कोहलपुर चौराहदेखि गोल्छासम्मका सडक बत्ती मर्मत गरिँदै



बाँके ।

कोहलपुर चौराहदेखि गोल्छासम्मका सडक बत्तीहरु कोहलपुर नगरपालिकाले मर्मत गर्न थालेको छ । लामो समयदेखि मर्मत सम्भार अभावमा बन्द रहेका सडक बत्तीको नगरपालिकाले मर्मत गर्न थालेको हो ।

कोहलपुर–नेपालगन्ज सडकखण्डको चौराहदेखि गोल्छासम्मका सडक बत्तीहरु मर्मत थालिएको कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्यले जानकारी दिए ।

‘लामो समयदेखि बन्द रहेका सडक बत्तीहरु मर्मतका लागि प्राविधिकहरु परिचालन गरिसकेका छौं,’ उनले भने, ‘अहिले बत्ती मर्मतको काम धमाधम चलिरहेको छ । चाँडै नै सबै मर्मतको काम सकिन्छ ।’ केही पोलमा मात्र रातको समयमा बत्ती बले पनि केही वर्षयता अधिकांश पोलहरुमा सडक बत्ती बल्ल छाडेका थिए ।

फोरलेन सडकको ग्रीन बेल्टको भागमा राखिएका सडक बत्तीहरु मर्मत गरेर सञ्चालन नगरपालिकाले ल्याउन लागेको हो । अहिले धमाधम पोलमा बिग्रिएका तार, लाइटलगायतका संरचना फेर्ने काम चलिरहेको छ । अब सडक बत्तीका पोलमा विद्युत्बाट बल्ने लाइटको प्रयोग गरिनेछ । भदौ २० गतेसम्म सबै सडक बत्तीको मर्मत गरेर सम्पन्न हुने नगर प्रमुख आचार्यले मिसन टुडेलाई जानकारी दिए ।

चौराहदेखि गोल्छासम्मका सडक बत्ती मर्मत गरिएपछि रातिको समयमा हुने अपराधिक गतिविधि न्यूनीकरण तथा आवतजावतमा समेत सहज हुने अपेक्षा राखिएको छ । केही वर्ष पहिले स्थानीयबाट रकम संकलन गरेर ११ लाख रुपैयाँ लागतमा सडक बत्ती जडान गरिएको थियो ।

कोहलपुरका स्थानीय मोहनप्रसाद चापागाईले जनतासँग पैसा उठाएर जडान गरिएका सडक बत्ती अलपत्र अवस्थामा रहेकोमा नगरपालिकाले मर्मत गर्न लागेकोमा खुसी व्यक्त गरे ।

‘ढिलै भए पनि नगरपालिकाले जनताबाट रकम उठाएर जडान गरिएका सडक बत्ती मर्मतमा ध्यान पु¥याएको छ,’ उनले भने, ‘अब यो कार्यलाई नियमित दिनुपर्छ ।’ शुक्रबार सडक बत्ती मर्मत कार्यको नगरप्रमुख पूर्णप्रसाद आचार्य, प्रमुख प्रशासकीय अधिकृत टीकाराम ढकाललगायतले स्थलगत अनुगमनसमेत गरेका थिए ।

  • No tags available
प्रकाशित मिति : २०७९ भदौ ११ गते शनिबार