5 February 2023  |   आइतवार, माघ २२, २०७९

पैसा कमाउनु छैन, सेवा गर्नुछः नन्दलाल वैश्य

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, बैशाख १८, २०७९  

 

नन्दलाल वैश्यको राजनीतिक परिचय नेपालगन्जको व्यावसायिक क्षेत्रको एक सुपरिचित नेताको रुपमा छ । उनले नेपालगन्ज उद्योग वाणिज्य संघको एक कार्यकाल अध्यक्ष भएर नेतृत्व गरिसकेपछि अहिले संघको निवर्तमान अध्यक्षका रुपमा कार्य समितिमै छन् । उद्योग वाणिज्य संघको नेतृत्वमा रहँदा उनले व्यावसायिक हकहित र बजार प्रवद्र्धनका लागि उत्कृष्ट काम गरेको व्यवसायीको मत छ ।  यसबाहेक वैश्य सामाजसेवीका रुपमा पनि उत्तिकै परिचित छन् । उनले नेपालगन्जको धार्मिक सदभाव कायम राख्न विभिन्न समयमा महŒवपूर्ण भूमिका खेलेका छन् ।

विभिन्न धार्मिक र सामाजिक संघसंस्थालाई पनि उनले सहयोग र नेतृत्व गर्दै आएका छन् । यसपटकको स्थानीय निर्वाचनमा नन्दलाल नेपालगन्ज उपमहानगरपालिकाको मेयरका रुपमा चुनावी मैदानमा उत्रिएका छन् । नेकपा माओवादी केन्द्रको नगर सहसचिवको भूमिकामा रहेकै अवस्थामा उनले केही दिनअघि माओवादी परित्याग गरेर राप्रपामा भित्रिए । राप्रपामा भित्रिएसँगै अब नेपालगन्जको चुनावी परिदृष्यमा उनलाई पनि मेयरको एक बलियो दाबेदारका रुपमा हेर्न थालिएको छ । विभिन्न संघ संस्था र उद्योग वाणिज्य संघको नेतृत्वमा रहेर काम गर्दा नेपालगन्जको दुःख बुझ्न र त्यसको समाधानमा घोत्लिन थालेको बताउने नन्दलालसँग हामीले उनको नेपालगन्जको नेतृत्वको दाबीका आधार र उनका योजनाका बारेमा संवाद गरेका छौं ।

दौडधुप छ है चुनावको ?

हाँस्दै…बहुत दौडधुप छ । बिहानदेखि साँझसम्म फुर्सद छैन । मतदाताको घरदैलोमा पुग, आफ्ना योजना सुनाउ । चुनावी मैदानमा उत्रिसकेपछि अब जोडतोडले लाग्नै प¥यो नि ।

मेयरको चुनाव लड्ने तपाईंको योजना कति पुरानो हो ?

यहाँले सही ठाउँबाट कुरा उठाउनुभयो । ठ्याक्कै अब म नेपालगन्जको मेयर नै लड्छु भनेर सोच्न थालेको म उद्योग वाणिज्य संघको अध्यक्ष रहँदै हो । देश जब स्थानीय सरकारको संरचनामा गयो । स्थानीय तहको जुन निर्वाचन भयो त्यतिबेलै अब मैले त्यहाँ गएर पनि सेवा गर्नुपर्छ भन्ने लागेको हो ।

मेयरमा उठ्ने हिम्मत कसरी आयो भने मलाई नेपालगन्जका यतिका व्यवसायी साथीहरुले जिताएर अध्यक्ष बनाए । अध्यक्ष भइसकेपछि मैले उहाँहरुको हितमै काम गरेर उहाँहरुको मन जित्न पनि सकेँ । मैले अध्यक्ष रहेकै बेला सदरलाइन फराकिलो बनाउन अनि एकलैनी सुधार गर्न नगरपालिकालाई सघाएँ । त्यतिबेला हामीले धेरै संघर्ष गरेर यी सडकहरु सुधार गर्न सफल भएका थियौं । त्यसपछि मैले नगरको सुरक्षाका लागि विभिन्न स्थानमा सिसीटिभी जडानको योजना सफल बनाए ।

