पालिकाका प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगीको कार्यकक्ष हेर्दा भने उदेक लाग्दो छ । दुईवटा पंखा चलेका छन् । एउटा एसी चलेकै छ । महँगा कुर्सी र सोफाले कार्यकक्ष सजिएको छ ।
उनको कार्यकक्षभित्र उखरमाउलो गर्मीमा पनि गर्मीको महसुस नै हुँदैन । सबै सेवाग्राही उनको कार्यकक्षमा गएर शीतलता पाउन हिम्मत गर्न सक्दैनन् । यति मात्र होइन, तातो भने तातो र चिसो भने चिसो पानी आउँछ ।

राप्तीसोनारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगीको कार्यकक्ष । जहाँ एउटा एसी, दुईटा पंखा र महँगा कुर्सी तथा सोफाहरु छन् ।
नेपालगन्ज ।
राप्तीसोनारी गाउँपालिका–९ का यादवबहादुर चन्द योजना सम्झौताका लागि पालिकामा सोमबार दिउँसो १२ बजेतिर पुगे । पालिकाको झन्झटिलो प्रक्रियाले गर्दा समयमै उनको काम बनेन ।
काम नहुँदा थकानसँगै गर्मी हुँदा उनी बिसौनी बस्न खोज्छन् तर, सेवाग्राहीका लागि प्रतीक्षालय र अन्य बस्ने ठाउँ नहुँदा उनले ठूलै सास्ती खेप्नु प¥यो । उनी मात्र होइन यहाँ आउने सेवाग्राहीका लागि बस्नेका लागि एउटा प्रतीक्षालयसमेत छैन । काम हुँदासम्म कुर्ने स्थान नहुँदा उनीहरु चर्काे गर्मीमा उभिन बाध्य छन् ।
यता पालिकाका प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगीको कार्यकक्ष हेर्दा भने उदेक लाग्दो छ । दुईवटा पंखा चलेका छन् । एउटा एसी चलेकै छ । महँगा कुर्सी र सोफाले कार्यकक्ष सजिएको छ । उनको कार्यकक्षभित्र उखरमाउलो गर्मीमा पनि गर्मीको महसुस नै हुँदैन । सबै सेवाग्राही उनको कार्यकक्षमा गएर शीतलता पाउन हिम्मत गर्न सक्दैनन् । यति मात्र होइन, तातो भने तातो र चिसो भने चिसो पानी आउँछ । प्रमुख प्रशासकीय अधिकृत डाँगीले चाहे चिया जति खाए पनि हुन्छ ।
प्रमुख प्रशासकीय अधिकृत डाँगी र सेवाग्राहीको सुविधा हेर्दा पालिका जनमैत्री तथा सेवाग्राहीमैत्री कार्यालय छैन भन्ने प्रष्ट हुन्छ । कार्यालय प्रमुख मात्र होइन, पालिका अध्यक्ष र उपाध्यक्षका कार्यकक्षमा पनि कुनै गर्मी महसुस हुँदैन । सेवक सुविधाभोगी हुँदा र जनमैत्री नहुँदा सेवाग्राहीले सास्ती खेप्नु परेको यी दृश्यले पुष्टि गर्छ ।
सेवाग्राहीलाई एउटा बस्ने ठाउँसमेत नहुँदा यतिबेला टन्टलापुर घाम र बर्खामा पानीमा भिजेर सेवा लिनु पर्ने बाध्यता भएको चन्दले बताए । ‘पालिकामा भन्नेबित्तिकै काम हुँदैन,’ उनी भन्छन्, ‘एकछिन त बस्नै पर्छ । बस्नका लागि एउटा प्रतीक्षालय भएको भए सुनमा सुगन्ध हुन्थ्यो ।’ काम नहुँदासम्म बस्नलाई शीतल चौतारी भएको भए राम्रो हुने उनी बताउँछन् । प्रतिक्रिया दिँदै गर्दा उनका निधारबाट निरन्तर पसिना बगिरहेका थिए । शरीर थकाइ रहेको थियो ।
प्रमुख प्रशासकीय अधिृकत डाँगीको कार्यकक्ष सुविधा सम्पन्न हुने र यता सेवाग्राहीलाई बस्ने ठाउँसमेत नहुँदा पालिकाले जनताको सहजताका लागि ध्यान नदिएको यहाँका एक सेवाग्राहीले बताए । उनले आफ्नो नाम भने गोप्य राख्न चाहे । यदी नाम समाचारमा आए भोलि प्रमुख प्रशासकीय अधिकृत डाँगी वा कर्मचारीले आफ्नो काम रोकिदिने भय उनीमा थियो ।
‘हाकिमलाई दुईटा पंखासँगै एसी किन चाहियो,’ उनले भने, ‘हाकिमलाई भने गाडीलगायत अन्य सुविधा हामी सेवाग्राहीलाई बस्ने ठाउँसमेत हुँदैन । यो कस्तो शासन हो, बिडम्बना हो ?’ जनताले आफूले तिरेको करको सदुपयोग हुन नसकेको उनी बताउँछन् ।
सेवाग्राहीका लागि गाउँपालिकाले एउटा प्रतीक्षालय निर्माण गर्नुपर्ने यहाँका स्थानीय नरहरि भण्डारीले बताए । ‘सेवाग्राही बस्नै नपाउने भन्ने हुँदैन । तर यहाँ आउने सेवाग्राहीका लागि बस्ने ठाउँ छैन । यसका लागि पालिका गम्भीर भएको देखिएन,’ उनी भन्छन्, ‘गाउँपालिका जनमैत्री हुनुपर्छ ।’ यतिबेला गर्मीले सेवाग्राहीलाई सास्ती छ भने बर्खाको समयमा पानीमा भिजेर बस्नुपर्ने बाध्यता छ । ‘पानी पर्दा सेवाग्राही कहाँ बस्ने, कहाँ ओत लाग्ने,’ उनी भन्छन्, ‘पालिकाले आफूमुखी होइन जनतामुखी हुनुपर्छ ।’
प्रतिक्रिया दिन्नँ, बरु मुद्दा हाल्नूस्
यस विषयमा प्रतिक्रिया लिन खोज्दा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगीले फोन उठाएनन् ।
प्रतिक्रियाकै लागि उनकै कार्यकक्षमा पुग्दासमेत उनी प्रतिक्रिया दिनबाट पञ्छिए । ‘म मिसन टुडेलाई प्रतिक्रिया दिँदै । मुद्दा मामिला गर्ने भए गर्नूस्,’ उनले भने । उनले यस विषयमा प्रतिक्रियासमेत दिन चाहेनन् ।
गाउँपालिकालाई कसरी जनमैत्री बनाउने योजना नहुँदा पनि उनले प्रतिक्रिया दिन नसकेका हुन सक्ने स्थानीयको भनाइ छ । प्रमुख प्रशासकीय अधिकृत डाँगी र सेवाग्राहीका बीच यतिधेरै विभिन्नता छ । यहाँका आउने सेवाग्राहीले काम नसकिँदासम्म कुर्दा न्यूनतम सुविधासमेत पाउन सकेका छैनन् ।









प्रतिक्रिया दिनुहोस्