मालाहरुको सबैभन्दा बढी कारोबार हुने तिहारमा नेपालगन्ज, कोहलपुर, खजुरा लगायतका बजारमा प्लास्टिकका मालाहरु खुलेआम बिक्रीका लागि राखिएका छन् । जसमा राज्यका कुनै पनि निकायको ध्यान जान सकेको छैन । नेपालगन्जको बागेश्वरी मन्दिर आसपासका पसल तथा गिफ्ट शपहरुमा अहिले पनि प्लास्टिक माला खुलेआम बिक्रीका लागि प्रदर्शनीमा राखिएका छन् ।
नेपालगन्ज ।
वन तथा वातावरण मन्त्रालयले साउन १२ गते प्लास्टिकका फूलगुच्छा, मालामा प्रतिबन्ध लगाउने निर्णय ग¥यो । ‘नेपालभरि प्लास्टिकजन्य फूलगुच्छाको उत्पादन, आयात, बिक्रीवितरण साथै भण्डारण गर्न पूर्णरुपमा रोक लगाउने निर्णय गरेकोले यो सूचना प्रकाशन गरिएको छ,’ मन्त्रालयले प्रकाशन गरेको सूचनामा उल्लेख गरिएको छ । मन्त्रालयले वातावरण संरक्षण ऐन, २०७६ को दफा १५ को उपदफा (६) ले दिएको अधिकार प्रयोग गरी यस्तो निर्णय गरेको थियो ।
तर, उक्त निर्णय कार्यान्वयन भएन । मालाहरुको सबैभन्दा बढी कारोबार हुने तिहारमा नेपालगन्ज, कोहलपुर, खजुरा लगायका बजार क्षेत्रमा प्लास्टिकका मालाहरु खुलेआम बिक्रीका लागि राखिएका छन् । जसमा राज्यका कुनै पनि निकायको ध्यान जान सकेको छैन । नेपालगन्जको बागेश्वरी मन्दिर आसपासका पसल तथा गिफ्ट शपहरुमा अहिले पनि प्लास्टिक माला खुलेआम बिक्रीका लागि प्रदर्शनीमा राखिएका छन् ।
नेपालको कानुनअनुसार अहिले यी माला किनबेच गर्न मात्रै हैन, आयात र भण्डारण गर्नु पनि दण्डनीय छ ।
आफैंले बनाएको नियम सरकार आफैंले मिचेर यस्ता वस्तुको आयात गर्न दिँदै राजस्व संकलन गर्न ब्यस्त छ भने प्रतिवन्धित भएपनि खुलमखुला कारोबारलाई पनि छुट दिइएको छ । कानुनत राजपत्रमा सूचना प्रकाशित भएपछि यस्तो निर्णय पूर्ण कार्यन्वयनमा आउँछ र यो कानुनसहर लागू हुन्छ ।
प्लास्टिक नकुहिने वस्तु भएकोले यसको दुरगामी असलाई ध्यानमा राख्दै सरकारले देशभरि प्लास्टिकका मालाको उत्पादन, आयात तथा बिक्रीवितरणमा पूर्णरुपमा रोक लगाएको हो । पछिल्लो समय प्लास्टिकजन्य वस्तुको प्रयोग बढ्दो छ । नागरिकको दैनिकीमा अहिले सबैभन्दा बढी प्रयोग हुने वस्तुका रुपमा पनि प्लास्टिक छ । चाडपर्वमा प्राकृतिक फूलको मालाका सट्टा प्लास्टिकका मालाको प्रयोग भइरहेको छ । एकपटक प्रयोग भइसकेपछि फालिने त्यस्ता मालाले वातावरणमा दूरगामी असर राख्ने गर्छन् ।
प्लास्टिकका माला कसैले प्रयोग गरेको वा बिक्रीवितरण गरेको पाइएमा वातावरण निरीक्षकबाट १५ हजारदेखि २० हजार रूपैयाँसम्म जरिवाना हुने र विभागबाट एक लाखसम्मको जरिवाना हुनेसमेत सूचनामा उल्लेख छ । तर, यसलाई कार्यान्वयन गरिदिने कसले ? जिल्ला प्रशासन कार्यालय बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद शर्माले दसैंतिहारलाई लक्षित गर्दै संयुक्त बजार अनुगमन भइरहेको तर, प्लास्टिक मालाको अनुगमन भएको थाहा नभएको बताए । उनले बजार अनुगमन जतिबेला पनि हुनसक्ने भएकोले अब हुने बजार अनुगमनमा यस विषयलाई ध्यानमा राखिने पनि बताए ।
भन्सार र वातावरणबीच स्वार्थको द्वन्द्व
राजपत्र सूचना निकालेपछि हात बाँधेर बसेको वातावरण विभागले बिहीबार भने यस्ता फूलमाला बिक्री वितरण नगर्न सचेत गराएको थियो ।
विभागले एक सार्वजनिक सूचना जारी गर्दै यस्तो मालाको कारोबारमा संलग्नलाई एक लाख रुपैयाँसम्म जरिवाना हुने चेतावनी दिएको छ । तर, बजारबाट फूलमाला जफत गर्ने अधिकार र दायित्व बोकेको विभाग खुरु–खुरु भइरहेको आयात र विक्रीलाई हस्तक्षेप गर्न ‘एक्सन’मा उत्रिने योजनामा भने बनाएको छैन ।
वातावरण विभागका महानिर्देशक नमराज घिमिरेले प्लाष्टिका माला आयातबारे फरक तर्क पेश गरे । सरकारले निकालेको राजपत्रको सूचनामा भदौ एक गतेसम्म एलसी खुलेका यस्ता वस्तुको आयात हुन पाउने व्यवस्था गरेको घिमिरे दाबी गर्छन् । ‘राजपत्रमा स्पष्ट लेखिएको छ, भदौ एक गतेसम्म यस्ता वस्तु आयात गर्न पाइन्छ,’ महानिर्देशक घिमिरेले भने, ‘हामीले भन्सार विभागलाई यसबारे सोध्दा उहाँहरुले भदौ एक पछि एलसी पनि नखुलेको र आयात पनि नभएको बताउनु भएको छ ।’ तर, १२ साउन मा प्रकाशित राजपत्रअनुसार सोही दिनबाट नेपालमा प्लाष्टिकजन्य फूल माला, बुके लगातका सबै प्रकारका वस्तुको उत्पादन, आयात र विक्रीलाई निषेध गरेको थियो ।
भन्सार विभागका अधिकारीहरु राजपत्रमा प्रतिबन्धको सूचना आएपछि पनि आयातको प्रक्रिया सुरु भइसकेका कृत्रिम फूल र मालाको आयात नरोक्न वन तथा वातावरण मन्त्रालयले पत्राचार गरेको दाबी गर्छन् । व्यवसायीको गुनासोका आधारमा भन्दै विभागमा यस्तो पत्र आए पनि भन्सारबाट छुटाएर आयात गर्न दिइएको भन्सार विभाग स्रोतको दाबी छ ।
प्लाष्टिकका फूलको मालाको आयातमा प्रतिबन्ध नै नरहेको भन्सार कार्यालयका अधिकारीहरु बताउँछन् ।नेपालगन्ज भन्सार कार्यालयका एक अधिकृतले कृत्रिम फूलको माला आयात गर्न कानुनले नरोकेको र आयात खुला रहेको बताए । ‘प्लाष्टिकका फूल आयात गर्न पाइन्छ, आयात प्रतिबन्ध छैन,’ उनले भने, ‘भन्सारले रोकेको जस्तो लाग्दैन ।’
प्रतिक्रिया दिनुहोस्