16 April 2024  |   मङ्लबार, बैशाख ४, २०८१

बालबालिकाकाका कहालीलाग्दा कथाहरु

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, माघ २०, २०७९  

हस्पिटलको बेडमा दुई वर्षको बालक असह्य पीडाका कारण छटपटाइ रहेको थियो । उसको चिच्याहटले हस्पिटलको सन्नाटालाई चिर्दै मानवबस्तीलाई नै पाशविक बनाइरहेको थियो । सायद त्यो आवाज उसको अन्तीम थियो क्या रे । बाँच्ने आँशामा जोडले बाबा, आमा भनेर कराइरहेको थियो । उसलाई लाग्यो होला, मलाई बचाउन सक्ने भनेको यो धर्तिमा कोही छन् भने मेरा बाबा आमा हुन् । अबोध बालकलाई के थाहा विचरा । उसलाई यत्तिसम्मको विभत्स अवस्थाको सिर्जना गरेर मृत्युको मुखमा पु¥याउने भनेकै उसको बाबा हो । दुई वर्षे बालक प्रिन्सलाई पिठ्यूमा बोकिरहेको बेला उसको बाबाले उसको आमाको जिउमा टाढैबाट पेट्रोल छर्केर आगोसमेत टाढैबाट लगाएर भाग्छ । आफ्नै सन्तानसमेत खरानी हुनेगरी उसले किन यो हरकत ग¥यो होला ? के मान्छेको शरीरभित्र पनि राक्षस भन्दा पनि महाराक्षसको जस्तो मन हुर्कन सम्भव हुन्छ र ? सम्भव नहुनु पर्ने । तथापि सम्भव भयो । पश्चिम नेपालको सुन्दर शहर कोहलपुरको नाकमा कालो धब्बा लाग्ने गरी यो घटना भयो । एउटा बाबाले आफ्नै दुई वर्षको वच्चालाई पेट्रोल छर्केर आगो लगायो । बच्चाको देहलिला समाप्त भयो । बच्चाकी आमा जीवन र मरणको दोसाधमा हस्पिटलमा छटपटाइरहेकी छिन् ।

       जीतबहादुर शाह
परिकल्पनाको उच्च आकाशमा शयर गर्ने उद्यत कुनै पागल साहित्यकारले समेत यत्तिसम्मको कल्पना गर्न सक्दैन होला । त्यस्तो घटना घट्यो । अकल्पनीय पनि सिमाहिन अकल्पनीय । आततायी हिटलरले दुनियाँलाई भुट्न खोजेको थियो आफ्नो र आफ्ना सन्तानहरुको निम्ति । जनताको रगतमा होली खेल्ने तानासाहरुले समेत आफ्ना परिवारको निम्ति एउटा सुन्दर सपना देख्ने धृष्टता गरेको हुन्छ । संसारका नरसंहारकारी रक्तपिपासुहरुलाई समेत मात गर्ने गरी आफ्नै सन्तानको ज्यान जानेगरी यो विभत्स हत्या कसरी गर्न सक्यो होला ! यस्तो कार्य पनि मानिसबाट सम्भव हुन्छ र ? त्यस्तो मानिसले बाँकी जीवन कसरी जिउछ होला ? त्यस्तो मानिसले अरुको अघि कसरी अनुहार देखाएर हिड्छ होला ? आफूले गरेको कर्मको पछुतोभावले उसले छर्केको पेट्रोलले छोराको शरीरमा दिएको पीडा भन्दा सयौं गुना बढी भएर उसैलाई नै खरानी बनाउछ होला कि बनाउदैन होला ?त्यस्तो मानिसलाई अरु मानिसले भेटे र देखे भने उसलाई कसरी हेर्छन होला र उसको बारेमा के कल्पना गर्छन होला ?मलाई लाग्छ, त्यो मान्छे सद्दे भए पनि त्यो बेहदको पागल हो । त्यस्तै बेहदको पागलले गरेको जिउ सिरिङग हुने हरकत सम्झेर कहिलेकाही त म पो पागल हुन्छु कि भन्ने लागिरहन्छ ।

