रेफरल सेन्टरको अहिलेसम्म आफ्नो भवन छैन । निजी जमिनमा रहेको वर्षाैँ पुरानो निजी भवनमा अस्पताल सञ्चालन भइरहेको छ । एउटा भवन त जीर्ण भएर बस्न नमिल्ने भएको छ । तैपनि त्यसकै एक कोठामा इञ्चार्जको कार्यकक्ष राखिएको छ ।
छतबाट पानी चुहिन्छ । भवनका ठाउँठाउँमा भित्ता उप्किएको छ । ठाउँठाउँमा चर्किएको छ । भूकम्पको सानो धक्काले पनि भवन भत्किन सक्ने जोखिम छ । अस्पतालसम्म जाने बाटो हिलाम्मे छ ।
वीरेन्द्र जैसी । नेपालगन्ज ।
सानो कोठा, छत उप्किएर कुरूप भएको, भित्तामा रङ खुइलिएको, ढुसीको गन्ध आइरहेको, एसीको हावा बाहिर जान नदिन भेन्टिलेटर र झ्यालका ढोकामा फ्लेक्स ब्यानर टाँसिएको । यो नेपालगन्ज वडा नम्बर ४ स्थित नेपाल सरकार र टिबी नेपाल नामक संस्थाको सहकार्यमा सञ्चालन भइरहेको नेपालगन्ज टिबी रेफरल सेन्टर (टिबी अस्पताल)को प्रयोगशालाको अवस्था हो ।
स्वास्थ्य संस्थामा सबैभन्दा संवेदनशील मानिने प्रयोगशाला कक्षकै हालत यस्तो छ भने अरु भौतिक अवस्था कस्तो होला ? अनुमान लगाउन सक्नुहुन्छ । तर, उक्त रेफरल सेन्टरको अहिलेसम्म आफ्नो भवन छैन । निजी जमिनमा रहेको वर्षाैँ पुरानो निजी भवनमा अस्पताल सञ्चालन भइरहेको छ । एउटा भवन त जीर्ण भएर बस्न नमिल्ने भएको छ ।
तैपनि त्यसकै एक कोठामा इञ्चार्जको कार्यकक्ष राखिएको छ । छतबाट पानी चुहिन्छ । भवनका ठाउँठाउँमा भित्ता उप्किएको छ । ठाउँठाउँमा चर्किएको छ । भूकम्पको सानो धक्काले पनि भवन भत्किन सक्ने जोखिम छ । अस्पतालसम्म जाने बाटो हिलाम्मे छ । अस्पतालका बिरामीहरु अस्पतालको अवस्था देखेर विरक्त लाग्ने गरेको बताउँछन् ।
महिला र पुरुषलाई एउटै कोठामा राख्नुपर्ने, बिरामी धेरै भएका बेला भुइँमा बेड राख्नुपर्ने बाध्यता छ । वर्षातको समयमा त पानी र हिलोले बिरामी अस्पताल पुग्नै गाह्रो हुन्छ । अस्पतालका निवर्तमान इञ्चार्ज एवम् वर्तमान कार्यक्रम व्यवस्थापक हिक्मत खड्का दुःख व्यक्त गर्दै भन्छन्, ‘एकजना सेवाग्राहीले त अस्पताल पस्ने बाटोमा हिलो देखेर यो अस्पतालमा फेरि आउँदिन भनेर ढुंगो फर्काएर हिँडेको छुसम्म भनेका थिए ।’
आठ कठ्टा चार धुर जमिन एवम् ६५ वर्ष पुरानो जीर्ण भवनको वार्षिक नौ लाख ६० हजार भाडा तिर्नुपर्छ ।
अहिले चारजनाको नाममा रहेको जमिनका मालिकहरुले अस्पताल चाडोभन्दा चाडो हटाउन दबाब दिइरहेका इञ्चार्ज कमल ढकाल बताउँछन् । विक्रम सम्वत् २०५२ सालमा सरकारले एक गैरसरकारी संस्थासँग सहकार्य गरी स्थापना गरेको उक्त अस्पताल टिबी रोगका लागि पोखराभन्दा पश्चिम नेपालमा एउटा मात्र रेफरल सेन्टरका रुपमा रहेको निवर्तमान इञ्चार्ज खड्काले बताए ।
