बाँके कांग्रेस संस्थापनभित्रको द्वन्द्वले गौडेल निर्वाचित



वीरेन्द्र जैसी । नेपालगन्ज ।

नेपाली कांग्रेस बाँकेमा संस्थापन पक्ष एक ठाउँमा उभिन नसक्दा सभापतिमा संस्थापनइतर समूहका नारायणप्रसाद गौडेल निर्वाचित भएका छन् । गौडेलले संस्थापनबाट पहिलो चरणमा उम्मेदवार रहेका सुरेन्द्र हमालको साथ पाएपछि सात सय ६० मतका साथ विजयी भएका हुन् ।
संस्थापन पक्षका आधिकारिक उम्मेदवार भनिएका हमाल पहिलो चरणमा तेस्रो भएका थिए ।

आधिकारिक उम्मेदवारलाई भन्दा अर्का उम्मेदवारलाई जिताउन सहमहामन्त्री किशोरसिंह राठौरले भूमिका खेलेको भन्दै हमाल पक्षले दोस्रो चरणमा संस्थापनइतर समूहका गौडेललाई समर्थन गरेको हो । दोस्रो चरणको निर्वाचनमा गौडेलले हमालको साथ पाएपछि उनका प्रतिद्वन्द्वी बादशाह कुर्मी ९७ मतान्तरले पराजित भए । कुर्मीले ६ सय ६३ मत पाएका छन् ।

शुक्रबार सम्पन्न दोस्रो चरणको मतदानमा कूल एक हजार चार सय ९३ मतादातामा एक हजार चार सय ३९ जनाले मतदान गरेका थिए । जसमध्ये १६ मत बदर भएको निर्वाचन समितिले जनाएको छ । सभापतिको पहिलो चरणको मतदानमा गौडेलले पाँच सय ६९ मत ल्याएर पहिलो भएका थिए भने कुर्मीले पाँच सय ३८ र हमालले तीन सय १४ मत प्राप्त गरेका थिए । दोस्रो चरणमा संस्थापन पक्ष एक भएको भए कुर्मीको जित सुनिश्चत हुने थियो ।

पार्टीलाई एकढिक्का बनाउँछुः गौडेल

नवनिर्वाचित सभापति नारायण गौडेलले अब आफूले निर्वाचन अघि गरेको बाचाजस्तै पार्टीलाई एकढिक्का बनाएर लिने प्रतिबद्धता जनाएका छन् । निर्वाचत भइसकेपछि मिसन टुडेलाई संक्षिप्त प्रतिक्रिया दिँदै गौडेलले बाँकेमा पार्टीलाई अब थप मजबुत बनाएर लिने बताए ।

निर्वाचनका बेलाका गतिविधिले तपाईंलाई काम गर्न असहज हुन्छ कि रु भन्ने प्रश्नमा उनले भने, ‘त्यस्तो कुनै गतिविधि भएका छैनन् । हामी सबै मिलेर अघि बढ्छौँ ।’ गौडेलले आगामी स्थानीय, प्रदेश र संघको निर्वाचनमा पनि पार्टीको निर्वाचनले असर नपार्ने दाबी गरे

आगामी निर्वाचनमा असर पर्नसक्छः कुर्मी

सभापतिका प्रतिस्पर्धी बादशाह कुर्मीले पार्टीभित्रको आफ्नै पक्षले साथ नदिँदा आफूले चुनाव हार्नुपरेको बताए । यद्दपि आफूलाई त्यसमा दुःख नलागेको र मतदातालाई धन्यवाद दिन चाहेको उनले बताए ।

अहिलेको गतिविधिले आगामी निर्वाचनमा असर पर्न सक्ने पनि कुर्मीले बताए । मिसन टुडेसँग कुरा गर्दै कुर्मीले भने, ‘अहिले मैले आफ्नै पक्षका साथीहरुले साथ नदिँदा हार्नुपरेको छ । यसको अलिअलि असर त आउँदो चुनावमा पर्न सक्छ ।

तर मैले नवनिर्वाचित सभापतिलाई पूरा साथ दिन्छुँ । उहाँलाई मेरो सहयोग रहन्छ ।’

  • No tags available
प्रकाशित मिति : २०७८ फागुन २२ गते आइतबार