17 April 2024  |   बुधबार, बैशाख ५, २०८१

मर्मत भएनन् नेपालगन्जका सोलारबत्तीः बजेट १५ लाख विनियोजन, खर्च शून्य

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, चैत्र १, २०७८  

सोलार सडक बत्ती जडानका लागि वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रले ७३ लाख रुपैयाँ सहयोग गरेको थियो । नेपालगन्जस्थित सुर्खेतरोडमा करिब दुई सयवटा सौर्यबत्ती जडान गरिएको थियो ।

तिमध्ये अहिले धेरै मर्मत गर्नुपर्ने अवस्थामा पुगेका छन् भने केही कामै नलाग्ने गरी बिग्रिएका छन्

नेपालगन्ज । 

नेपालगन्ज उपमहानगरपालिकाले चालू आर्थिक वर्षमा सोलार मर्मत गर्ने भन्दै १५ लाख रुपैयाँ विनियोजन गरेको छ । सोलार मर्मत कार्यक्रमलाई नगरस्तरीय तथा प्रवद्र्धनात्मक कार्यक्रम पनि भनिएको छ ।

दोस्रो चौमासिकको अन्तिमसम्म पनि उक्त शीर्षकबाट एक रुपैयाँ पनि खर्च हुन सकेको छैन । अर्थात नेपालगन्जका सडकमा राखिएका सोलर बत्ती मर्मत हुन सकेका छैनन् । बजेट नभइरै हो त ? त्यसो पनि होइन । मर्मत सम्भारका लागि बजेट भए पनि जनप्रतिनिधि र कर्मचारीको बेवास्ताका कारण सडकमा जोडिएका सडक बत्तीले उज्यालो छर्न सकेका छैनन् ।

नेपाल सरकारले २०७३ सालमा देशका मुख्यमुख्य सहरमा सौर्य बत्ति जडान गर्ने निर्णय गरेको थियो । सोहीअनुसार नेपालगन्जका सडकमा सौर्यबत्ती जडान भएका हुन् । यसका लागि वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रले ७३ लाख रुपैयाँ सहयोग गरेको थियो । नेपालगन्जस्थित सुर्खेतरोडमा करिब दुई सयवटा सौर्यबत्ती जडान गरिएको थियो । तिमध्ये अहिले धेरै मर्मत गर्नुपर्ने अवस्थामा पुगेका छन् भने केही कामै नलाग्ने गरी बिग्रिएका छन् ।

सोलारले काम गर्न छाडेपछि रात्रिकालीन यात्रा गर्ने सवारीसाधन र पैदल यात्रुलाई समस्या हुँदै आएको छ । केही सोलार भने जडान गरिएको वर्ष दिन नपुग्दै बिग्रिएका सर्वसाधारणहरुको भनाइ छ । गुणस्तरहीन सोलार व्यवस्थान हुँदा त्यसरी सोलारहरु बिग्रिएका हुन सक्ने स्थानीयको आशंका छ । विकासोन्मुख हुँदै गएको नेपालगन्जमा चहलपहल बढ्दो छ । अर्काेतिर रात्रिकालीन पर्यटन प्रवद्र्धनका लागि व्यवसाय सञ्चालन गर्न नगरले तयारी गरिरहेका छ । तर रात्रिकालीन व्यवसायका लागि अपरिहार्य हुने सडकबत्ती भने गुणस्तरीय हुन सकेको छैन ।

केही सोलार बत्ती बल्दै नबल्ने र केही सोलारले भने मधुरो उज्यालो दिएको नेपालगन्जका अजिव खाँले बताए । ‘सडकमा सौर्यबत्ती जडान हुँदा दिनमा त राम्रै देखिएको छ । दिउँसो उक्त बत्तीको काम छैन,’ उनले भने, ‘जब सौर्यबत्तीको आवश्यकता रातमा पर्छ त्यतिबेला बल्दैन ।

अँध्यारोमा आवतजावत गर्नुपरेको छ ।’ समयमै सोलार बत्ती मर्मत सम्भार नहुँदा नगर अँध्यरो भएको उनी बताउँछन् । सडक बत्ती बिग्रिँदा सडक अँध्यारो मात्रै भएको छैन, यसले सुरक्षा चुनौती पनि बढाएको छ । अँध्यारोमा चोरी, डकैती र अपराधिक क्रियाकलाप गर्ने समूह सक्रिय हुने सुरक्षा निकाय बताउँछ ।

सडक मर्मतका लागि बजेट हुँदा पनि समयमै खर्च नहुनु दुःखद् भएको नेपालगन्जका सन्देश केसीले बताए । ‘उक्त बत्ती मर्मतका लागि पैसा नभएर मर्मत नभएको रहेन छ,’ उनी भन्छन्, ‘तर, जनप्रतिनिधि र कर्मचारीको लापरबाही हुँदा अवस्था यस्तो छ ।’ नगरले समयमै मर्मत सम्भार नगरे पनि नागरिकले दबाब दिनुपर्ने उनी बताउँछन् ।

नेपालगन्ज उपमहानगरपालिकाले थप सोलार जडानका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसँग बजेट माग गरेको लेखा अधिकृत भुपेन्द्र रावतले जनाए । उनका अनुसार मन्त्रालयले थप केही जवाफ दिएको छैन । सोलार मर्मत गर्ने प्रक्रिया अगाडि बढाउने तयारी भइरहेको उनको भनाइ छ ।

प्रकाशित मितिः मङ्लबार, चैत्र १, २०७८     7:17:59 AM  |