27 May 2024  |   सोमवार, जेष्ठ १४, २०८१

फिल्म समीक्षा: जबरजस्ती निरीह बनाइएको ‘प्रकाश’

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, भदौ १३, २०७९  

वीपी अस्तु ।

‘राजनीतिमा ज्यूँदाभन्दा मरेका मान्छे काम लाग्दाहन बा’

यो भनाइले नेपाली (अ)राजनीतिको पेटबोली बोल्छ नि हैन ? चलचित्र प्रकाशको एक (अ)राजनीतिकर्मी पात्रले बोलेको वाक्य हो यो । ‘प्रकाश’ले देखाउन खोजेको नेपाली समाजको सबैभन्दा ठूलो समस्या अराजनीति नै हो ।

यही अराजनीतिका कारण एक मिहिनति र स्वाभिमानी निम्न वर्गीय युवा आफ्ना सबै प्रियजनहरु र एकमात्र सपना गुमाएर एक्लो नितान्त एक्लो भएको निष्कर्ष थोपरिएको छ । एक विद्रोही पिताको मेधावी छोरोलाई अन्तिमसम्म पनि निरीह नै देखाइनुले लेखक र निर्देशकले अराजनीतिको दुष्प्रभावलाई नै मुख्य विषयवस्तुका रुपमा दर्शकहरुका आँखामा ठेल्न खोजे भनेर बुझ्न कर लाग्छ ।

‘प्रकाश’ एक उज्यालो बिम्ब । जस्तो ‘तारे जमि पर’ । तर ‘तारे जमि पर’ जस्तो ‘प्रकाश’मा दर्शकलाई समस्याको तल्लो तह छुवाएर पुनः आकाशमा फर्काउनेतिर किन सोचिएन होला ? समस्यामा डुबाउने नाममा दर्शकलाई तलाउको बीचतिर कतै छोडेर निसास्सिने गरी किन छोडिदिएको होला ? लेखक विकास सुवेदी र उनको टिमलाई सोध्न मन लागेको छ । म यसमा एकछिनपछि आउने छुँ । अहिलेलाई जुम्ला जाऔँ ।

भैँ लाग्यो भैँकन, सर्क लाग्यो गडकन सब दुःख मैकन, एका दुःख सनिसारलाई ठाडी भाकाको हृदयविदारक झंकारबाट खुल्छ ‘प्रकाश’को पर्दा । सिधा जुम्लाको कथामा लैजान यो तरिका ठीक छ । त्यसपछि देखिने दुई पात्र प्रदीप खड्का र दिया मास्के होइनन् । तिनीहरु जुम्लाकै कोही आमाछोरा हुन् । यसमा निर्धक्क विश्वास गर्न सकिन्छ । प्रदीप र दिया यसका लागि बधाइका पात्र हुन् ।

विशेषगरी प्रदीपका लागि यो चलचित्र कमसेकम ‘मेरो अभिनय हेर’ भनेर सानका साथ भन्नसक्ने चलचित्र हो । दियाका लागि पनि यो अरु उदाहरणभन्दा बलियो उदाहरण हो । यी दुवैजना कलाकार जुम्लाको रङमा रङ्गिएका छन् । नपत्याए हलमै गएर ‘प्रकाश’ हेर्नुहोला । प्रकाशले पाइन्ट लगाउँदा त्यसबाट कसरी जुम्लाको रङ ह्वार्र निस्कन्छ । कसरी प्रकाशकी आमाले हलो जोतेको दृष्य हेर्दा तपाईँको शरीरमा काँडा फुल्छ । कसरी उनीहरुको पाउदेखि निधारसम्म जुम्ला चढेको छ ।

प्रदीपले एक अन्तर्वार्तामा भनेका छन्, अभिनय भनेको के हो ? मैले ‘प्रकाश’ का लागि अभिनयको कक्षामा बस्दा थाहा पाएँ । अर्काे अन्तर्वार्तामा भनेका छन्, ‘प्रकाश चलचित्रमार्फत म नायकबाट अभिनेता बनेको छुँ ।’ चलचित्र हेरेपछि तपाईँ पनि उनका यी दुवै भनाइमा ठीक चिन्ह लगाउनुहुन्छ भन्ने विश्वास मलाई छ । उनी पहिलो कक्षापछिकै अभिनयमा यसरी खुलेका छन् कि उनको हिँडाइ पनि तपाईँले बिर्सनुहुन्न । प्रदीपको अनुहार बिर्सेर तपाईँ एकछिन असमन्जसमा पर्नुहुन्छ ।

चलचित्रमा सानोसानो भूमिकामा आउने कलाकारहरुको प्रतिभा झन तारिफयोग्य छ । पहिरनदेखि लवजको प्रयोगमा चलचित्र टिमले गरेको मिहिनतको सम्मानका लागि पनि यो चलचित्रलाई निराश बनाएर हलबाट बिदा गर्नुहुन्न । भलै चलचित्रको कथाले तपाईँलाई निराश र सिथिल नै छोडिदेओस् । म यसमा एकछिनपछि आउनेछु ।