तर सिसीटिभीको सञ्चालनको जिम्मा प्रहरीलाई दियौं । त्यसको चुस्त सञ्चालन हुन नसक्नुमा हाम्रोभन्दा पनि प्रहरी प्रशासनको दोष छ । यसैगरी सरसफाइ अभियानमा पनि मेरो नेतृत्वमा हुँदा थुप्रै काम भए । व्यापारीका हकहितका लागि र कर सुधारका हामीले आन्दोलन ग¥यौं । दुईपटक व्यापार मेला लगाइयो । उद्योग वाणिज्य संघको गाडी र एम्बुलेन्स जोहो गरियो ।

युपीका मुख्यमन्त्रीलाई भेटेर निकासी सहजीकरणको प्रयास गरियो । मन्त्रीहरुलाई नेपालगन्ज बोलाएर यहाँका समस्याबारे पटकपटक जानकारी गराइयो । यी सबै काम गर्दा मैले नेपालगन्जका दुःख, काम गर्दाका जटिलता र अन्य चुनौतीबारे जान्ने मौका पाएँ । मैले जति काम गरेँ, इमान्दारपूर्वक गरेँ । त्यो व्यवहारमा होस् या पैसाको मामिलामा होस् ।

त्यसपछि मलाई लाग्यो म यहाँ बजेटै नहुने संस्थामा बसेर त यति काम गर्न सक्छु भने त्यत्रो ठूलो बजेट हुने र अधिकारप्राप्त स्थानीय तह जुन छ, त्यहाँको नेतृत्व गर्न पाएँ भने त थुप्रै काम गर्न सक्छु भन्ने लागेर मेयरमा उम्मेदवारी दिएको हुँ ।

तपाईंले नेकपा (माओवादी केन्द्र) छोड्नुलाई अस्वभाविक भन्न मिल्दैन ?

मलाई लाग्छ अस्वभाविक होइन । पार्टीमा लामो योगदान दिएका र क्षमता भएका व्यक्तिलाई पार्टीले वास्तै गर्दैन भने त्यहाँ बसेर कुनै अर्थ छैन । फेरि अहिले माओवादी पार्टीले के ग¥यो भने नेपालगन्जमा माओवादीको हैसियत जसपाको भन्दा पनि कमजोर बनाइदियो ।

पार्टीमा बसेर मेयरको तयारी गरेका मलगायतका साथीहरुको कुनै योगदान गरिएन । यहीबेला मेरा राजनीतिक गुरु स्वर्गीय दामोदर आचार्यको निधन भयो । त्यसपछि पार्टी झन् लथालिङ्ग भयो । मैले त्यहाँ रहेका साथीहरुको पनि यसमा दोष देख्दिनँ । जब नेतृत्वले नै सही निर्णय गर्न सक्दैन भने के गर्न सकिन्छ र ?

गठबन्धनका नाममा कार्यकर्ता र मतदातालाई झुक्याउने काम भएको छ । स्थानीय तहमा हुनै नसक्ने गठबन्धन गरेर काम छैन । यो गठबन्धन एक धोका हो । यहीबेला राप्रपामा देशभरि ठूलो लहर आएको छ । युवाहरुले यस पार्टीलाई विश्वास गर्न थालेका छन् । अध्यक्ष राजेन्द्र लिङ्देन ज्यूले ‘एक पैसा पनि गलत तरिकाले खाएछु भने आमाको रगत खाए सरह’ हो भनेर भन्ने गर्नुभएको छ ।

यस कारण पनि म यता आकर्षित भएको हुँ । अर्काे कुरा तपाईंलाई भनिहालुँ, म उद्योग वाणिज्य संघको अध्यक्ष हुँदा पनि राप्रपा र माओवादीको संयुक्त गठबन्धन भएको थियो । त्यतिबेला मलाई जिताउन धवलशमशेर ज्यूले ठूलो भूमिका खेल्नुभएको थियो ।

हाम्रो निकटता त्यहीबेलादेखि नै थियो । म कांग्रेससँग पनि नजिक छुँ । मैले तरुण दलको वडा सभापतिकोरुपमा पनि काम गरेको थिएँ कुनै बेला । अरु सबै पार्टीहरुलाई मैले हेरिसकेपछि सबैको हालत उस्तै देखेँ । तर राप्रपासँग देश सुधार गर्ने एजेण्डा छ । त्यस कारण म यता आएको हुँ ।

मेयर निर्वाचित भए के–के काम गर्ने योजना बनाउनुभएको छ ?

