27 May 2024  |   सोमवार, जेष्ठ १४, २०८१

कोहलपुर नगरपालिकाको लापरवाहीः बनेन कार्यविधि, चार महिनादेखि थन्कियो एम्बुलेन्स

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, भदौ ४, २०७९  

गणेश रावत । कोहलपुर ।

कोहलपुर नगरपालिकाको एम्बुलेन्स चार महिनायता प्रयोगविहीन छ । खरिद् गरेको चार महिना बितिसक्दासमेत एम्बुलेन्स सञ्चालनमा आउन सकेको छैन । नगरपालिकाले कार्यविधि बनाउन चासो नदिदाँ एम्बुलेन्स नगर स्वास्थ्य शाखाको परिसरमा थन्किएको हो ।

लूटबहादुर रावत प्रमुख भएका बेला गत बैशाखमा नगरपालिकाले टेण्डरमार्फत ४४ लाख ९० हजार रुपैयाँमा ‘ख’ वर्गको एम्बुलेन्स खरिद् गरेको थियो । स्थानीय निर्वाचनमार्फत निर्वाचित भएर नयाँ जनप्रतिनिधिले कार्यभार सम्हालेको तीन महिना बित्नै लाग्यो । तर, एम्बुलेन्स सञ्चालनमा उनीहरुले पनि चासो देखाएका छैनन् ।

हाल कोहलपुर नगरपालिका अन्तर्गत रहेका १५ वटा स्वास्थ्य संस्था छन् । एउटा पनि स्वास्थ्य संस्थामा एम्बुलेन्स छैन । कुल १५ वटा वडा रहेको नगरपालिकामा तीन स्वास्थ्य चौकी, ११ वटा आधारभूत स्वास्थ्य केन्द्र, दुई वटा बर्थिङ्ग सेन्टर र एउटा सहरी स्वास्थ्य केन्द्र रहेका छन् । अहिले १५ बेडको नगर अस्पताल निर्माणधिन अवस्थामा छ ।

गाउँको सिंहदरबार समेत भनिने स्थानीय सरकारमा एम्बुलेन्स सेवा अत्यावश्यक हो । जिल्लाको एकमात्र नगरपालिकाको रुपमा रहेको कोहलपुरमा लामो समय एम्बुलेन्स नै खरिद् भएन । कोरोना महामारीका बेला चर्को आलोचना भएपछि एउटा एम्बुलेन्स बैशाखमा हतार हतारमा खरिद् गरिएको थियो ।

नगरपालिकाको छेउमै चार महिनादेखि एम्बुलेन्स थन्किदा समेत जनप्रतिनिधि र कर्मचारीहरु भने सञ्चालन गर्नको लागि गम्भीर देखिएका छैनन् । विभिन्न कारण देखाउँदै एम्बुलेन्स सञ्चालन गर्नबाट नगरपालिका पन्छिन खोजिरहेको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टीकाराम ढकाल नगरपालिकाले कार्यविधि नबनाउँदा एम्बुलेन्स सञ्चालनमा आउन नसकेको बताउँछन् ।

उनका अनुसार नगरपालिकाले एम्बुलेन्स सञ्चालनका बारेमा त्यस्तो केहीपनि सोचेको छैन । नयाँ जनप्रतिनिधि आएको तीन महिनामा आधा दर्जन पटक बसेको कार्यपालिका बैठकबाट विभिन्न निर्णय हुँदै आएका छन् ।

एम्बुलेन्स सञ्चालनका विषयमा अहिलेसम्म कुनै बैठकमा छलफल नै नभएको एक कार्यपालिका सदस्यले मिसन टुडेलाई जानकारी दिए । ‘हामी आएपछि अहिलेसम्म एम्बुलेन्स सञ्चालनको बारेमा बैठकमा छलफल भएको मलाई थाहा छैन’ उनले भने, ‘एम्बुलेन्स त हामीले नगरपालिकामा देखेको हो ।

अरु कुरा त हामीलाई थाहा भएन ।’ हालसम्म पनि कोहलपुर नगरपालिकाले एउटा एम्बुलेन्स समेत सञ्चालन गरेको छैन । नगरपालिकालाई आवश्यक परेको खण्डमा भाडामा अन्य संघ संस्थाबाट एम्बुलेन्स लिने गरेको छ ।

