महेन्द्र पुस्तकालयले मनायो अमृत महोत्सव



नेपालगन्ज । 

नेपाल सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री मो.इस्तियाक राईले नेपालगन्जमा रहेको महेन्द्र पुस्तकालयलाई ३ लाख रुपैयाँ दिने घोषणा गरेका छन् ।

पुस्तकालयको अमृत महोत्सवको अवसरमा शुक्रबार पुस्तकालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री राईले पुस्तकालयको स्तरोन्नतिका लागि आफूले व्यक्तिगत रुपमा ३ लाख रुपैयाँ उपलब्ध गराउने घोषणा गरेका हुन् ।

यसका साथ पुस्तकालयका लागि स्थानीय, प्रदेश र संघ सरकारबाट समेत आवश्यक सहयोगका लागि पहल गर्ने प्रतिबद्धता जनाए । महेन्द्र पुस्तकालय नेपालगन्जको धरोहर रहेको बताउँदै उनले यसको विकास र संरक्षण जरुरी रहेको उल्लेख गरे । पुस्तकले नै जीवन बल्न सक्ने ताकत रहेकाले यसको संरक्षण जरुरी रहेको उनको भनाई छ ।

पुस्तकालय तदर्थ समितिका अध्यक्ष बलराम यादवको सभापतित्वमा भएको कार्यक्रममा लुम्बिनी प्रदेशका वन वातावरण तथा भूसंरक्षण मन्त्री सुरेन्द्र हमाल, प्रदेशसभाका सांसदद्वय कृष्णा केसी ‘नमुना’, आइपी खरेल लगायतले सम्बोधन गरेका थिए ।

सो अवसरमा पुस्तकालयले स्थापनाकालदेखि २०५४ सालको कार्यसमितिसम्म पुस्तकालय कार्यसमितिका सदस्य तथा कर्मचारीहरुलाई ‘अमृत महोत्सव पदक’सहित सम्मान गरिएको तदर्थ समितिका सदस्य सनतकुमार रेग्मीले बताए । यसका साथै बहुभाषिक कवि गोष्ठिको समेत आयोजना गरिएको थियो ।

यस क्षेत्रका दर्जन बढी कविहरुले रचनावाचन गरेका थिए । शनिबार पनि मुसायराको आयोजना गरिएको पुस्तकालयले जनाएको छ । वि.सं. २००३ सालमा नेपालगञ्जमा प्रेम पुस्तकालयको नामबाट स्थापित भएको पुस्तकालय पछि महेन्द्र पुस्तकालयमा परिणत भएको थियो ।

लामो समयदेखि अस्तव्यस्त अवस्थामा रहेको महेन्द्र पुस्तकालय २०७८ चैत २९ गते तदर्थ समिति गठन गरी क्रियाशील छ । समितिको पूर्णताका लागि भाद्र २८ गते निर्वाचन गर्ने पुस्तकालयले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७९ भदौ ४ गते शनिबार