जुम्लाको एक विकट गाउँमा एक घर छ । आमा र छोरा छन् । बाबु सायद द्वन्द्वकालमा विद्रोही बनेर कतै गएका थिए, फर्केर आएका छैनन् । छोरामा सपना छ, शिक्षक बन्ने । आमाले छोराको सपनालाई आफ्नै सपनाजत्तिकै माया गर्छिन् । फर्केर नआएका पतिको सम्झनामा अलल्लिएर भए पनि साहुको हली बसेको छोराको हातको अनो समातेर हलो जोत्न पनि पछि पर्दिनन् ।

गाउँमा एक मान्छे छन् । दाह्री आधा फुलेका । उनी साहु हुन् । विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष हुन् । राजावादी हुन् । दाह्री पालेका तर दुब्ला अरु केही मानिसहरु पनि छन् । उनीहरुमध्ये एक इमानदार प्राधानाध्यापक छन् । एक धुर्त शिक्षक । एकजना पार्टीको जिल्लास्तरको अराजनीतिकर्मी नेता । यी प्रकाश चलचित्रका प्रायः झुल्किरहने पात्रहरु हुन् । ती पात्रका बीच एक अर्की पात्र छिन्, राधा । उनी दलित परिवारकी छोरी हुन् । प्रकाश र राधा प्रेममा परेका छन् ।

कथाका मुख्य गरी चार हाँगा छन् । एउटा कथा प्रकाशको शिक्षक बन्ने सपनाको कथा हो । अर्काे अराजनीतिको कथा हो । अर्काे कथा प्रकाश र राधाको अन्तरजातीय प्रेमको हो । र अर्को कथा फर्केर नआएका प्रकाशका पिता र उसकी आमाको हो । पहिलो हांगातिर लागौँ । प्रकाश शिक्षक बन्ने उत्कट चाहना पालेर बसेको छ । प्रेमिका राधालाई हेर्न स्कुल गइराख्छ । पर्याप्त शिक्षकहरु नभएको र अराजनीतिको चंगुलमा परेको विद्यालयका विद्यार्थीहरुले उसलाई देख्नेबित्तिकै हिसाब सिकाइ माग्छन् ।

त्यही बाहनामा प्रकाश र राधा आँखा–आँखाले चुम्बन गर्छन् । प्रकाश टुकीको प्रकाशमा शिक्षक सेवा आयोगका किताब कण्ठ गरिबस्छ । बारीमा काम गर्दा होस् वा गोरुको हेरालो जाँदा किताब बोकी हिँड्छ । अध्यापन अनुमतिपत्रको परीक्षा दिन्छ । पास हुन्छ । शिक्षक सेवा आयोगको लिखित परीक्षा दिन्छ । पास हुन्छ ।

दोस्रो हांगामा छ, विद्यालयमा पसेको राजनीति । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजावादी हुन्छन् । अध्यक्ष भइराख्न उनले आस्थाभन्दा बिलकुल विपरीत सिद्धान्तको पार्टीमा प्रवेश गर्छन् । उनलाई चलाउने एक क्रान्तिकारी भनिने नेता छन् । उनकै उक्साहट र डिजाइनमा विद्यालयका एक इमानदार प्रधानाध्यापकलाई आफ्नो होमा हो नमिलाएको भन्दै सरुवा गरिदिन्छन् । तिनै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष स्थानीय तहको चुनाव पनि लड्छन् ।

तेस्रो हाँगा छ, प्रकाश र राधाको प्रेमको । अन्तरजातीय प्रेमको बीचमा एक पर्खाल छ । राधाले भन्छिन्, ‘यो पर्खालमा कति ढुंगा छन्, देखेको छौं ? कुन ढुंगो उठाउँछौ पहिला ?’ प्रकाशले एउटा ढुंगो उठाएर राधाको हातमा दिँदै भन्छ, ‘लौ मैले यो ढुंगो उठाएँ ।’ यसपछि राधाको मुहारमा खुलेको मुस्कान धेरै दिन टिक्न पाउँदैन । उनका पिताले कथित उपल्ला जातिका मान्ठलाई विश्वास गर्दैनन् । राधालाई छोएको देखेपछि प्रकाशकी आमाले नाकमा लगाएको फुली धुँदै सुनपानी छर्किन्छिन् ।

चौथो हांगा छ, नफर्किएका प्रकाशका पिताको । जसलाई खोजी दिनुपर्ने राज्यले नै उसकी हतप्रभ श्रीमतीलाई सोध्छ, ‘मृतक हो कि बेपत्ता ?’ अब यहाँबाट कथाका भंगालाहरु एक ठाउँमा मिसाऔँ । अराजनीतिकर्मीले मौखिक परीक्षामा पास हुन भनसुनका लागि कम्तीमा ८० हजार लाग्ने बताएपछि छोराको सपनालाई आफ्नो एकमात्र सपना मानेर बाँचेकी आमा फतक्क गल्छिन् ।