नजिरः महामारीमा भाडाको एम्बुलेन्स

कोभिड–१९ को महामारीको बेला कोहलपुर नगरपालिकाको आफ्नै एम्बुलेन्स थिएन । जिल्ला नै कोभिड –१९ को हटस्पट बनेको बेला नगरपालिका क्रेटा कार काण्डका कारण विवादित समेत भएको थियो । नेपाल रेडक्रस सोसाईटीलाई चर्को मूल्यमा भाडा तिर्न सम्झौता नै भयो । नगरपालिकाले रेडक्रसलाई दैनिक २३ सय रुपैयाँ दिन्थ्यो ।

१५ लाख भन्दा रुपैयाँ भाडामै खर्च गरियो । महामारीको समयमा अस्पताल पु¥याउन अटोको प्रयोग गर्न जनता बाध्य भएका थिए । अहिलेपनि महामारीको जस्तै अवस्था छ । फरक यत्ति हो, एम्बुलेन्स छ ।

तर प्रयोगमा आउन सकेको छैन । जनप्रतिनिधि फेरिए । तर अवस्था फेरिन सकेको छैन । डिजिटल नगर बनाउँछु भन्ने नगरप्रमुखको प्राथमिकतामा एम्बुलेन्स सेवा परेको छैन । कोहलपुर नगरपालिकाको कर्मचारी तन्त्रसमेत अत्यावश्यक कुरामा गम्भीर देखिदँैन ।

कार्यविधि निर्माण गर्दैछौँ
पूर्णप्रसाद आचार्य
नगरप्रमुख
कोहलपुर नगरपालिका

नगरपालिकामा एम्बुलेन्स छ । खरिद् त भयो । तर यसको सञ्चालनको लागि कार्यविधि आवश्यक हुन्छ । नगरपालिकाले कहिले कार्यविधि निर्माण गरिरहेको छ । कतिपय नगरबासीलाई निःशुल्क सेवा दिनुपर्ने होला ।

जेष्ठ नागरिक होलान्, बालबालिका होलान् । अब हामी कार्यविधि र मापदण्ड बनाएर अघि बढ्छौँ । केही दिनमा सञ्चालनमा गर्छौँ । नगरपालिकामा चालक जतिपनि छन् । एम्बुलेन्स सञ्चालन हुँदा चालकको समस्या छैन ।

कार्यविधिमा कहाँ–कहाँ चलाउने, नगरबासीलाई कस्तो सेवा दिने र भाडादर कस्तो हुने भन्ने विषय समेटिनेछन् । नगरबासीलाई राहत हुने गरी नै सञ्चालन हुन्छ । अहिले नगर अस्पताल बनिरहेको छ । त्यसैले पनि केही ढिलो भएको हो । आकस्मिक वार्ड नभएका कारण पनि एम्बुलेन्स सञ्चालनमा ढिलाई भएको हो ।

अस्पताल नबनेसम्म एम्बुलेन्स सञ्चालन हुन्न
टीकाराम ढकाल
प्रमुख प्रशासकीय अधिकृत
कोहलपुर नगरपालिका

नगर अस्पतालको लागि एम्बुलेन्स खरिद् गरिएको हो । १५ बेडको अस्पताल निर्माणाधिन छ ।

अबको केही महिनामा नगर अस्पताल निर्माण सम्पन्न हुन्छ । तपाईले भने जस्तै एम्बुलेन्स अहिले सञ्चालनमा छैन । नगर स्वास्थ्य शाखाको परिसरमा थन्किएको छ । एम्बुलेन्स सञ्चालनको लागि कार्यविधि बन्नुपर्ने हुन्छ ।

अहिलेसम्म कार्यविधि निर्माणको लागि कुनैपनि प्रक्रिया सुरु नै भएको अवस्था छैन । नगर अस्पताल बनेपछि त जसरीपनि एम्बुलेन्स सञ्चालन भइहाल्छ नी । चालकको लागि पनि अहिलेसम्म पनि विज्ञापन गरेका छैनौँ । जब कार्यविधि बन्छ । अनि सबै काम हुन्छ ।

प्रकाशित मितिः शनिबार, भदौ ४, २०७९     12:01:33 PM  |