बच्चा वा शिशुुहरु जसका पनि राम्रा हुन्छन् । सुँगुर फोहर हुन्छ । उसका बच्चा भने कति रहरलाग्दा हुन्छन् । हातमा लिएर सुम्सुम्याउजस्ता । कुकुरका बच्चा पनि त्यस्तै राम्रा । गन्ती गरेर भनिसाध्य छैन । हरेक पशु पंक्षी र जनावरका बच्चाहरु राम्रा र रहरलाग्दा हुन्छन् । मान्छेका बच्चाहरुका त झन के कुरा । त्यसमा पनि समाजमा भन्ने गरिन्छ –अरु जेजस्तो भए पनि आफ्ना सन्ततीको जस्तो अरु कसैका सन्ततीको पनि माया लाग्दैन । त्यसलाई यो कुराले किन छोएन होला । यो त एउटा मानव सभ्यताकै निकृष्ट दृष्टान्त हो । तुलना गर्दा यसभन्दा तल–माथि पर्ने गरी हाम्रो समाजमा त्यस्ता दृष्टान्तहरु यत्रतत्र पाइन्छन् । समग्रमा भन्नु पर्दा हाम्रो समाज बालबालिकामैत्री छैन । बरु उनीहरुको विरुद्धमा उभिएको छ । उनीहरुलाई आज प्रदान गरिने स्याहासुसार र समुन्नत वातावरणले भोलिको देश समुन्नत हुन्छ भन्ने कुरामा बालबालिकाको अभिभावकदेखि देशकै अभिभावकसम्मले पनि चासो नराखिरहेको अवस्था छ । त्यसैले त हाम्रा बालबालिकाहरु कोही जन्मदिनेहरुबाट नजन्मदै हत्या गरिन्छन् । कोही जन्मेपछि हत्या गरिन्छन् । कोही प्राणको ढुकढुकीसँगै सडक, खोल्सा र नालीहरुमा फ्याकिन्छन् । बिडम्बना, तिनैले बालदिवसमा बालअधिकारको कुरा गरेर कहिल्यै थाक्दैनन् ।

माथि उल्लेख गरिएका आफ्नै सन्ततिको हत्यामा संलग्न हुने अभिभावकलाई त अभिभावकको बर्गमा नै राख्न उपयुक्त हुदैन । अभिभावकको बर्गमा मात्र होइन मान्छेको बर्गमा पनि राख्न सकिदैन । किनभने त्यस्ता व्यक्तिलाई मान्छेको बर्गमा राखियो भने मानव सभ्यताको नै अन्त हुने अवश्यम्भावी देखिन्छ । यत्तिमात्र नभइ अन्य अभिभावकहरु पनि बालबालिकाप्रति जति सकारात्मक र सहयोगी हुनु पर्ने हो त्यत्ति हुन नसकिरहेको अवस्था छ । कतिपय अभिभावकहरु टर्चरिङ स्वभावका हुन्छन । त्यस्ता अभिभावकहरु आफूले दिएको आदेशको भरमा बालबालिकालाई सञ्चालन गर्न चाहन्छन् । उनीहरुलाई बालबालिकाहरु आज्ञाकारी भएको मन पर्छ । उनीहरुले प्रश्नहरु सोधेको र जिज्ञाशाहरु राखेको मन पर्दैन । त्यस्ता अभिभावकहरुले बालबालिकाहरु सक्रिय भएको अवस्थालाई हल्ला गरेको, चकचक गरेको, भनेको कुरा नटेरेको रुपमा लिएर नकारात्मक टिकाटिप्पणी गर्दछन् । यस्ता अभिभावकहरुलाई यो स्वभावका बालबालिकाहरु अनुशासनहिन बालबालिकाको क्याटागोरीमा पर्ने गर्दछन् जब कि उक्त बालबालिका एकदमै असल र उपयुक्त बालबालिका हो । किन कि एउटा आदर्श बालकले जे स्वभाव र व्यवहार देखाउनु पर्ने हो, ठीक त्यही स्वभाव उसले देखाइरहेको छ ।