परीक्षाको फाराम भर्न चाहिने दुई हजार रुपैयाँ गाउँभरि डुल्दा पनि सापटी नपाइएपछि गाईको बाछो बेचेकी ती आमाले राहतस्वरूप पाइने एक लाखले छोराको सपना पूरा होला भन्ने आशामा अज्ञात अवस्थाका पतिलाई मृतक स्वीकार्छिन् । छोरालाई यो चित्त बुझ्दैन । त्यसै त कम बोल्ने प्रकाश त्यसपछि आमासँग पनि बोल्न छोड्छ । मौखिक परीक्षा दिन जाँदा प्रकाशमा उत्साहको उ पनि बाँकी हुन्न ।

रिजल्ट हेर्न जाँदा प्रकाश नाम भेटिन्न । टुटेका सपनाका टुक्रा टेकेर फर्किँदै गरेको युवक आफ्नो बुवा अन्तिमपटक आमासँग छुट्टिएको पुल तर्दै गर्दा त्यही पुलमा प्रेमिका रातो साडीमा सजिएर अर्कैको पछि लागेर गइरहेको हेर्न विवश हुन्छ ।

घर पुग्दा आमा पनि सदाका लागि नबोल्ने भइसकेकी हुन्छिन् । उफ् यो अँध्यारै अँध्यारोमा पसेको प्रकाश जब आमाको अन्तिम यात्राको सामुन्ने विजय जुलुशमा मुस्कुराउँदै हिँडेको त्यही पाखण्डी नेतालाई देख्छ तब पहिलोपल्ट दर्शकमा उत्साह भर्ने गरी रिस पोख्छ । तर लगत्तै भुइँमा पल्टाएर भिडले कुल्चिरहेको प्रकाश देखाएर चलचित्रको पर्दा बन्द गरिन्छ । अन्तमा ज्ञान पेलिन्छ, ‘विभेदको अन्त्य गरौँ’ टाइपको ।

अँ एक अर्काे पात्र छ, जो शिक्षक बन्न चाहन्न । बाउले जबरजस्ती फाराम भराउँछ । मोबाइलमा गेम खेलेर बस्ने उ परीक्षामा कलम औँलामा घुमाएर बस्छ । उ लिखित परीक्षामा पनि पास हुन्छ रे । अनि मौखिक परीक्षामा पनि पास हुन्छ रे । पैसा र शक्तिले उसले शिक्षकको जागिरमा नाम निकाल्छ रे । अज्ञात अवस्थाका पितालाई मरेको भनेर स्वीकार्न आमालाई बाध्य पारेर पैसा खाने अराजनीतिकर्मीले सम्बन्धित ठाउँमा भनसुन नगर्दिएकै कारण प्रकाशले मौखिक परीक्षा पास गर्न सक्दैन रे ।

लेखकले अन्तमा चलचित्रलाई यसरी धुलिसात् पार्दिएका छन् । निर्देशकको कौशल, जुम्लाको सुगन्ध र रङले अलिअलि बाँध्दै ल्याएको चलचित्रको कथामा जब अन्त्यतिर आएर कथालाई अतार्किक तरिकाले निमोठिन्छ, तब धत्तेरिका भन्न मन लाग्छ । बरु आफ्ना सबै प्रियजन गुमाएर पनि सपनाको प्राप्ति गरेर आएको प्रकाश बनाएर उसका अघि उसकी आमा उसको शिक्षक बनेपछिको अनुहार हेर्न नसक्ने भइसकेको देखाए पनि चित्त बुझाउन हुन्थ्यो । कठै !

कति निरीह बनाइएको ‘प्रकाश’लाई । कति कम बोल्ने र घुसघुसे बनाएको ? त्यो पनि विद्रोहका अनेक मौलिक तरिका अपनाउन खप्पिस भूमि जुम्लाको युवा पात्रलाई । अन्तिमतिर पुग्दा बल्ल दर्शकको जोश बढाउने गरी विद्रोह गरेको प्रकाशलाई भुइँमा पछार्नुभन्दा कन्चटमा ढुंगा बजारिएको त्यही ढाेंगी नेतालाई नै पछारेको भए तपाईँको के जान्थ्यो विकास जी ?

यद्दपि जुम्लाको स्थानीय स्वाद बोकेको चलचित्र हेर्न, जुम्लाको एक सपना बोकेको आम युवाको पीडा महसुस गर्न, द्वन्द्वले छोडिदिएका कल्पनातित पीडादायी घाउ बोकेर बाँचेकाहरु, ती घाउका पाप्रा उखेल्दै पेट पाल्ने केही अराजनीतिकर्मीहरुको अनुहार हेर्न, केही प्राविधिक बिम्बहरुमा कथा भनेको हेर्न र सबैभन्दा चाखलाग्दो कुरा, अभिनयमा प्रदीप, दिया र प्रकाश घिमिरेलगायत केही स्थापित र केही अस्थापित कलाकारको सामथ्र्य हेर्न एकपटक हल पुगे दर्शकलाई घाटा भने लाग्दैन ।

 

प्रकाशित मितिः सोमवार, भदौ १३, २०७९     7:39:16 AM  |