कांग्रेस एक्लै चुनाव लड्छः बाँके सभापति गौडेल



नेपालगन्ज ।

नेपाली कांग्रेस बाँकेका नवनिर्वाचित सभापति नारायणप्रसाद गौडेलले नेपाली कांग्रेस आगामी निर्वाचनमा एक्लै चुनाव लड्न सक्षम रहेको बताएका छन् । निर्वाचित भइसकेपछि पहिलोपटक आयोजित पत्रकार सम्मेलनमा गौडेलले बाँकेका सन्दर्भमा कांग्रेस एक्लै चुनावमा गएर विजय हासिल गर्न सक्षम रहेको बताए ।

उनले आफूहरुको धारणा चुनावमा कांग्रेस एक्लै लड्नुपर्छ भन्ने रहे पनि निर्वाचनसम्म पार्टीको नेतृत्व र जिल्लाका विभिन्न तहका नेतृत्वको छलफलबाट कसरी निर्वाचनमा जाने भन्नेबारे टुंगो लाग्ने बताए । सभापति गौडेलले जिल्लामा अब पार्टीभित्र मूल्यांकनको परिपाटी बसालिने पनि उल्लेख गरे । उनले भने, ‘आन्तरिक निर्वाचनसम्म जे भयो, भयो ।

अब हामी सबैले पार्टीका लागि काम गर्ने हो । काम गर्नेहरु सबैको मूल्यांकन र रेकर्डमा रहने व्यवस्था हामीले गरेका छौं । पार्टीको काममा को कहाँ, कति खटिन्छ त्यसको रेकर्ड पार्टी कार्यालयमा राख्ने व्यवस्था मिलाएका छौं ।’

स्थानीय, संघ र प्रदेशका निर्वाचनमा कांग्रेसलाई जिताउने अर्जुनदृष्टिसहित कार्यतालिका बनाएर योजनाबद्ध तरिकाले पार्टीलाई अघि बढाउने उनले बताएका छन् । यसैगरि पार्टीको मुखपत्र प्रकाशन गर्ने, गतिविधिलाई प्रविधिमैत्री बनाउने, पूर्व प्रधानमन्त्री स्वर्गीय सुशील कोइरालाको शालिक स्थापनाको पहल गर्नलगायतका योजना उनले पत्रकार सम्मेलनमा प्रस्तुत गरे ।

उनले पार्टीका सबै भातृ संगठनहरुलाई क्रियाशील बनाउने बताए । पत्रकारहरुलाई आफ्नो कार्यकालमा भएका राम्रा मात्रै नभइ नराम्रा कामबारे पनि समाचार सम्प्रेषण गर्न नहिच्किचाउन उनले आग्रह गरे ।

प्रकाशित मिति : २०७८ फागुन २५ गते बुधबार