बढ्दै सीमामा सुरक्षा निगरानी



शिवु खनाल ।  दाङ (भौवानाका) । 

तीन वर्ष अगाडि नेपाल–भारत सीमा क्षेत्रका बासिन्दाले अनेकन पीडा खेप्नुपर्ने बाध्यता थियो । भारतसँग जोडिएको दाङको सीमावर्ती क्षेत्रमा नेपालतर्फको सुरक्षा संयन्त्र नपुग्दा आफैँले भोगचलन गर्दै आएको जग्गामा खेती गर्दा र संरचना बनाउँदासमेत पटकपटक भारतीय सीमा सुरक्षा निकाय (एसएसबी) को गाली खानुप¥यो ।

त्यतिमात्रै कहाँ हो र, सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरीको (बिओपी) नहुँदा चोरी तस्करी व्यापक हुन्थ्यो । भारतसँग जोडिएका दाङका अधिकाशंक खुला सिमानाका कारण सीमा क्षेत्रका बस्ती सुरक्षित थिएनन् । चोरी, तस्करीलगायतका गतिविधि मौलाएका थिए । भारततर्फ बाक्लो सुरक्षा रहे पनि नेपालमा सुरक्षा निकाय नहुँदा यस क्षेत्रका बासिन्दाले भारतको नियन्त्रणमै रहनुपथ्र्यो तर अब भने, सीमावर्ती क्षेत्रका बासिन्दालाई पहिला जस्तो बाध्यता दोहोरिएको छैन ।

नेपालतर्फ पनि ठाउँठाउँमा सशस्त्र प्रहरीको बिओपी (बोर्डर आउट पोष्ट) स्थापना भएपछि विगतका समस्या समाधान हँुदै गएको राजपुर गाउँपालिका वडा नम्बर ७ भैसाहीँनाका निवासी पूर्णबहादुर रोकाले बताए । भारतसँग जोडिएको दाङस्थित सीमावर्ती क्षेत्रमा एक वर्षको अवधिमा पाँचवटा (बिओपी), आठवटा फरवार्ड बेस र तीनवटा बोर्डर मोनिटरिङ पोष्ट स्थापना भएका छन् ।

जसअन्तर्गत ८३ किलोमिटर सीमा रहेको दाङको कोइलाबास, पटौली, खांग्रा, सुनपत्थरी र भैसाहीँनाकामा (बिओपी) स्थापना गरिएको छ । यस्तै भौरेसाल, मुसी, खबरी, सुख्खा, सुकौली, कल्याणपुर, छेग्रीया र भौवानाकामा फरवाट बेस स्थापना गरिएको छ भने तीनवटा बोर्डर मोनिटरिङ पोष्ट स्थापना गरिएको सशस्त्र प्रहरी बल २९ नम्बर हेटक्वाटर ज्वालामाई गण भालुवाङका प्रमुख विनोद केसीले जानकारी दिए ।

भारतको बलरामपुर जिल्लासँग जोडिएको नेपालको कोइलाबास नाकामा सबैभन्दा पहिले (बिओपी) स्थापना भएको हो । त्यसपछि पटौली, खांग्रा, सुनपत्थरी र भैसाहीँनाकामा पनि (बिओपी) स्थापना भइसकेको छ । सरकारले (बिओपी) स्थापनाका लागि स्वीकृति दिएको अब दाङको केही सीमावर्ती क्षेत्रमा मात्रै बिओपी राख्न बाँकी छ ।

उक्त क्षेत्रमा पनि (बिओपी) स्थापनाका लागि तयारी भइरहेको भालुवाङका प्रमुख केसीले जनाए । भालुवाङका प्रमुख विनोद केसीका अनुसार नेपाल—भारत सीमामा प्रहरी निरीक्षकको नेतृत्वमा (बिओपी) स्थापना गरिएको बताए । छोटो समयमा सुरक्षाका लागि (बिओपी) बने पनि यति मात्र सुरक्षाले सीमा पूर्ण हुने अवस्था छैन ।

‘भारततर्फ एसएसबीको क्याम्प नै बसेकाले पनि ठूलै संख्यामा सुरक्षा खटाउनुपर्ने देखिन्छ,’ प्रमुख केसीले भने, ‘अहिले पनि केही (बिओपी) मा तोकिएबमोजिमको सुरक्षा दिन जनशक्तिको अभाव छ ।’

सीमावर्ती क्षेत्रको गतिविधिलाई बुझ्दै निरन्तर जनशक्ति बढाउँदै लगिने दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले बताए । विगतमा नाकावासीले मात्र सुरक्षा दिइरहेको सीमामा अब सुरक्षाकर्मी थपिएपछि क्रमशः संख्या र संरचना बढाउँदै लगिने अधिकारी रेग्मीले जनाए । सीमा क्षेत्रमा सशस्त्र प्रहरीको निरन्तर डियुटीले गर्दा चोरी तस्करी कम भएको अधिकारी रेग्मीले बताउँछन् ।

‘पहिले गाउँमै आएर चोरी, डकैती हुने गरेको भन्ने सुनिन्छ,’ उनले भने, ‘अहिले त्यस्तो भएको छैन, सीमा क्षेत्रमा हुने अवैध ओसारप्रसार पनि रोकिएको छ ।’ सीमा सुरक्षाका लागि स्थापना भएको (बिओपी)ले सीमाको निगरानी, सीमास्तम्भको अभिलेखीकरण, त्यसको सुरक्षा, भारतीय सीमा सुरक्षा बल एसएसबीसँग संयुक्त गस्ती, चोरी तस्करी नियन्त्रण र सीमामा समन्वयको काम गर्ने छन् ।

  • No tags available
प्रकाशित मिति : २०७८ फागुन २७ गते शुक्रबार