17 April 2024  |   बुधबार, बैशाख ५, २०८१

आज कोहलपुरमा कांग्रेसको आमसभाः महामन्त्री थापा लगायत नेताले सम्बोधन गर्ने

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, फाल्गुन ३०, २०७८  

कोहलपुर ।

नेपाली कांग्रेसले स्थानीय तह निर्वाचन केन्द्रित कार्यक्रम सुरु गरेको छ ।

स्थानीय तहको निर्वाचनलाई केन्द्रित गरेर नेपाली कांग्रेसले देशभरि ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान सुरु गरेको हो । आगामी चैत २९ गतेसम्म सञ्चालन हुने अभियानअन्तर्गत स्थानीय तहका निर्वाचनको मतदानमा सहभागी भई आफ्नो लोकतान्त्रिक अधिकार प्रयोग गर्न मतदातालाई अपिल गर्दै निर्वाचनको माहोल बनाउने उद्देश्य राखिएको छ ।

यसैगरि ‘हरेक काँधलाई भारी, हरेक हातलाई जिम्मेवारी’ को नीति साथ पार्टीको विधानमा व्यवस्था गरिएका विभिन्न जिम्मेवारी बाँडफाँट गरेर पार्टी पंक्तिलाई स्थानीय निर्वाचनमा बृहत्तर परिचालनतर्फ उन्मुख गराइने पार्टी कार्यालयले जनाएको छ ।

पार्टीले सुरु गरेको अभियानअन्तर्गत केन्द्रीय नेताहरुलाई समेत जिल्ला जिल्लामा परिचालन गरिएको छ । सोही अभियानअन्तर्गत आज कोहलपुरमा नेपाली कांग्रेसले बृहत् आमसभा कार्यक्रमको आयोजना गर्दैछ ।

नेपाली कांग्रेस क्षेत्र नम्बर १, नेपाली कांग्रेस प्रदेश कार्य समिति, क्षेत्र नम्वर १ (ख) र नेपाली कांग्रेस कोहलपुर नगर कार्यसमितिको आयोजना कार्यालय उद्घाटन तथा आमसभा आयोजना हुन लागेको हो । कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री तथा पूर्वमन्त्री गगनकुमार थापाले सम्बोधन गर्ने महाधिवेशन प्रतिनिधि लक्ष्मणराज पौडेलले जानकारी दिए ।

उक्त अवसरमा थापाले क्षेत्र नम्बर १, प्रदेश कार्य समिति, क्षेत्र नम्बर १ (ख) र नेपाली कांग्रेस कोहलपुर नगरको कार्यालय उद्घाटन गर्ने कार्यक्रम छ । प्रतिनिधिसभा सदस्यसमेत रहेका थापाले वर्तमान सरकारले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) संसद्बाट सहमतिमा पारित गर्न सफलता प्राप्त गरेको विषय र त्यसबारेका भ्रम र दूष्प्रचारलगायत समसामयिक विषयमा सम्बोधन गर्नेछन् ।

कांग्रेसले अभियान सुरु हुनु दुई दिनअघि सबै जिल्लामा पार्टीका केन्द्रीय प्रतिनिधि पुगिसक्ने गरी खटाएको छ । संघीय संरचना निर्माणपश्चातको यो प्रथम अभियान प्रभावकारीरूपले सफल बनाउन पार्टीको सात प्रदेश कार्यसमितिले आफ्नो प्रदेशमा नेतृत्वदायी महŒवपूर्ण भूमिका निर्वाह गर्ने छन् ।

उक्त आमसभामा थापासँगै प्रतिनिधिसभा सदस्य तथा केन्द्रीय सदस्य सञ्जय गौतम, केन्द्रीय सदस्य दीपक गिरी, गुरु बराल, नेपाली कांग्रेस लुम्बिनी प्रदेश अध्यक्ष अमरसिंह पुन, नेता भुपेन्द्रजंग शाहीलगायतका नेताहरुको सहभागिता रहने बताइएको छ । कार्यक्रम बिहान ११ बजे गोलपार्क नजिकै आयोजना हुने भएको छ ।

प्रकाशित मितिः सोमवार, फाल्गुन ३०, २०७८     9:17:29 AM  |