नेपालगन्ज पश्चिम नेपालको एक ठूलो र ऐतिहासिक सहर हो । यहाँको विकासले सबै ठाउँमा असर गर्छ । यसका साथै यस सहरको आफ्नै विशेषता छ । यहाँ धार्मिक सदभावको उत्कृष्ट नमुना छ । यी कुरालाई ध्यानमा राखेर अब नेपालगन्जमा ठूला र रणनीतिक भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्यको सेवाको स्तरोन्नति गर्ने हो ।

अब नेपालगन्जमा ठूला पार्क, राम्रा पाठशालाहरु, आकासे पुल, पर्यटन विकास, विश्वविद्यालय, औद्योगिक विकासलाई हामीले प्राथमिकता दिने हो । यसका साथै नेपालगन्जको सामाजिक र धार्मिक सदभावलाई बढावा दिने हो । यस सहरलाई विविध धार्मिक उत्सवहरुको सहरका रुपमा विकास गर्ने हो । यहाँको पर्यटन र व्यावसायिक विकासका लागि काम गर्ने हो ।

स्वास्थ्य सेवाको सुधार गर्ने हो । सबभन्दा दुःखको कुरा हाम्रा युवाहरु बेरोजगार छन् । उनीहरुको रोजीरोटीको ग्यारेन्टीका लागि काम गर्ने हो । रोजगारी सिर्जनाका लागि हामीले उद्योगको विकास गर्नुपर्ने छ ।

हामी भन्छौं, गरिबहरुको विकास भएन । उनीहरुको विकासका लागि रोजगारी पाउनुप¥यो नि । जब रोजगारी पाउँछ तब त उसको घरमा चुल्हो बल्छ । त्यस कारण अब हामी यतातिर ध्यान दिन्छौं । सानातिना छुटफुट बाटोहरुको विकास गर्छाैं । सरसफाइलाई थप चुस्त बनाउँछौं । नेपालको विकासबाट पछाडि परेका क्षेत्रको विकासमा ध्यान दिनेछौं । पछाडि परेका विभिन्न समुदायहरुको विकासमा पनि ध्यान दिनेछौं । उनीहरुको आर्थिकस्थिति सुधारका लागि पनि विभिन्न कार्यक्रमहरु सञ्चालन गर्नेछौं ।

पर्यटनको विकासका लागि पनि काम गर्नुपर्नेछ । नेपालगन्ज दिल्ली–उडानको लागि पहल गर्नेछौं । विश्वविद्यालयका लागि पहल गर्नेछौं । भेरी हस्पिटललाई मेडिकल कलेजसको स्तरमा लैजान पहल गर्नेछौं । भेरी हस्पिटल मेडिकल कलेज भयो भने यसको सेवा आफैँ सुधार हुन्छ । नेपालगन्जमा अब ई–रिक्साको व्यवस्थापन, सहरी यातायात व्यवस्थापनमा पनि काम गर्नुपर्नेछ । नेपालगन्जको रिङरोड निर्माणको पहल पनि गर्नेछौं । त्यस कारण अब हामी दीर्घकालीन योजनाहरुलाई प्राथमिकताका साथ पूरा गर्ने योजनामा छौं ।

तपाईंले भनेका काम कसरी पूरा गर्नुहुन्छ ?

अब नेपालगन्जलाई देशको एक सुव्यवस्थित सहर बनाउने हो । मैले त्यसको लागि अघि नै भने अनुभव पनि हासिल गरेको छुँ । नेपालगन्जका विभिन्न समुदायको साथ र सहयोग नलिइकन काम गर्न सकिँदैन । मैले कसैलाई काखा कसैलाई पाखा गर्ने छैन । त्यसमा मलाई यहाँका सबै समुदायले साथ दिन्छन् भन्ने विश्वास छ ।

