बलात्कार आरोप लागेका नेकपा (एमाले) का सांसद मोहन बानियाँ निलम्बित भएका छन् । आइतबार बसेको प्रतिनिधिसभा बैठकबाट बलात्कार आरोप लागेका उनको सांसद पद निलम्बित भएको हो ।
बानियाँविरुद्ध जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएपछि प्रहरीले सभामुख र सदनलाई जानकारी दिएको थियो । सोहीबमोजिम सभामुखले प्रतिनिधिसभा बैठकमा उनको पद निलम्बित भएको जानकारी गराए । फागुन १८ गते जिल्ला प्रहरी कार्यालयअन्तर्गतको अपराध अनुसन्धान शाखाले सांसद बानियाँलाई हिरासतमा राखेर बलात्कारसम्बन्धीको मुद्दा अनुसन्धान भइरहेको संसद्लाई पत्र पठाएको थियो ।
जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ । एक महिलाले बलात्कारको उजुरी दिएपछि उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेले पक्राउ गरेको छ । उनी फागुन १६ गते नेपालगन्ज विमानस्थलबाट पक्राउ परेका थिए । उनीविरुद्ध फागुन २ गते बाँके जिल्ला अदालतले पक्राउ पुर्जी जारेको गरेको थियो । पक्राउ पुर्जी जारी भएको १४ दिनपछि उनी पक्राउ परे ।
आइतबारको बैठकमा सभामुख सापकोटाले जिल्ला प्रहरी कार्यालय बाँकेबाट प्राप्त पत्र पढ्दै निज प्रतिवादी आफू हाजिर गराइ अनुसन्धान गराइ पाउ भन्ने व्यवहोराको निवेदनसहित आफँै उपस्थित हुन आएकोले प्रतिनिधिसभा नियमावली २०७५ को नियम २४४ को उपनियम (३) को प्रयोजनका लागि सोही नियमको उपनियम (१) बमोजिम कारबाही प्रारम्भ भएको बताएका थिए । उनलाई नेपालको संविधानको धारण १०३ को उपधारा (६) को प्रतिबन्धात्मक बाक्यंशबमोजिम पत्र प्राप्त भएकोले निलम्बित गरिएको जनाइएको छ ।
बानियाँले माघ १९ गते नेपालगन्जस्थित होटल अप्सरामा जुम्लाकी शिक्षिकालाई करणी गरेको आरोप छ । आफूलाई सांसद बानियाँले प्रलोभनमा पारेर करणी गरेको भन्दै पीडित महिलाले जिल्ला प्रहरी कार्यालय पुगेकी थिइन् । पछि २४ गते उनले बानियाँ विरुद्ध जाहेरी दिएको भए पनि प्रहरीले मुद्दा दर्ता गर्न आलटाल गरेको थियो ।
दबाबपछि माघ २७ गते जिल्ला प्रहरी कार्यालय बाँके मुद्दा दर्ता गर्न बाध्य भयो । उनी मुगुको खत्याड गाउँपालिका वडा नम्बर ३ का स्थायी बासिन्दा हुन् । प्रतिनिधिसभामा उनी नेकपा एमालेको तर्फबाट समानुपातिक सांसद थिए । अहिले उनलाई प्रहरी हिरासतमा राखेर अनुसन्धान भइरहेको छ ।










प्रतिक्रिया दिनुहोस्