ध एयरले उडानका लागि तयारी अवस्थामा रहेको घोषणा नै गरेको थियो । तर, भारतले उडानका लागि मागिएको रुट र तालिका दिन नमानेपछि त्यतिबेलाको प्रयास पनि असफल भयो ।

यस वर्ष भएका निर्वाचनका बेला नेपालगन्ज–दिल्ली उडानको पहल गर्ने भन्ने बुँदा आफ्नो घोषणापत्रमा नसमेट्ने नेता कोही थिएनन् । केही दिनअघि नेपालगन्जमा वेस्टर्न ट्राभल मार्टको उद्घाटन गर्र्दै प्रतिनिधिसभा सदस्य एवम् नेपालगन्ज उपमहानगरपालिकाका निवर्तमान मेयर डा. धवलशमशेर राणाले नेपालगन्जबाट दिल्लीसहितका भारतका अन्य दुई सहरमा उडानका लागि प्रक्रिया अन्तिम चरणमा रहेको बताएका थिए । नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टको संयोजकत्वमा दबाब समूह नै गठन भएको छ । यस्ता प्रयासहरु यसअघि विभिन्न संगठन तथा निकायबाट हँुँदै आएका थिए ।
नेपालगन्ज दिल्ली उडानसँग नेपालको पश्चिम क्षेत्रको पर्यटकीय भविष्य जोडिएको छ । काठमाडौं, पोखरा र भैरहवाका अन्तर्राष्ट्रिय विमानस्थलहरु पर्यटकहरु पर्खिरहेको लुम्बिनी प्रदशको पश्चिम क्षेत्र, कर्णाली र सुदूरपश्चिम प्रदेशका लागि पहुँचका हिसाबले उस्तै अवस्थामा छन् । पर्यटनको प्रचुुर सम्भावना भएर पनि पछि परिरहेको कर्णाली प्रदेशका पर्यटकीय क्षेत्रसम्म पुग्नका लागि नेपालगन्ज विमानस्थलभन्दा सहज विमानस्थल अरु छैनन् । प्राकृतिक सुन्दरता र मौलिक संस्कृतिले भरिएको कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पर्यटकीय विकाससँग यो विमानस्थलको भविष्य जोडिएको छ । ठूलो जनसंख्या रहेको भारतको राजधानी सहर दिल्लीसँग यो विमानस्थल जोडिनु आफैँमा ठूलो अवसर लिएर आउनेछ यस क्षेत्रका लागि ।

नेपालगन्ज–दिल्ली उडान धार्मिक पर्यटनका लागि पनि महŒवपूर्ण साधन सावित हुनेछ । भारतीय हिन्दू धर्मावलम्बीका लागि कैलाश मानसरोवर पुग्नुले ठूलो महŒव राख्छ । मानसरोबर ताल कैलाश पर्वतको फेदी हो । साधारणतया ४० देखि ७० वर्ष उमेरका भारतीय पर्यटक कैलाश पर्वत जाने गर्छन् । शिवको बासस्थान भनेर चिनिने र त्यहाँ पुगेमा मोक्ष प्राप्ति हुने विश्वास गरिएको मानसरोवर पुग्न भारतीय पर्यटकका लागि सबैभन्दा सजिलो रुटका रुपमा विकास भएको नेपालगन्ज–हुम्ला रुट । चीनमा पर्ने मानसरोवर जानका लागि भारतीय पर्यटकहरुले काठमाडौं हुँदै नेपालगन्ज आएर हुम्ला पुग्नुपर्छ ।

वैशाखदेखि असार मानसरोवर जाने उपयुक्त मौसम मानिन्छ । नेपालगन्जबाट ४५ मिनेटको हवाई यात्रापछि उनीहरू हुम्लाको सिमिकोट पुगिन्छ । सिमीकोटबाट हेलिकोप्टरमार्फत चीनको सिमावती हिल्सा पुगेर दर्शनार्थीहरु मोटरबाटोबाट ताक्लाकोटतर्फ लाग्छन् । ताक्लाकोट हुँदै कैलाश मानसरोवरको पैदल यात्रा सुुरू हुन्छ । पछिल्लो समय हुम्लाको लिमी उपत्यकाबाट पनि मानसरोवर दूर दर्शन गर्न थालिएको छ । यी सबैका लागि ‘ट्रान्जिट’ नेपालगन्ज नै हो । अहिले काठमाडौं–नेपालगन्ज–हुम्लाको रुटबाट पर्यटकहरु आउनुपर्ने बाध्यता सिधै दिल्ली–नेपालगन्ज–हुम्ला रुटमा परिणत भएमा पर्यटकहरुलाई थप सहज हुनेछ । उनीहरुको आगमन बढ्नेछ ।

जसले नेपालगन्जको पर्यटन उद्योगमा अहिलेको भन्दा गुणात्मक परिवर्तन ल्याउनेछ ।
यसबाहेक अरु सिजनमा पर्यटकहरुलाई आकर्षित गर्न रारा, डोल्पा, बडिमालिका, खप्तड, रामारोसन, अपी, शैपाल, बर्दिया, बाँके, शुक्लाफाँटा राष्ट्रिय निकुन्जजस्ता पर्यटकीय गन्तव्यहरु तयार छन् । चुरे क्षेत्रमा ‘हिल स्टेशन’हरु बनाएर, कर्णालीमा ¥याफ्टिङ सञ्चालन गरेर पनि भारतीय पर्यटकहरुका लागि आकर्षण गर्न सक्ने सम्भावनतर्फ पहल भइरहेका छन् । पर्यटनको विकासका लागि मात्रै नभइ एक औद्योगिक सरहका हिसाबले बजारीकरण र व्यापारिक सम्बन्धका लागि भारतजस्तौ ठूलो आवादी रहेको देशको राजधानीसँग हवाई मार्गबाट जोडिएमा नेपालगन्ज र पश्चिम नेपालले यसको भरपूर लाभ लिन सक्नेछन् । त्यसका लागि अब कुुरा मात्रैभन्दा परिणममुखी पहलको आवश्यकता छ ।

  • No tags available
प्रकाशित मिति : २०७९ फागुन ८ गते सोमबार