19 April 2024  |   शनिबार, बैशाख ८, २०८१

सरकारका प्रवक्ताले भने, स्थानीय तहमा ‘आवश्यकताअनुसार’ चुनावी तालमेल हुन्छ

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, फाल्गुन २९, २०७८  

नेपालगन्ज।

सरकारका प्रवक्ता एंव सञ्‍चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले विषेश परिस्थितिमा बनेको गठबन्धन भएकाले स्थानीय तहको निर्वाचनमा आवश्यकता अनुसार सत्ता साझेदार दलहरूबीच चुनावी तालमेल हुन सक्ने बताए।

कांग्रेस केन्द्रीय सदस्य समेत रहेका मन्त्री कार्कीले जिल्ला तथा स्थानीय तहहरूमा सहज हुनेगरी निर्णय लिंदै गठबन्धनको निरन्तरता संसदीय निर्वाचनसम्मै रहने बताएका हुन्।

यसअघि प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले पनि चुनावसम्मै गठबन्धन कामय हुने भन्दै चुनावी अभियानका क्रममा गठबन्धनविरूद्ध नबोल्न कार्यकर्ताहरूलाई निर्देशन दिएका थिए।

नेपाल प्रेस युनियन बाँकेले आइतबार नेपलगन्जमा आयोजना गरेको पत्रकार भेटघाटमा मन्त्री कार्कीले देशमा चुनावी माहोल सुरू भइसकेको र नेपाली कांग्रेसलेसमेत चुनावी अभियान सुरू गरिसकेको भन्दै स्थानीय तहको निर्वाचनमा सक्रिय सहभागी हुन आम नागरिक र कार्यकर्तालाई अपील समेत गरे।

कांग्रेसले आजैदेखि एक महिनासम्म चल्ने चुनावी अभियान थालेको छ। त्यसका लागि कांग्रेसले ‘घर-घर जाऔं, कांग्रेस जिताऔं’ भन्ने नारा बनाएको छ। कांग्रेसले सबै जिल्ला र स्थानी तहहरूमा अभियान सञ्चालनका लागि केन्द्रीय सदस्यहरूलाई खटाइसकेको छ।

एकअर्को प्रसंगमा मन्त्री कार्कीले राजनीतिक स्थिरतासँगै आर्थिक रुपमा समृद्ध बनाउने सरकारको अबको मुख्य लक्ष्य रहेको बताए।

एमसिसीबारे पत्रकारहरूको सवालमा मन्त्री कार्कीले भने ‘करिब करिब सबैको सहमतिबाट एमसिसी अनुमोदन भएको हो।’ एमसिसी विशुद्ध विकासको कार्यक्रम भएकाले मुलुकको दीगो आर्थिक विकासमा सहयोग पुग्ने बताए। उनले विद्युतको ३१५ किलोमिटर प्रसारण लाईन निर्माणमा एमसिसिको सहयोग कोसेढुङ्गा सावित हुने दावी पनि गरे।

एमसिसी परियोजना नेपाल सरकारको माग अनुसार नै आएको स्मरण गराउँदै उनले भने- ‘अमेरिकी सेना आउने भन्ने हल्ला निराधार हुन्।’

४६ देशमा लागु भएको उक्त परियोजना उदाहरणका रुपमा हेर्न आग्रह गरे। एमसिसि परियोजना समयमै सक्नेगरी काम गर्नसक्ने वातावरण बनाउन सहयोगका लागिसमेत उनले सञ्चारमाध्यमलाई आग्रह गरे।

प्रकाशित मितिः आइतवार, फाल्गुन २९, २०७८     10:26:26 AM  |