खजुरा ।
खजुरामा बन्ने भनिएको प्रदेश प्राविधिक विश्वविद्यालयको बारेमा आज (बिहीबार) खजुरा गाउँपालिकाले आधिकारीक धारणा सार्वजनिक गर्ने भएको छ । उक्त विश्वविद्यालय खजुरामा स्थापना नहुने समाचार सार्वजनिक भएसँगै गाउँपालिकाले आधिकारीक धारणा सार्वजनिक गर्न लागेको हो ।
खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले पत्रकार सम्मेलनमार्फत बिहीबार आधिकारीक धारणा सार्वजनिक गरिने जानकारी दिए । केही दिनअघि मात्र लुम्बिनी प्रदेश योजना आयोगले प्रदेश विश्वविद्यालय घोषणा गर्ने सार्वजनिक गरेको थियो ।
योजना आयोगले खजुरामा रहेको जग्गा कम हुने भन्दै अन्य जिल्लामा प्रदेश विश्वविद्यालयको प्रशासनिक भवन रहने गरी तयारी थालिसकेको छ । केही वर्षअघि नै खजुरामा प्रादेशिक प्राविधिक विश्वविद्यालय स्थापना गर्ने घोषणा लुम्बिनी प्रदेश सरकारले गरेको थियो ।
खजुराको रनियापुरमा रहेको एक सय बिगाहा जग्गासमेत गाउँपालिकाले उक्त विश्वविद्यालय स्थापनाको लागि प्रदेश सरकारको नाममा गर्ने निर्णय यसअघि नै गरिसकेको छ ।
प्रदेश योजना आयोगका अनुसार खजुरामा विश्वविद्यालय स्थापनाको ढोका बन्द भइसकेको छ । प्रदेश विश्वविद्यालयअन्तर्गत रहेको कुनै एक विषयको अध्ययनको मात्र बाँकेले पाउनसक्ने बताइन्छ ।









प्रतिक्रिया दिनुहोस्