नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले संघीय संसद् ‘शो पिस’ बनेको बताएका छन् । नेपालगन्जमा बिहीबार प्रेस चौतारीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले एमालेले भन्दै आएझैँ वर्तमान संसद्ले निकास दिन नसक्ने तथ्य प्रमाणित भएको दाबी गरे ।
अहिलेको सत्ता गठबन्धनले पनि निकास दिन नसक्ने उनले दोहो¥याए । उनले अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) प्रकरणले सत्ता गठबन्धनको जरा हल्लाइसकेको दाबी गर्दै भने, ‘हाम्रो त यो गठबन्धन टिकिरहोस् भन्ने शुभकामना छ । तर, जरा हल्लिसक्यो ।’
नेकपा एमाले चुनाव केन्द्रित भएको तर वर्तमान सत्ता गठबन्धन चुना रोक्ने षड्यन्त्रमा लागेको उनको आरोप छ । उक्त षड्यन्त्रको प्रमाणस्वरूप सत्ता रुढ दलकै स्थानीय जनप्रतिनिधिले अदालतमा चुनाव रोक्न मुद्दा दायर गर्नुलाई लिन सकिने उनले बताए । ‘अदालतमा चुनाव रोक्न सत्तारुढ दलकै स्थानीय जनप्रतिनिधिले मुद्दा हालेका छन् । यो शंसयपूर्ण छ,’ उनी भन्छन् ।
नेता बाँस्कोटाले कांग्रेस, माओवादी र एकीकृत समाजवादीको गठबन्धनलाई अपवित्रको संज्ञा दिँदै गठबन्धनका कारण देशको आर्थिक क्षेत्र तहस नहस भएको र मूल्य वृद्धि आकशिएको धारणा व्यक्त गरे ।
गठबन्धन सत्ता बचाउनेमा केन्द्रित हुँदा जनताले दुःख पाएको र लोकतन्त्र कमजोर भएको उनी बताउँछन् । प्रधानन्यायाधीशमाथिको महाअभियोग कुत्सित (घृणित) मनसायले आएको उनको भनाइ छ । बाँस्कोटाले पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) लाई नक्कली राष्ट्रवादीको संज्ञा दिँदै उनी विस्तारवादको पनि नक्कली विरोधी भएको आरोप लगाए ।
प्रचण्ड अस्थिरताको कारक भएको पनि उनले बताए । अब एमालले निर्वाचन समयमै सम्पन्न गर्न खबरदारी गर्ने र एक्लै जनतासामू जाने भन्दै उनले भने, ‘एमाले जोसुकैको सामना गर्न तयार छ । सबै मिलेर आए पनि फरक पर्दैन ।’










प्रतिक्रिया दिनुहोस्