अर्काेतिर मलाई सजिलो के छ भने, धवलशमशेर राणाज्यू मसँग हुनुहुन्छ । उहाँसँग सहरलाई कसरी राम्रो बनाउने भन्ने अथाह अनुभव छ । उहाँले आफ्नो कार्यकालमा अत्यन्तै राम्रो काम गर्नुभएको छ । अब त्यसकै आधारमा हामीले थप काम गर्ने हो । राजनीतिक ईच्छाशक्ति र पहुँचका हिसाबले पनि अहिले नेपालगन्जको राप्रपा पार्टी बलियोस्थितिमा छ ।

अर्काे कुरा हामीले नेपालगन्जवासीहरुको राय सल्लाह लिन्छौं । हामीले मात्रै सबै कुरा जानेका हुन्छौं भन्ने छैन । जानेको भए पनि त्यो जनजचाहनाअनुरुप छ छैन थाहा हुँदैन । त्यस कारण हामीले नेपालगन्जका विभिन्न धर्म, सम्प्रदाय, क्षेत्रका अगुवाहरुलाई बोलाएर समयसमयमा छलफल गर्छाैं । उहाँको राय, सल्लाह, सुझावलाई लिएर हामीले नगरको दीर्घकालीन योजना बनाउँछौं । योजना नबनाएर आज एक ठाउँमा एउटा घर बनायो भोलि फेरि भत्कायो, यस्तो हुँदैन । अब दीर्घकालीन योजना बनाएर त्यसकै आधारमा हामीले प्रत्येक वर्षको योजना बनाउने हो ।

अब शिक्षाको सन्दर्भमा धवलशमशेर ज्यूको कार्यकालमा नेपालगन्जमा दुईवटा ठूला स्कुलहरु बनेका छन् । तीनको सुविधा हेर्नुहोस् त्यसैबाट थाहा भइहाल्छ हामीले कस्तो काम गर्छाैं भनेर । अब शिक्षा क्षेत्रमा पर्याप्त बजेट लगानी गर्छाैं । रोजगारीको सन्दर्भमा हामीले साना र कुटिर उद्योगहरु स्थापना गर्नुपर्छ । विशेषगरी कृषिमा आधारित उद्योगहरु खोल्नका लागि वातावरण बनाइदिनुपर्छ । ती उद्योगहरुमा स्थानीयहरुलाई नै रोजगारी दिने व्यवस्था गर्नुपर्छ ।

नेपालगन्जमा प्राथमिकस्तरका सामुदायिक विद्यालयहरुको हालत एकदमै खराब छ । यसलाई कसरी सुधार गर्नुहुन्छ ?

हामीले सामुदायिक विद्यालयको स्तर सुधार गर्र्नैपर्ने छ । पहिला त यी स्कुलहरुलाई व्यवस्थित गर्नुपर्नेछ । मैले अघि नै पनि भन हामीसँग एउटा उदाहरणको रुपमा विद्यालय छ सल्यानीबाग स्कुल । जहाँ पाँच वर्ष पहिले कस्तो हालत थियो । अहिले कस्तो अवस्था छ । त्यसैलाई उदाहरणको रुपमा लिएर अरु स्कुलहरुको पनि स्तर सुधार गर्नतिर हाम्रो ध्यान जान्छ ।

यहाँ सामुदायिक विद्यालयमा मात्रै समस्या छैन । निजी विद्यालयमा पनि चर्काे शुल्कको समस्या छ । त्यसलाई कसरी समाधान गर्ने भन्नेबारेमा हामीले योजना बनाउँछौं । निजी विद्यालय पनि बाँच्नेगरी हामीले शिक्षाको अवस्थालाई सुधार गर्नुपर्ने छ । अर्काे कुरा हामी सबै विद्यालयमा एउटैखाले पाठ्यपुस्तक कार्यान्वयनको पहल गर्नेछौं । स्थानीय भाषामा पनि पाठ्यपुस्तक निर्माणको काम गर्नेछौं । यी यावत् कामहरु शिक्षा क्षेत्रमा गर्नुपर्नेछ ।

नेपालगन्ज देशको सबैभन्दा बढी गर्मी हुने सहर तर यही सहरमा गर्मीको असर कम गर्ने उपाय र पूर्वाधारहरुतिर कसैको ध्यानै छैन, किन ?

