एक सातायता फैलिरहेको दादुरा महामारीका कारण एक ३१ महिने बालकको मृत्यु भइसकेको छ भने २७ जना बालबालिकामा दादुराको संक्रमण देखिएको छ । यहाँका एकै घरका चार जना बालिबालिका सम्मलाई दादुराको संक्रमण देखिएको छ । प्रभावित क्षेत्रका बालबालिकालाई आजदेखि खोप लगाउने तयारी छ ।
बाँके ।
नेपालगन्ज उपमहानगरपालिकामा एक सातायता दादुरा महामारी फैलिएको छ । दादुराकै कारण बुधबार नेपालगन्जका एक बालकको मृत्यु समेत भइसकेको छ । एक सातायता तीव्र गतीमा फैलिरहेको दादुरा महामारीको अझैसम्म नियन्त्रणमा आउन सकेका छैन । एउटा टोल तथा बस्तीमा ५ जनासम्म दादुराका विरामी देखापरेमा त्यसलाई महामारीको रुपमा लिने गरिन्छ ।
बुधबार नेपालगन्ज– ५ का एक ३१ महिने बालकको तीव्र गतिमा फैलिएको दादुराका कारण मृत्यु भएको नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले जानकारी दिए । उनका अनुसार मृत्यु भएका ती शिशुलाई एक हप्ता अघि उच्च ज्वरोसँगै दादुरासँग मिल्दोजुल्दो अरु लक्षण समेत देखिएको थियो । सोही क्रममा बुधबार उपचारका लागि अस्पताल लैजानेक्रममा बाटोमै शिशुको मृत्यु भएको हो ।
उपमहानगरका वडा नम्बर ५,७,८,१०,१५ र २२ का बालबालिकामा दादुरा धेरै देखिएको छ । स्वास्थ्य महाशाखाका प्रमुख चन्दले दिएको जानकारी अनुसार सबैभन्दा बढी ५–१५ वर्ष मुनिका बालबालिकामा दादुराको संक्रमण देखिएको छ । उनका अनुसार प्रभावित क्षेत्रमा २७ जना दादुराका विरामी रहेका छन् ।
दादुरा संक्रमण भएका अधिकांश बालबालिका दादुरा विरुद्धको खोप नलगाएका रहेको चन्दले मिसन टुडेलाई जानकारी दिए । ‘दादुरा विरुद्ध खोप लगाएका बालबालिकामा धेरै संक्रमण देखिएको छ’ उनले भने, ‘अहिले पुष्टि भएका अधिकांश बालबालिका खोप नलगाएका फेला परेका छन् ।
केही दिनअघि मात्र फुल्टेक्रामा एकै घरका चार जना बालबालिकामा दादुरा देखिएको थियो । ५ देखि १२ वर्षभित्रका तीन बालिका र एक बालमा दादुरा पुष्टि भएको स्वास्थ्य कार्यालय बाँकेका खोप सुपरभाइजर नरेश श्रेष्ठले जानकारी दिए ।
नेपालगन्जमा दादुराले महामारीकै रुप लिएपछि अहिले विश्व स्वास्थ्य संगठन, स्वास्थ्य कार्यालय बाँके र उपमहानगरको टोली खटिएर शंकास्पदहरुको खोजी गरिरहेको छ । नेपाल सरकारले सन् २०२३ सम्ममा दादुरालाई निवारण गर्ने लक्ष्य लिएको थियो । यो भनेको १ हजारमा १ जना भन्दा कममा दादुरालाई झार्ने हो ।
प्रभावित क्षेत्रमा आजदेखि खोप
दादुराले महामारीको रुप लिएपछि नेपालगन्जका बालबालिकालाई खोप लगाउन तयारी थालिएको छ । महामारी फैलिएको एक सातापछि नेपालगन्ज उपमहानगरपालिकाले खोप अभियानको तयारी गरेको हो । विश्व स्वास्थ्य संगठनको गाइडलाइन अनुसरा दादुराको महामारी फैलिए तत्काल दादुरा–रुबेला खोप कार्यक्रम सुरु गर्नुपर्छ ।
