शुभाकर विश्वकर्मा । कोहलपुर ।
नाम एक व्यक्तित्व अनेक भएका व्यवसायी हुन्,विष्णु खनाल । उनी लामो समयदेखि व्यवसायिक, सामाजिक तथा राजनीतिक क्षेत्रमा निरन्तर सक्रिय छन् । जीवनका पाँच दशक पार गरिसकेका खनालको पृष्ठभूमि व्यवसायिक छ । उनी व्यवसायी खनाल परिवारका नाती र छोरा हुन् । उनका पुर्खा उहिलेदेखि नै व्यवसाय गर्दथे ।
उनका हजुरबाबा र बाबाको पुख्यौली पदचाप्लाई पछ्याउँदै आइरहेका छन्,उनी । स्याङजामा जन्मे, हुर्केका उनले व्यवसायिक थलो भने, बाँके र बर्दियालाई बनाए । विशेषगरी बाँकेको कोहलपुर क्षेत्रको व्यवसायिक विकासमा उनको उल्लेख्य भूमिका रहेको छ । कोहलपुर क्षेत्रमा व्यवसायीका नेताको परिचय बोकेका व्यक्ति हुन्,खनाल । यही क्षेत्रमा उनले तीन दशक जति समय बिताए । व्यवसायीहरुको हकहितका लागि अनवरत रुपमा अहिलेपनि सक्रिय छन् ।
उनी हालको कोहलपुर उद्योग वाणिज्य संघका संस्थापकसमेत हुन् । जहाँ उनले विभिन्न पदमा रहेर करिब दुई दशक जति व्यवसायीहरुको हकहितका लागि काम गरेँ । कोहलपुरमा उनी एक अग्रणी सामाजिक व्यक्तित्वको रुपमा समेत परिचित छन् । उनको काम गर्ने आफ्नै शैली छ । उनी क्षणिक चर्चामा खास्सै रुचि राख्दैनन् ।
दीर्घकालीन सोच र भिजनका साथ हरेक कुरा अघि बढाउनु पर्छ भन्ने आदर्श बोकेका व्यवसायी हुन् उनी । उनी स्याङजा, बर्दिया हुँदै २०५२ सालमा कोहलपुर आएका थिए । ‘त्यतिबेला यहाँ ठूलो व्यवसायिक माहोल थिएन । ठूल्ठूला घरपनि थिएनन् । व्यवसाय दर्ताका लागि पनि नेपालगन्ज जानु पर्ने अवस्था थियो,’ उनी सम्झिन्छन् ।
नेपालगन्जमा त्यतिबेलादेखि नै कोहलपुर भनेपछि टाढैको जस्तो र हेपाहा प्रवृत्ति थियो । त्यो कुरा उनले पनि भोगे । त्यो कुराले उनलाई कोहलपुरमा व्यापार संघ स्थापना गर्नुपर्छ भन्ने सोच लाग्यो । संघ स्थापनाको लागि आफूले नै अगुवाई गरेको उनले बताए । प्रति व्यक्ति १५ रुपैयाँ संकलन गरेर स्थापना भएको थियो, संघ ।
संस्थापक अध्यक्ष भने कर्णबहादुर थापालाई बनाइयो । कोहलपुर व्यापार संघ नाम रहयो । संघको स्थापना २०५३ मा भएको हो । खनाल संस्थापक कार्य समितिका सदस्य भए । संघ स्थापनाको उद्देश्य व्यावसायीहरुको हकहितमा काम गर्ने थियो । अहिलेको कोहलपुर उद्योग वाणिज्य संघ स्थापनामा उनको महत्वपूर्ण भूमिका खेले ।
संघको संस्थापक सदस्य हुँदै दुई कार्यकाल सल्लाहकारको समेत भूमिका निर्वाह गरिसकेका छन् । तीनपटक उपाध्यक्ष भए । एक कार्यकाल महासचिव पदमा रहेरसमेत काम गरे । उनी महासचिव भएको बेला संघको जग्गा नाममा कायम भएको थियो । जहाँ अहिलेपनि उद्योग वाणिज्य संघको कार्यालय सञ्चालन भइरहेको छ । २४ वर्ष सम्म उद्योगी व्यवसायीहरुको हकहितमा काम गर्दै आइरहेका छन् । खनाल आफैले जन्माएको संस्थाको कार्यकारी भूमिकामा भने अहिलेसम्म पुग्न सकेका छैनन् ।