केही अभिभावकहरु भने ह्रदयभरि बालबालिकाप्रतिको माया, श्रद्धा र सम्मानले भरिएका हुन्छन् । यस्ता अभिभावकहरुलाई नर्चरिङ स्वभावका अभिभावकको क्याटागोरीमा राख्न सकिन्छ । यो बर्गमा पर्ने अभिभावकहरुले बालबालिकाहरुसँग सङ्गत र भलाकुसारी गर्न पाउने कुरालाई अहोभाग्यको रुपमा लिन्छन् । बालबालिकाको समस्यालाई गहिरिएर बुझ्छन् र समाधानका लागि विकल्पहरुको विकास गरिदिन्छन् । उनीहरुले राखेका जिज्ञाशालाई सम्मान र प्रोत्साहन प्रदान गर्दछन् । बालबालिकाले देखाएको सक्रियता र चञ्चलेपनलाई प्रगति गर्नका लागि प्रदर्शन गरिएको लक्षणको रुपमा स्वीकार गर्दै त्यस्तो स्वभावलाई अझै प्रोत्साहित गर्दछन् । बालबालिकालाई आज्ञाकारी भन्दा पनि जिम्मेवार व्यक्तिको रुपमा विकास भएको देख्न चाहन्छन् । बालबालिकाहरु विभिन्न महत्वपूर्ण निर्णयहरुमा सहभागी भएर निर्णायक भूमिका निर्वाह गरेको पनि देख्न चाहन्छन् । सिकाइ भनेको अभिभावक र शिक्षकले व्यक्त गरेको बकपत्रको आधारमा होइन कि विद्यार्थी एवम् बालबालिकाहरुले प्रदर्शन गरेको क्षमताको आधारमा उभिएको हुन्छ भन्ने कुरा यस्ता अभिभावकहरुलाई राम्रोसँग जानकारी हुन्छ । क्षमता भनेकै सिकारुले प्रदर्शन गर्ने व्यवहार र स्वभावमा देखिन्छ न कि मौनता र निस्क्रियतामा ।

