कोहलपुर नगरपालिकास्तरीय उपमेयर कप क्रिकेट प्रतियोगिता आज (शनिबार) देखि सुरु हुँदैछ । कोहलपुर–१३ भरैयामा रहेको बालशिक्षा आधारभूत विद्यालय उपमेयर कप क्रिकेट प्रतियोगिता हुन लागेको हो ।
बिहान १० बजेदेखि प्रतियोगिता सुरु हुने विद्यालयका प्रधानाध्यापक टर्कबहादुर खत्रीले जनाए । उनका अनुसार एक समारोहका बीच कोहलपुरका नगर प्रमुख लुटबहादुर रावतले उपमेयर कप क्रिकेटको उद्घाटन गर्ने छन् ।
‘उक्त प्रतियोगितालाई भव्य र सभ्य बनाउन कुनै कसुर बाँकी राख्दैनौं,’ खत्रीले भने, ‘तयारी हामीले शुक्रबार साँझसम्म पूरा गरिसकेका छौं । भव्य समारोहका बीच उद्घाटन हुन्छ ।’
नगरपालिकास्तरीय उपमेयर कप क्रिकेट प्रतियोगितामा नगरका पाँचवटा विद्यालयले सहभागिता रहने छ । प्रधानाध्यापक खत्रीका अनुसार त्रिभुवन नमुना मावि, बालशिक्षा आधारभूत विद्यालय भरैया, ज्ञानज्योति मावि चप्परगौडी, जनज्योति मावि कोहलपुर र मिसन पब्लिक विद्यालय सहभागी हुने छन् ।
आजदेखि सुरु हुने नगरपालिकास्तरीय उपमेयर कप क्रिकेट प्रतियोगिता सोमबार समापन हुनेछ ।










प्रतिक्रिया दिनुहोस्