उनले दुईपटक अध्यक्ष पदमा उम्मेदवारी दिएर पनि निर्वाचनमा पराजित भए । अग्रज व्यतित्वका रुपमा समाजको सुख दुःख बुझेका नागरिक हुन् । खनाल वि.स. २०५४ साल देखि निरन्तर उद्योग वाणिज्य संघको सदस्य पदमा समेत रहेर अनुभव हाँसिल गरिसकेका छन् । अहिले भने उनी आफ्नै नेतृत्वमा उद्योग व्यापार संघ स्थापनामा सक्रिय छन् ।
को हुन् खनाल
विष्णु खनालको जन्म वि.स. २०२३ साल असार १८ गते स्याङजाको साविक आँरुचौर गाउँ पञ्चायतमा भएको हो । उक्त ठाउँ हाल अर्जुन चौपारी गाउँपालिका अन्तर्गत पर्छ । उनी स्वर्गीय प्रजापति खनाल र मोतिसरा खनालका साइलो सुपुत्र हुन् ।
उनका ८ दाजुभाई छन् । अचम्म लाग्दो कुरा के भने उनको परिवारका ६५ जना अहिलेसम्म पनि सगोलमै बस्दै आएका छन । बाँडिएर होइन जुटेर मात्र प्रगती गर्न सकिन्छ भन्ने उदाहरण उनको पारिवारिक अवस्थाले पनि देखाउँछ । ८ दाजुभाईको अहिले पनि अंशवण्डा भएको छैन । सबै दाजुभाई मिलेर व्यवसायमा हात हालेका छन् । त्यसैले उनीहरुको सफलता पनि लोभलाग्दो छ ।
खनाल जन्मदै उनको परिवार व्यवसाय क्षेत्रमा आवद्ध थियो । बुवा प्रजापति खनालले कपडाको पसल सञ्चालन गरेका थिए । उनका बुवा राजनीतिज्ञ थिए । त्यतिबेला उपप्रधानसम्म भएका थिए । उनी त्यतिबेला देखि नै बस व्यवसाय गर्थे । पछि कपडा र किराना र मिल सञ्चालन व्यवसाय गर्थे । आमा मोतीसराको पनि व्यवसायलाई विस्तार गर्न उत्तिकै भूमिका रह्यो ।
स्याङ्जा अर्जुन चौपारीमा धान कुट्ने, पिठो पिस्ने र तेल पेल्ने मिल सञ्चालन गर्ने व्यवसायिक परिवार खनालकै थियो । स्याङ्जामा बुवा आमाको व्यवसायिक पेसालाई पछ्याए । एसएलसीसम्म औपचारिक शिक्षा आर्जन गरेका छन्,खनालले । त्यतिबेला खनाल परिवारले नै पैसा संकलन गरेर विद्यालय सञ्चालन गरेका थिए । त्यसपछि उनी व्यवसायमा संलग्न भएँ ।
स्याङजामा हुँदा नै खनालले बुवाले सुरु गरेको व्यवसाय सुरुवात गरेका थिए । सुरुवातदेखि नै अटो व्यवसाय सुरु गरिरहेका छन् । २०४५ सालमा बर्दिया झरे । उनले नेपाली नागरिकता समेत बर्दियाबाटै लिए । बर्दिया हुँदा नै विवाह गरे । उनका दुई वटा छोरा र बुहारी छन् । उनी व्यवसायिक प्रयोजनले तराई झरेका थिए । अहिले पनि व्यवसायमै सक्रिय छ । अहिले भने विद्युतीय गाडीको स्वरुम खोलेका छन् । त्यसपछि भने वि.स. २०५२ तिर उनी बर्दियाबाट कोहलपुर आएका थिए । खनाल सुरुमा किराना पसल सञ्चालन गर्थे ।
२०५८ सालमा दर्ता भइ सुरु भएको उनको मेडिकल व्यवसाय अहिलेपनि चलिरहेको छ । कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल हाता भित्र सजिलो औषधी पसल अहिलेपनि सञ्चालनमा छ । त्यस बाहेक विभिन्न उत्पादनका शोरुम लगायतका अन्य यवसायमा खनाल दाजुभाईबीच साझेदारी छ । कोहलपुर क्षेत्रको व्यवसायमा खनाल परिवारको उल्लेख्य योगदान छ ।









प्रतिक्रिया दिनुहोस्