शिक्षकहरु पनि बालबालिकाप्रति जत्ति सकारात्मक र हुनु पर्ने हो त्यत्ति हुन नसकिरहेको अवस्था छ । एकपटक एकजना शिक्षकसँग अन्तरङ्ग भलाकुसारी गर्ने क्रममा मैले उनलाई ठट्टै ठट्टामा सोधेको थिएँ – ‘तपाईले यत्ति लामो अवधि (सात वर्ष) शिक्षण गर्ने क्रममा विद्यार्थीहरुलाई कुटपिट गर्नु भएको छ कि छैन ?’ उनले स्वभाविक तरिकाले जवाफ दिएका थिए – ‘किन नकुट्नु, कुटेको छु नि ?’ मैले प्रतिप्रश्न गरेको थिएँ – ‘विद्यार्थी कुट्दा खेरी कसरी कुन भागमा कुट्ने भन्ने बारेमा विचार गरेर सावधानीका साथ कुट्नु हुन्छ होला नि ?’ उनको जवाफ थियो – ‘रिस उठेको बेला कसले पो बेद पढ्छ र ? त्यत्तिबेला जता जता मन लाग्यो उतै उतै कुटिन्छ ।’ मैले उनलाई फेरि सोधेको थिएँ – ‘कुट्ने साधन के हुन्छ ?’ जवाफ थियो – ‘कहिले लठ्ठी हुन्छ । लठ्ठी नभएको बेला हातैले कुटिन्छ ?’ कुट्नु पर्ने कारण के हुन्छ त भनेर मेलै सोध्दा उनको जवाफ थियो – ‘भनेको मान्दैनन् । गल्ती दोहो¥याइ रहन्छन् । अभिभावक र प्रिन्सीपलको समेत अलि अलि कुटपिट गरेर हुन्छ कि कसरी हुन्छ, यसलाई तह लगाइदिनु होला भन्ने आदेश हुन्छ ?’ मैले उनका जवाफहरु सुनेपछि भनेको थिएँ – ‘तपाईले विद्यार्थीलाई कि त कुटपिट गर्न छोड्नु होला । कि त भने शिक्षण पेशा छोड्नु होला । अन्यथा तपाईलाई कुनै न कुनै बेला जेल सजायसम्म हुने कुरा करिव करिव निश्चित छ ।’ त्यसपछि भने उनी अलि नर्भस देखिए र केही बोलेनन् ।
बालक हामी भन्दा असल हुन्छ । किनभने उसले नजानेर गल्ती गर्छ नियतबस गल्ती गर्दैन । हामी वयस्कहरु नजानेर त गल्ती गर्छौं नै । नियतबस पनि गल्ती गर्ने गर्छौं । सानो छँदा बालबालिकाहरु संसारका सबै बस्तु र जीवजन्तुलाई आफै जस्तो ठान्ने गर्छन । उनीहरुसँग भएको खेलौनालाई पनि आफूलाई जस्तै भोक लाग्छ, जाडो लाग्छ, तिर्खा लाग्छ र निद्रा पनि लाग्छ भन्ने सोच्छन् र त्यही अनुसार व्यवहार गर्छन । टेलिभिजनमा कुनै व्यक्ति रोएको देखियो भने कतिपय बालकले त रुमाल लिएर आँशु पुछिदिदै नरुनु भनेको पनि यी आँखाहरुले देख्ने सौभाग्य पाएका छन् । तथापि त्यस्ता दिलदार बालबालिकाहरु क्रमशः हाम्रो सम्पर्कमा आए भने सजीव बस्तु वा प्राणीलाई पनि निर्जीवलाई जस्तो व्यवहार गर्न सिक्छन् । यत्ति दिलदार बालकलाई हामी किन अमानवबीय र पशुवत व्यवहार गर्छौं ? बालबालिकाको स्वभावको आँकलन गरेर कतिपय विद्वानहरुले बालकलाई भगवानको स्वरुप भनिरहेको अवस्थामा पनि हामी तिनै बालबालिकाहरुलाई किन आफ्नो राक्षसी स्वभाव प्रदर्शन गर्दै दुव्र्यवहार गर्छौं? यस्ता मानिसहरुलाई हदैसम्मको सजाय हुनु पर्नेमा किन खासै केही हुदैन ? के हाम्रा यस्तै दुव्र्यवहारले एउटा बालक असल हुन सक्छ त ? कहिलेकाही यस्तै यस्तै प्रश्नहरुले यो पङ्क्तिकारलाई घोच्ने र चिमोट्ने गर्दछन् । त्यसैले पनि बालबालिकाको बारेमा लेख्ने गर्दछु र त्यसैले पनि उनीहरुकै बारेमा अध्ययन र अन्वेषण गर्न रुचि राख्ने गर्दछु ।
आजको बालबालिका भनेको भोलिको यो मुलुकको गन्तब्य हो । भारतको कोठारी आयोगको प्रतिबेदनमा पनि लेखिएको छ – ‘कुनै पनि देशको गन्तव्य निर्धारण त्यो देशको कक्षाकोठामा सञ्चालन हुने क्रियाकलापहरुले गर्दछ ।’ भन्नुको मतलव उसलाई कक्षाकोठामा जे जस्ता कुरा सिकाइन्छ, भोलि उसले पनि त्यस्तै गर्दछ । भोलि उसले देशको महत्वपूर्ण जिम्मेवारीमा रहँदा समेत उसले कक्षामा सिकेका कुराहरुको प्रतिबिम्बन उसले त्यत्तिबेला गर्ने कार्यहरुमा गरिरहेको हुन्छ । आज हेला र होचोअर्घेलो मात्र पायो, सबैबाट अपमान र कुटाइपिटाइ मात्र पायो भने उसले गर्ने पनि भोलिको अवस्थामा त्यस्तै हो र त्यही हो । अहिले बालबालिकालाई अपमान गर्नु भनेको भोलिको देशमा अरुलाई सम्मान गर्न नसक्ने मानिसहरुलाई सत्तामा पु¥याउनु सरह हो । आज देशको विभिन्न क्षेत्रमा शान्ति र समुन्नतिका लागि आवश्यक पर्ने जनशक्तिको अभाव छ । इमान्दारिताको खडेरी छ जताजतै । यसको कारण स्पस्ट छ कि हामीले आजका सत्तासिनहरुलाई समेत हिजोको पिढीले गतिलो शिक्षा दिन सकेन । त्यसैले आजको देशलाई गतिलो बनाउन त हाम्रो बरकतले सकेन नै । भोलिको देशलाई गतिलो बनाउने हो भने बालबालिकालाई पेट्रोल छर्केर आगो लगाउनेदेखि बालबालिकालाई कुटेर तह लगाउनुपर्छ भन्ने सम्मलाई गतिलोसँग ठेगान लगाउन सक्नुपर्दछ । अन्यथा देश आजका पनि गएगुज्रेका मानिसहरुको हातमा पर्ने कुरा निश्चित छ ।

प्रकाशित मितिः शुक्रबार, माघ २०, २०७९     8:56:09 AM  |