उनका अनुसार सबैभन्दा कडाखालका टिबी रोगीहरुको उपचार गर्न यस क्षेत्रका सबै स्वास्थ्य संस्थाहरुले बिरामीलाई सोही अस्पतालमा पठाउनुपर्छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका टिबीका बिरामीहरुलाई भर्ना गरेर उपचार गर्ने एकमात्र ठाउँ यही अस्पताल हो ।
जहाँ २५ बेडको अस्पताल र २४सैँ घण्टा डट्स विधिबाट उपचार गर्न २० बेडको आवास सुविधा छ । खानपिनसहितको आवासीय सुविधा त्यस्ता बिरामीले पाउँछन्, जसको उपचार जटिल भएको छ, टिबी औषधि प्रतिरोधक अवस्थामा पुगिसकेको छ र जसको घरमा अलग्गै बसेर रोगको उपचार गर्न सम्भव छैन ।
आर्थिकरुपले विपन्न समुदायका नागरिकहरु नै विशेषगरी उक्त अस्पतालको सुविधाबाट लाभान्वित छन् । उपचार गरेर सञ्चो नहुन्जेलसम्म निःशुल्क आवासीय सुुविधासहित टिबीको उपचार गर्ने उक्त संस्थाबाट विपन्न समुदायले सबैभन्दा बढी लाभ लिन पाइरहेका रेफरल सेन्टरका इञ्चार्ज कमल ढकाल बताउँछन् । अस्पतालमा पहिलोपटक टिबीको शंका लागि आएका बिरामीहरुको लागि ३० रुपैयाँको टिकट लाग्छ । टिबी रोग भएको हो भन्ने पुष्टि भइसकेपछि कुनै पनि शुल्क लाग्दैन ।
गत आर्थिक वर्षमा २३ हजारभन्दा बढी मानिसहरु उक्त अस्पतालमा सेवा लिन पुगेका थिए । तीमध्ये एक हजार एक सय १७ जनामा टिबी रोग पत्ता लागेको थियो । अहिले पनि करिब ४५ जना औषधि प्रतिरोधी अवस्था टिबी पुगिसकेका बिरामीहरु अस्पतालमा भर्ना छन् । नेपाल सरकारलाई टिबी रोकथामका लागि प्राप्त हुने अन्तर्राष्ट्रिय सहायता रकम उक्त रेफलर सेन्टरको सञ्चालनको स्रोत हो ।
वार्षिक दुई करोड ४६ लाख सञ्चालन खर्च हुने गरेको छ । व्यवस्थापन भने सुरुमा आइएनएफ नाम संस्थाले गर्ने गरेको थियो भने अहिले टिबी नेपाल संस्थाले गरिरहेको छ । तर, रेफरल सेन्टरजस्तो संवेदनशील स्वास्थ्य संस्थाको भवन मापदण्डअनुसार नहुँदा र जीर्ण हुँदा गुणस्तरीय सेवा प्रवाह हुन सकेको छैन ।
जग्गा र भवनका लागि ७ वर्षदेखि संघर्ष
अस्पतालमा दुईवटा बेडबीचको दुरी चार फिट हुनुपर्ने, भित्तासँग बेड जोडिएको नहुने, भवनको उचाइ हावा ओहोरदोहोर गर्न मिल्नेखालको हुनुपर्नेलगायतका अनेक मापदण्ड छन् । तर, उक्त अस्पतालको अहिले सञ्चालित भवनमा यी कुनै पनि मापदण्ड पालना गर्न सकिने अवस्था नरहेको इञ्चार्ज कमल ढकालले बताए । त्यसका लागि रेफरल सेन्टरको आफ्नै सुविधायुक्त भवन निर्माण गर्नुपर्ने आवश्यकता छ ।
