28 March 2024  |   बिहिबार, चैत्र १५, २०८०

समृद्ध बाँसगढी बनाउने योजना छः मेयरका उम्मेदवार खड्कबहादुर खड्का

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, बैशाख २५, २०७९  

बाँसगढी ।

बाँसगढी नगरपालिका बर्दिया बाँसगढी नगरपालिकाको समृद्धि र विकासका लागि मेरो उम्मेदवारी हो । नेकपा एमालेको लक्ष्य र आकांक्षा तथा मेरो योग्यताको मिश्रणमार्फत बाँसगढीलाई समृद्ध नगर बनाउन मैले उम्मेदवारी दिएको हो ।

अहिले म पूर्णरुपमा जनताको घरदैलो अभियानमा छुँ । चुनावी मैदानमा जाँदै गर्दा मैले लिखित चुनावी प्रतिबद्धता घोषणा गरेको छुँ । बाँसगढीको अहिलेको आवश्यकता शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार विकास हुन् । यी विषयलाई प्राथमिकता दिएर हामी अघि बढिरहेका छौँ ।

यस्तै ज्येष्ठ नागरिक, महिला तथा बालबालिका र युवाहरुलाई रोजगार, धार्मिक पर्यटन हाम्रो मुख्य उद्देश्य छ ।

पहिलो पाँच वर्ष नेकपा एमालेले स्थानीय सरकार सञ्चालन ग¥यो । यो पाँच वर्षमा बाँसगढीमा विकास र समृद्धिको जग बसिसकेको छ ।

त्यो विकास र समृद्धिको जगमा उभिएर बाँकी रहेका र नयाँ थप काम हामी आगामी पाँच वर्षमा गर्नेछौं । एक संकल्पका साथ शिक्षा क्षेत्रको विकासका लागि बाँसगढीका आधारभूत तहको निःशुल्क शिक्षा छ ।

अब मावि तहसम्म निःशुल्क अध्ययन गराउने प्रतिबद्धता छ । २१औँ शताब्दीको आवश्यकतालाई मध्यनजर गर्दै शिक्षाको क्षेत्रको विकासका लागि भौतिक पूर्वाधार निर्माण, यस्तै पढ्दै कमाउँदै भन्ने कार्यक्रमलाई निरन्तरता दिइनेछ ।

अभिभावकविहीन बालबालिकाका लागि नगरपालिकाले खान र बस्ने कुराको बन्दोबस्त गर्नेछ । मुक्तकमैया, सुकुम्बासी, विपन्न तथा गरिब समुदायका बालबालिकालाई सहयोग
गरिनेछ ।

स्वास्थ्यतर्फ २५ शड्ढयाको अस्पताल निर्माणाधीन अवस्थामा छ । त्यसलाई पाँचे बर्से कार्यकालमा सक्याउने र २४ सैँ घण्टा सञ्चालन गर्ने उद्देश्य छ । बाँसगढी नगरपालिकामा क्यान्सर जस्तो ठूला रोग, मुटु रोग भएको व्यक्तिलाई सहयोग गर्ने तथा थारु समुदायमा रहेको सिकलसेलको उपचार गर्न स्थानीय सरकारको तर्फबाट एक लाख रुपैयाँ दिइनेछ । स्वास्थ्यमैत्री नगरपालिका बनाउनुपर्नेछ ।

यस्तै हाम्रो प्राथमिकता कृषि क्षेत्र पनि हो । किसानको वर्गीकरणका लागि परिचयपत्र वितरण गर्ने, कृषि क्षेत्रमा उत्पादन लागतको आधारमा अनुदान दिने, किसानका खेत र घरमा प्राविधिक खटाउने, कृषि क्षेत्रमा काम गर्दा घाइते भएकाहरुलाई उपचार खर्च गरिदिने र परम्परागत कृषिलाई आधुनिकीकरण गर्ने कुरा प्राथमिकता हो ।

भौतिक निर्माणका सन्दर्भमा अहिलेसम्म स्थानीय सरकारले धेरै काम गरेको छ । आगामी दिनमा अधुरा रहेका कामलाई सम्पन्न गर्नु हाम्रो दायित्व हुनेछ । कालोपत्रे हुन बाँकी ठाउँमा कालोपत्रे गर्ने, सहायक बाटाहरुको स्तरोन्नति गर्ने, नाली र कल्भट र पुल बनाउने छ । यस्तै धार्मिक र पर्यटनको क्षेत्रमा पनि हामी सम्भावनायुक्त क्षेत्रमा छौं ।

नगरपालिकामा रहेका बर्दिया राष्ट्रिय निकुञ्ज, बबई भ्याली, विश्व सम्पदा सूचिमा परेको केदारेश्वार, दाङदेखि पश्चिम र कैलालीदेखि पूर्वतिर थारु समुदायको बाहुल्यता रहेको भवानी मन्दिर विकास, यस्तै गाउँमा रहेका प्राचीन गाउँ, मन्दिर तालतलैया त्यसको संक्षरण गर्नुपर्ने छ । थारु समुदायको संस्कृति लोप हुने अवस्थामा छ । थारु संग्रहालय निर्माण गरिनेछ ।

आज पनि महिलाहरुको आर्थिक हैसियत कमजोर भएका कारण घरभित्रै विभेद भोग्नु पर्ने अवस्था छ । महिलाहरुका लागि स्वरोजगारमूलक तालिमको व्यवस्था गरिनेछ । यसका साथै युवा साथीहरुको मागलाई सम्बोधन गरी रोजगारी सिर्जना गरी विदेश पलायन रोक्ने हाम्रो उद्देश्य छ ।

विभेदको अन्त्य हुनुपर्ने छ । रोजगारी सिर्जना गर्नकै लागि वडा नम्बर ४ मा औद्योगिक ग्राम निर्माण गरिनेछ । सहकारी र सरकारी क्षेत्रबाट बाँसगढीका समस्या समाधान गरिनेछ । नगरपालिकाको सेवालाई जनताको घरदैलोमा लगिनेछ । हरेक जनताका आवश्यकता पूरा गर्न मेरो टीम लागिपर्नेछ । सबै धर्म र पेशाका मानिसहरुको पहुँच हुने स्थानीय सरकारको रुपमा विकास गर्ने मेरो प्रतिबद्धता रहेको छ ।

 

प्रकाशित मितिः आइतवार, बैशाख २५, २०७९     8:43:57 PM  |