सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले वर्तमान सत्तारुढ गठबन्धन तीनै तहको निर्वाचनसम्म कायम रहने बताएका छन् ।
नेपाल प्रेस युनियन बाँकेले आइतबार नेपालगन्जमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा सरकारका प्रवक्तासमेत रहेका कार्कीले विशेष परिस्थितिमा विशेष उद्देश्यका साथ गबन्धनको निर्माण भएको र यो गठबन्धनले संविधानको रक्षा गरेकोले कायम रहने बताए ।
उनले भने, ‘यो गठबन्धन तिनै तहको निर्वाचनसम्म हुन्छ । यसलाई आवश्कताअनुसार वास्तविकतालाई गम्भीररुपमा विश्लेषण गरेर हामी अगाडि बढ्छौं । समाजलाई एकताबद्ध गराएर शान्तिपूर्ण र निष्पक्षरुपमा निर्वाचन सम्पन्न गरेर जनताको नयाँ जनआदेशअनुसार सरकार निर्माणको वातावरण बनाउनु हाम्रो ध्येय हो ।’
आवश्यकताको आधारका विषयमा सञ्चारकर्मीले राखेको जिज्ञासामा उनले कांग्रेस जनता र कार्यकर्ताको चाहनाका आधारमा अघि बढ्ने बताए । वर्तमान गठबन्धन कसैका विरुद्धमा नगरिएको दाबी पनि उनले गरे । मन्त्री कार्कीले अब सरकारको ध्यान आसन्न निर्वाचन सफलतापूर्वक सम्पन्न गराउनेमा केन्द्रित रहेको बताउँदै जनतालाई पनि आफ्नो विवेक प्रयोग गरेर मतदानमा सहभागी हुन आग्रह गरे ।
सरकारका प्रवक्तासमेत रहेका मन्त्री कार्कीले अब एमसिसी सम्झौता समायावधि भित्रैै कार्यान्वयन गराउन सबै लाग्नुपर्ने पनि बताए । एमसीसीका बारेमा फैलाइएका अनेक भ्रमलाई चिरेर संसद्बाट पारित गरिएको र अब कार्यान्वयनका लागि सबैले पहल गर्नुपर्ने उनले बताए ।
उनले नेपालको लागि विद्युत् बिक्री गर्न प्रसारण लाइन आवश्यक रहेको र त्यसको पूर्ति गर्न एमसीसी कोसेढुंगा सावित हुने दाबी गरे । व्यापार घाटा कम गर्नका लागि सबैभन्दा सबल आधार विद्युत् निकासी नै भएको पनि उनले बताए ।
युट्यब च्यानलहरु पनि दर्ता गरिनुपर्ने नयाँ प्रावधानमा रहेका अन्योलताबारे सञ्चारकर्मीले राखेको जिज्ञासामा मन्त्री कार्कीले यु्ट्युबलाई नियमन गरेर प्रभावकारी र व्यवस्थित बनाउन मात्र खोजिएको प्रष्ट्याए । प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्ने कुरा सरकारले कल्पना पनि गर्न नसक्ने उनको भनाइ छ ।










प्रतिक्रिया दिनुहोस्