भवन निर्माणका लागि सरकारले सात वर्षदेखि बजेट विनियोजन गर्दै आएको छ । २०७१ सालदेखि बजेट आउन थाले पनि जग्गाको व्यवस्था नहुँदा बजेट फ्रिज भएर जाने गरेको निवर्तमान इञ्चार्ज खड्काले बताए । पहिलो वर्ष तीन करोड ३७ लाख बजेट आएको थियो ।
ठूलो महŒवको रेफरल सेन्टर बाँके बाहिर जान दिन नहुने भनेर आफूले निरन्तर प्रयास गरेको खड्का बताउँछन् । स्थानीय तहपछि केही स्थानीय तहले दिएको जमिन अपायक स्थानमा थियो भने कति स्थानीय तहका जनप्रतिनिधिहरु पहिले जग्गा दिन्छु भनेर पछि हच्किए । कति जनप्रतिनिधिहरुले भोटको चिन्ता गरेर जग्गा कब्जा गरेर बसेकाहरुलाई हटाउन नसकिने जवाफ दिए ।
राप्तीसोनारी गाउँपालिका, कोहलपुर नगरपालिका, नेपालगन्ज उपमहानगरपालिका, जानकी गाउँपालिकामा जग्गा र स्थानको खोजी गरिए पनि सफल हुन नसकेको खड्का बताउँछन् । सबैभन्दा पहिले २०७३ सालमा राप्तीसोनारीको अगैैयामा हाल गाउँपालिकाको कार्यालय रहेको भवनमा रेफरल सेन्टर सञ्चालनका लागि प्रयास भए पनि सफल भएन ।
२०७४ सालमा नेपालगन्जको वडा नम्बर २० गायत्री नगरमा जग्गा दिने भनेर उपमहानगरपालिकाले निर्णय ग¥यो । भवन निर्माण गर्न बजेट पनि आयो । तर, जग्गामा एकाएक भएको अतिक्रमण हटाउन उपमहानगरपालिकाले सकेन । जानकी गाउँपालिका, कोहलपुर नगरपालिकामा पनि जग्गा प्राप्तिको काम सफल हुन सकेन । त्यसकै कारण सात वर्षमा १० करोड बढी बजेट फ्रिज हुन पुग्यो ।
ढकेरीमा भवन बन्ने आशा
रेफलर सेन्टरको भवनका लागि सात वर्षअघि करिब ६ करोड ३७ लाखको लागत स्टीमेट गरिएको थियो । तर, अहिले उक्त भवन निर्माणमा २५ करोडभन्दा बढी लागत लाग्ने अनुमान गरिएको छ ।
लामो प्रयासपछि बाँकेको राप्तीसोनारीस्थित गणेश माविले दुई बिघा जग्गा सेन्टरलाई दिएको छ । उक्त जमिनमा भवन बनाउन डीपीआर र वातावरणीय प्रभाव प्रतिवेदन पास भइसकेको छ । भवन बनाउन यस वर्ष दुई करोड २७ हजार रुपैयाँ बजेट विनियोजन भएको छ । जुन निकै न्यून बजेट हो ।
योजनाका लागि स्रोत सुनिश्चिता नभइकन ठेक्का प्रक्रिया अघि बढाउन मिल्दैन । भवनका लागि स्रोतको सुनिश्चितता हुन बाँकी छ । सेन्टरका कार्यक्रम व्यवस्थापक हिक्मत खड्का उक्त भवन निर्माणको योजनालाई बहुवर्षीय योजनामा राख्ने प्रक्रिया अन्तिम चरणमा रहेको जानकारी पाइएको बताउँछन् ।
बहुवर्षीय योजनामा राखिएमा यस वर्ष भवन निर्माणका लागि ठेक्का आह्वान हुने र आएको बजेट फिर्ता नहुने खड्काले बताए । ‘जसरी पनि चाडोभन्दा चाडो यस अस्पतालको भवन निर्माण हुनु आवश्यक छ । यस संस्थाको आवश्यकता दिन प्रतिदिन बढ्दो छ । सबै मिलेर यस संस्थालाई जोगाउनु आवश्यक छ,’ खड्काले भने ।