शुभाकर विश्वकर्मा । कोहलपुर । फागुन ।
नेपाली समाजमा छोराछोरीबीच विभेद कायमै छ । छोरा जन्मिए ईश्वरको वरदान मानिन्छ । छोरी जन्मिइन् भने, सरापको रुपमा लिइन्छ । समाजमा आमरुपमा पहिलो सन्तान छोरा नै हुनुपर्ने मान्यता विद्यमान छ । त्यसो भएन भने, दोस्रो सन्तानको रुपमा छोरा जन्मिनै पर्छ । छोरा जन्मिँदा खुसी व्यक्त गरिन्छ । छोरी भए हर्ष न बिस्मातको अवस्था सिर्जना हुन्छ ।
यतिमात्रै होइन, समाजको बर्हिष्करण, घरपरिवारको दुव्र्यवहार र स्वयम् श्रीमान्को अपमान महिलाले नै व्यहोर्नुपर्छ । छोराको जन्म नहुँदा विभेद भोग्नुपरेका कयौं उदाहरण छन्, समाजमा । तिनै थुपै्र पात्रमध्येकी एक हुन््, सल्यानकी दीपा सार्की । जसले छोरा नजन्मिएकै कारण सौता (आफ्नै लोग्नेकी अर्की स्वास्नी) व्यहोरिन् ।
१२ वर्षको कलिलो उमेरमा विवाह भयो । केही वर्षपछि पहिलो सन्तानको रुपमा छोरी जन्मिइन् । लामो समयसम्म दीपा दम्पतीको दोस्रो सन्तान भएन । सन्तान जन्मिएपछि श्रीमान्–श्रीमतीले अस्पताल धाए पनि । स्वास्थ्य जाँच गराए । अनेक विधि अपनाए । छोरा सन्तान जन्माउन केही उपाय लागेन । जो पहिलो सन्तान भयो, त्यसपछि अर्काेअर्थात दोस्रो सन्तान भएन । त्यसपछि दीपाको सम्बन्ध पनि टिकेन । जिन्दगीभरि सँगै जिउने बाचा कसम खाएका श्रीमान्ले कसम पूरा गरेनन् । कसम तोडे, अर्कै बाटो मोडे । अनि दीपाको जिन्दगीले अर्कै मोड लियो ।
तीन वर्ष अघिको कुरा हो, दीपाका श्रीमान्ले दोस्रो विवाह गरे ।
‘उहाँ जहिले पनि छोरा हुनुपर्छ भन्नुहुन्थ्यो । लामो समयसम्म दोस्रो सन्तान नै भएन,’ उनले भनिन्, ‘मैले समाज, परिवार र श्रीमान्बाट विभेद भोगे । अन्ततः मबाट छोरा नजन्मिएको भन्दै श्रीमान्ले पनि साथ छोडे ।’ श्रीमान्ले अर्कै विवाह गरेपछि उनी छोरीसँग एक्लै बस्दै आएकी छन् । उनकी छोरी हाल २० वर्षकी भइन् । उनीहरु कोहलपुर–११ मा रहेको सुकुम्बासीहरुको बस्तीमा बस्दै आएका छन् ।
छोरा हुनुपर्ने उनको चिन्तनको सिकार भएँ । ‘सन्तान नजन्मिनु मेरो के दोष थियो,’ उनी भन्छिन्, ‘बिना कसूरको सजाय भोगिरहेकी छुँ । जीवन जिउन सिंगो समाजसँग संघर्ष गरिरहेकी छँु ।’ कोहलपुरको एनटिभी रोड नजिकै जुत्ता सिलाउने काम गर्दै आएकी दीपा बिछोडको पल सम्झिँदै भक्कानिन् ।
… अनि जुत्ता सिलाउन थालिन्
१४ वर्ष अघि सल्यानबाट कोहलपुर झरेको थियो, दीपाको दम्पति । कोहलपुर झरे लगत्तै उनीहरुले जुत्ता सिलाउने व्यवसाय सुरु गरे । एनटिभी रोडको चोकैमा उनीहरुको सानो पसल थियो । उनका श्रीमान् नयाँ जुत्ता बनाउने काम पनि गर्थे ।
सार्कीकी छोरी भए पनि उनको पुर्खाले कहिल्यै जुत्ता सिलाएन । तर, उनले जुत्ता सिलाउन सिकिन् । श्रीमान्सँगै हुँदा सिकेको सीप अहिले श्रीमान् आफ्नो साथमा नहुँदा काम लागेको छ ।
जीवीकोपार्जनको स्रोत बनेको छ । हरेक दिन उनी केवल जुत्ता मात्रै सिलाउँदिनन्, बिछोडको पीरले च्यातिएको मन पनि सिलाउँछिन् । आखिर मिलन–बिछोडको संगम रहेछ जीवन भनेर संघर्षका पाइला अघि बढाइरहेकी थिइन् । उनी भन्छिन्, ‘सँगै जिउँछु भन्नेले छोडेर गयो । बाँकी जीवन जिउन जुत्ता सिलाउँदै आएकी छुँ ।’
सडकमा जुत्ता सिलाउने काम गर्ने भए पनि उनलाई कुनै गलानी छैन । बरु गर्व छ, आफ्नो कर्म, संघर्ष र जीवनप्रति । उनले आफू आफ्नो कामप्रति पूर्णरुपमा सन्तुष्ट भएको बताइन् । विगतको तितो भोगाइ भुलेर नयाँ संकल्पसहित अघि बढेकी उनले वर्तमानको निर्मम सामना गरिरहेकी छन्् । पितृसत्तासँग सियोका माध्यमबाट लडाइँ लडिरहेकी छन् ।
बिछोडको चोटबाट बाहिर निस्कँदै उनले आफू अनुकूलको जीवन जिइरहेकी छिन् । अहिले उनलाई समाजको बहिष्करण, घरपरिवारको दुव्र्यवहार र श्रीमान्को अपमानको कुनै पनि पर्खाल छैन । आफूले भोगेको विभेद छोरीले भोग्नु नपरोस् भन्ने उनको मान्यता छ । ‘छोरी मेरो जीवन हुन् । वर्तमान र भविष्य हुन् ।
उनको खुसीको लागि जस्तो सुकै चोट पनि व्यहोर्न सक्छँु,’ मिसन टुडे दैनिकसँग उनले भनिन् । कुराकानी बिट मार्दै हामीले उनलाई सोध्यौं, जुत्ता सिलाएर कति कमाइ हुन्छ दिदी ? जीवनमा कति धेरै चोट पाएकी छँु । दुस्मन र मित्रहरु कमाएकी छुँ । चोट सहने बानी परेको छ । दैनिक कमाइ हुने ७–१५ सय रुपैयाँ कमाउछुँ के भन्नु । खान पुगेको छ लाउन पुगेको छ । अरु त के चाहियो र मलाई ।









प्रतिक्रिया दिनुहोस्