जानकीमा छोरी जीवन बिमा कार्यक्रम



बाँके ।

जानकी गाउँपालिकाले चालु आर्थिक वर्षदेखि ‘छोरी जीवन बिमा कार्यक्रम’ लागु गरेको छ । गाउँपालिकाले ‘छोरी कल्याण कार्यक्रम’ अन्तर्गत ‘छोरी जीवन बिमा कार्यक्रम’ लागु गरेको हो । यसअघि पालिकाको १२औँ गाउँसभाबाट ‘गाउँपालिका अध्यक्षसँग छोरी कल्याण कार्यक्रम’ पारित गरिएको थियो ।

सोहीअन्तर्गत भदौ २४ गते बसेको गाउँ कार्यपालिका बैठकले छोरी जीवन बिमा कार्यक्रमका ‘गाउँपालिका अध्यक्षसँग छोरी कल्याण कार्यक्रम’ कार्यान्वयन कार्यविधि–२०७९ स्वीकृत गरेको थियो । कार्यविधि–२०७९ स्वीकृत भएसँगै ‘छोरी जीवन बिमा कार्यक्रम’ लागु भएको जानकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगीले जानकारी दिए ।

‘कार्यपालिकाको बैठकबाट पास भएको कार्यविधिअनुसार ‘छोरी जीवन बिमा कार्यक्रम’ लागु भइसकेको छ,’ उनले भने, ‘यो कार्यक्रमलाई प्रभावकारीरुपमा कार्यान्वयनको लागि सबै वडालाई पत्राचार गरिसकेका छौं ।’

कार्यक्रममार्फत पालिकाका सम्पूर्ण वडामा २०७९ साउन १ यता जन्मिएका छोरीहरुलाई यो सेवा प्रदान गरिनेछ । गाउँपालिकाभित्रका स्वास्थ्य संस्थामा जन्मिएका छोरीहरुलाई गाउँपालिकाको तर्फबाट वार्षिक पाँच हजारका दरले जीवन बिमाको प्रिमियम पर्नेगरी हुन आउने बिमांक रकम बराबरको जीवन बिमा गरिने प्रमुख प्रशासकीय अधिकृत डाँगीले बताए ।

‘छोरी जीवन बिमा कार्यक्रम’लाई प्रभावकारी बनाउन पालिकाले सबै वडा कार्यालयलाई परिपत्रसमेत गरेको छ । वडा कार्यालयलाई २०७९ साउन १ यता जन्मिएका छोरीहरुको आवश्यक कागजातसहितको सिफारिसपत्र स्वास्थ्य तथा सामाजिक विकास शाखाअन्तर्गत महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखामा पठाउन भनेको छ ।

कार्यक्रमको कार्यान्वयन सुरु

सिंहराज डाँगी
प्रमुख प्रशासकीय अधिकृत
जानकी गाउँपालिका

चालु आर्थिक वर्षका लागि ‘छोरी जीवन बिमा कार्यक्रम’का लागि १० लाख रुपैयाँ विनियोजन गरिएको छ । छुट्याइएको रकम अपुग भए अन्य रकम विनियोजन हुन्छ ।

२०७९ साउन १ यता जन्मिएका छोरीहरुलाई यो सेवा प्रदान गरिनेछ । कार्यक्रमको कार्यान्वयन सुरु भइसकेको छ ।

प्रकाशित मिति : २०७९ असोज ६ गते बिहीबार