सुशीलका जेल सारथि गौडेल



शुभाकर विश्वकर्मा । कोहलपुर । 

नेपाली कांग्रेसको १२औँ जिल्ला सभापतिमा निर्वाचित नारायणप्रसाद गौडेल पूर्वप्रधानमन्त्री तथा केन्द्रीय पूर्वसभापति स्वर्गीय सुशील कोइरालाको प्रेरणाले राजनीतिमा होमिए । स्वर्गीय कोइरालाको सादगी जीवनशैली, प्रजातान्त्रिक समाजवादको आस्थाबाट उनी प्रेरित भए ।

सभापति निर्वाचित भएपछि शुक्रबार साँझ मिसन टुडे दैनिकसँग कुराकानी गर्दै आफू अहिले पनि कोइरालाकै प्रेरणाबाट राजनीतिमा अनवरतरुपमा सक्रिय रहेको बताए । ‘उहाँको सादगीपन, निष्ठानवान् राजनीतिक चरित्रले मलाई निकै प्रभावित बनायो,’ उनी भन्छन्, ‘साधारण कार्यकर्तासँग उहाँ निकै परिचित हुनुहुन्थ्यो ।’

राष्ट्रवादी नेता कोइरालाको पथलाई हरेक राजनीतिक यात्रामा पछ्याउँदै आएको उनी बताउँछन् । उनी २०६२-०६३ को जनआन्दोलन पूर्व तत्कालीन राजा ज्ञारेन्द्रले ‘कू’ गरेपछि कोइरालासँगै जेल परे । सुशील कोइराला र गौडेलप्रति कार्यकर्ताको आकर्षण भएको त्यतिबेला गौडेलका जेलमेट शिवप्रसाद पाण्डेले बताए । उनी भन्छन्, ‘गौडेल नेपाली कांग्रेस बाँकेमा कार्यकर्ता बुझेका नेता हुनुहुन्छ । उहाँलाई राजनीति, नेता र कार्यकर्ताबारे राम्रो ज्ञान छ ।’

पार्टी वृत्तमा इमान्दार, हक्की र सहयोगी नेताका रुपमा परिचित गौडेल अन्ततः पार्टी कार्यकर्ताको अभूतपूर्व साथ पाएर जिल्ला नेतृत्वमा उदाएका छन् । आफ्नो नेतृत्वलाई उनी चुनौती र अवसर दुवै ठान्छन् । विधि पद्दति सम्वद्ध, बृहत् र गलिशील पार्टी बनाउने अठोट बोकेका गौडेलको असली परीक्षा अब प्रारम्भ भएको छ ।

२१ वर्षको कलिलो उमेरमा नेपाली कांग्रेसको क्रियाशील सदस्यता लिएका गौडेल चार दशक लामो राजनीतिक यात्रापछि कोहलपुरबाट पहिलो सभापति बन्ने इतिहास बनाएका छन् । उनले तरुण दल हुँदै क्षेत्रीय सभापति, जिल्ला सदस्य, जिल्ला सहसचिव, केन्द्रीय संगठन विभाग सदस्यदेखि महासमिति सदस्य पदमा रही कुशलतापूर्वक आफ्नो भूमिका र जिम्मेवारी निभाएका छन् ।

२०३६ सालमा पार्टीको साधारण सदस्यता लिएका उनले २०४८ सालमा नेपाली कांग्रेसको क्रियाशील सदस्य लिएका थिए । २०५९ सालमा जिल्ला सहसचिव भएका थिए । उनी २०६१ सालमा क्षेत्र नम्बर १ को क्षेत्रीय सभापति भए ।

पार्टीको १२औँ महाधिवेशनबाट २०६७ सालमा केन्द्रीय संगठन विभाग सदस्य पनि बनेका थिए । उनी दरुण दल कोहलपुरका संस्थापक तथा अध्यक्षसमेत हुन् । उनले विभिन्न आन्दोलनमा सक्रिय सहभागिता जनाए । जनआन्दोलन २०६२-०६३ मा सक्रिय सहभागिता जनाएका गौडेल जेल परेका थिए ।

त्यतिबेला दुईपटक गरेर साढे तीन महिना जेलमा बन्दी बनाइए । उनी त्यसबेला तत्कालीन शाही नेपाली सेनाबाट मरणासन्न हुने गरी कुटाइ खाएका थिए । १३औँ महाविधेशनमा पनि सभापति पदका उम्मेदवार थिए । त्यतिबेला पहिलो चरणको निर्वाचनमा तेस्रो भए । दोस्रो चरणमा किरण कोइरालालाई समर्थन जनाए । उनले चुनाव जितिन् ।

अहिले उनलाई कोइरालाको पनि समर्थन थियो । यस्तै उनी दोस्रो संविधानसभा चुनावमा समानुपातिकतर्फका उम्मेदवारसमेत थिए । गौडेलको जन्म २०२१ चैत ११ गते आमा ज्ञानधरादेवी गौडेल र बुवा चन्द्रदत्त गौडेलको कोखबाट माइलो सन्तानका रुपमा भएको थियो । उनी २०३८ सालदेखि कोहलपुरमा सपरिवार बसोबास गर्दै आएका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७८ फागुन २२ गते आइतबार