नेपालगन्जभित्र ९ महिना मुनिका बालबालिकामा पनि दादुरा देखिएकाले ६ महिनादेखि १५ वर्ष उमेर समूहका बालबालिकालाई दादुरा–रुवेला खोप दिनु पर्ने देखिएको छ । दादुरा देखिए लगत्तै प्रभावित क्षेत्रका बालबालिकाको अभिलेख तयार पारी जोखिम नियन्त्रण गर्न खोप अभियान तीव्र पार्नुपर्ने भएपछि उपमहानगरले ढिलाई गरिरहेको छ ।
दादुराले महामारीको रुप लिइसक्दा पनि उपमहानगर भने अझै प्रभावित क्षेत्रका बालबालिकाको संख्या खोज्नमै व्यस्त रहेको छ । डब्लुएचओको गाइडलाइन अनुसार दादुरा महामारी फैलिएको स्थान र आसपासको क्षेत्रमा रोग फैलिन नदिन रोग देखा परेको उमेर समूहको आधारमा ६ महिनादेखि माथि र १५ वर्षदेखि मुनिका बालबालिकालाई दादुरा–रुवेला खोप दिनुपर्छ ।
प्रभावित क्षेत्रका बालबालिकालाई भने आजबाट नै प्रभावित क्षेत्रमै पुगेर खोप दिइने उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले जानकारी दिए । ‘६ महिनादेखि १५ वर्ष उमेर समूहका बालबालिकाको अभिलेख संकलनका लागि महिला स्वास्थ्य स्वयमसेविकालाई परिचालन गरिएको छ’ उनले भने, ‘बालबालिकाको तथ्यांक संकलनपछि दुई/तीन दिनभित्र खोप अभियान सुरु हुन्छ । प्रभावित क्षेत्रका ९ महिनादेखि १५ वर्षदेखिका बालबालिकालाई भने शुक्रबारदेखि नै खोप लगाउन सुरु गरिनेछ ।’
कसरी सर्छ दादुरा
मिजल्स भाइरसका कारण हुने दादुरा छिट्टै सर्ने संक्रामक रोग हो । चाडै महामारीको रुप लिनसक्ने यो रोग विशेषगरी ५ वर्षमुनिका बालबालिकालाई धेरै हुने शुक्रराज ट्रपिकल सेन्टर तथा सरुवा रोग अस्पताल, टेकुका रिसर्च संयोजक डा. शेरबहादुर पुन बताउँछन् ।
दादुरा संक्रमण भएमा मृत्यु समेत हुनसक्छ । डा. पुनकाअनुसार यस्तो रोग लागेमा अरुलाई सर्नबाट जोगाउन बिरामीलाई अलग ठाउँमा राख्न आवश्यक हुन्छ । यससँगै चिकित्सकको सल्लाहमा लक्षणअनुसार तत्काल उपचार गरिहाल्नुपर्छ ।
दादुरा रोग संक्रमित व्यक्तिको नाक तथा घाँटीबाट निस्किने तरल पदार्थको सम्पर्कमा आँउदा, हाच्छ्यूँ गर्दा, र खोक्दा विषाणु हावामा फैलिएर सर्छ । दादुरा रोगको लक्षण देखिनु भन्दा अघि तथा लक्षण देखिइसकेपछि पनि धेरै दिनसम्म संक्रमितले दादुराका विषाणु सार्दछन् । बालबालिकाहरू समूहमा जम्मा हुने या भिड हुने स्थानहरूमा सजिलैसँग एकअर्कामा सर्नसक्छ ।
दादुरा रोगको पहिलो लक्षण उच्च ज्वरो आउनु हो । संक्रमित व्यक्तिको सम्पर्क भएको १०–१२ दिनपछि ज्वरो आउँछ । यो समयमा रोगीको नाकबाट पानी बग्ने, खोकी लाग्ने, आखाँ रातो हुने वा आँशु बग्ने र रोगीको गालाको भित्रीभागमा मसिना सेतो दाग देखापर्छ ।
यससँगै केही दिनपछि मुख तथा माथिल्लो गर्दनको भागमा केही उठेका विमिरा देखापर्छन् । ती विमिरा करिव ३ दिनभित्र छाती, पेट, हात तथा खुट्टामा फैलिन्छन् । यी विमिरा ५, ६ दिनसम्म रहिरहन्छन् र त्यसपछि क्रमशः हराएर जान्छन् । सामान्यतया उक्त रोगको जिवाणु शरीरमा प्रवेश गरेको ७ देखि १८ दिनभित्रमा लक्षण देखिन थाल्छ ।









प्रतिक्रिया दिनुहोस्