तपाईंले एकदमै ठीक कुरा गर्नुभयो । हामी निर्वाचित भएपछि यसबारे विज्ञसँग छलफल गर्छांै । यहाँ त्यस्तो के कस्तो पूर्वाधार भयो भने आम जनतालाई राहत हुन्छ ? त्यसबारेमा योजना बनाउँछौं । मलाई लाग्छ अहिले सडकमा कही पनि सार्वजनिक खानेपानी धारा छैन । यस्तो गमी हुने सहरमा त्यस्तोखाले धाराहरु आवश्यक छ नि । हामी त्यस्ता पूर्वाधारहरु पनि निर्माण गर्छाैं । अनि गर्मीमा आराम गर्न मिल्ने ठाउँहरु छैनन् । हामी विभिन्न ठाउँमा त्यस्ता प्रतीक्षालयहरु बनाउँछौं । सडकमा र खाली ठाउँमा रुखहरु रोप्नुपर्छ ।

मलाई नेपालगन्जको मच्छरदेखि कोरोनाको पीडा अनुभूति छ । हामीले आपतविपत पनि धेरै झेलेका छौं । भविष्यमा पनि यस्तो आपतविपद आउन सक्छ । त्यसका लागि हामीले सामान्य पूर्वाधारहरु बनाइराख्नुपर्छ । त्यसतर्फ हाम्रो ध्यान जान्छ ।

स्थानीय सरकारलाई सुशासनयुक्त र भ्रष्टाचाररहित बनाउन यहाँको प्रतिबद्धता के हो ?

यसमा त हामी एकदमै प्रतिबद्ध छौं । हाम्रो पार्टीको अध्यक्ष राजेन्द्र लिङदेन ज्यूले भन्ने गर्नुभएको छ, ‘एक पैसा पनि भ्रष्टाचार गर्नु आमाको रगत खानु सरह हो’ भनेर । मलाई मेयर बनेर पैसा कमाउनु छैन । मलाई मेयर बनेर जनताको अघि अलग देखिनु पनि छैन ।

मलाई त अलिअलि लोभ भए त्यही नामको लोभ हो । मान्छेको जुनि लिएर आइसकेपछि केही न केही गरेर जाऔँ भन्ने लोभ हो । आफ्नो सहरलाई सुधार गरौँ भन्ने चाहना हो । पैसा कमाउने भए त मेरो आफ्नै व्यवसाय काफी छ ।

बुवाले आर्जेर गएको प्रशस्त सम्पत्ति छ । मलाई मेयर भएर पैसा कमाउनु छैन, जनताको सेवा गर्न पाए पुग्छ । म आफू पनि भ्रष्टाचार गर्दिनँ, अरुलाई पनि गर्न दिन्नँ । सम्पत्ति विवरण सार्वजनिक गर्न पनि कुनै हिचकिचाहट छैन । मैले सुशासनका हिसाबले कार्यालयलाई कस्तो बनाउँछु भन्ने उद्योग वाणिज्य संघको कार्यालय हेरे पुग्छ । हामी जनताको चाहनाअनुरुप पूर्णतया सुशासनमैत्री नगरपालिका बनाउने छौं ।

अन्तमा मतदाताहरुलाई के भन्न चाहनुहुन्छ ?

म सबै नेपालगन्जवासी मतदातालाई के आग्रह गर्न चाहन्छु भने, हामी तपाईंहरुको चाहनाअनुरुप नेपालगन्जलाई बनाउन आइरहेका छौं । हामी नेपालगन्जका सबै धार्मिक समुदायको एकता र सदभावका लागि काम गर्नेछौं । कसैलाई पनि भेदभाव हुन दिने छैनौं । नेपालगन्जलाई सुन्दर र विकसित सहर बनाउन काम गर्नेछौं । म र बिन्दुजीको टिम मिलेर नेपालगन्जको विकास गर्ने हो । यसमा तपाईंहरुको साथ चाहिएको छ । तपाईंहरुको अमूल्य मत दिएर हामीलाई विजयी गराइदिनुहुनेछ भन्ने अनुरोध गर्न चाहन्छौं ।

प्रकाशित मितिः आइतवार, बैशाख १८, २०७९     10:19:18 AM  |