कोहलपुर नगरपालिकाले ५० प्रतिशत छात्रवृत्ति अनुदान सहयोगमा दुईजनालाई एमबीबीएस (डाक्टर) पढाइरहेको छ । चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम ‘एक डाक्टर, एक नर्स’ कार्यक्रमअन्तर्गत उनीहरुलाई नगरपालिकाले छात्रवृत्ति अनुदानमा डाक्टर पढाइरहेको हो ।
सामुदायिक विद्यालयबाट १२ कक्षा पूरा गरेका विद्यार्थीहरुका लागि ५० प्रतिशत छात्रवृत्ति अनुदानमा पढ्न पाउने व्यवस्था कार्यक्रमले गरेको छ । सोही कार्यक्रमअनुसार दुईजनाले कोहलपुरस्थित मेडिकल कलेज शिक्षण अस्पताल एमबीबीएस डाक्टर अध्ययन गरिरहेको कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावतले जानकारी दिए । उनका अनुसार डाक्टर पढ्न लाग्ने कूल खर्चको ५० प्रतिशत नगरपालिकाले व्यहोर्ने छ ।
‘शैक्षिक हब कोहलपुरलाई डाक्टर उत्पादनको थलो बनाउने हाम्रो उद्देश्य हो । सोहीअनुसार कार्यक्रम ल्याइएको हो । समाजमा पिछडिएका, दलित, आदिवासी कार्यक्रमका प्राथमिकता हुन्,’ उनले भने । सो कार्यक्रमको लागि नगरपालिकाले ३० लाख रुपैयाँ विनियोजन गरेको उनले बताए ।
कार्यक्रम लागू गर्न कोहलपुर नगरपालिकाले एक डाक्टर, एक नर्स’ कार्यक्रमअन्तर्गत एमबीबीएस र स्टाफ नर्स अध्ययन छात्रवृत्तिका लागि २०७८ असोज १४ गते आवेदन दिन सूचना प्रकाशित गरेको थियो । तर नर्सको लागि देशभरि आवेदन नलिएका कारण आवेदन नै परेन । डाक्टर अध्ययनको लागि भने तीनजनाको आवेदन परेको नगरपालिकाले जनाएको छ ।
तीमध्ये आवश्यक प्रक्रिया पूरा गरेर दुईजनाले डाक्टर अध्ययन गरिरहेका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालले जनाए । कोहलपुर नगरपालिकाको ५० प्रतिशत छात्रवृत्ति अनुदारमा डाक्टर अध्ययन गर्नेमा कोहलपुर–११, का उज्जवल गिरी र विनिता लम्साल छन् ।
‘कार्यक्रमअनुसार एक डाक्टर र एक नर्स पढाउनुपर्ने हो । नर्सको लागि आवेदन परेन । डाक्टरको लागि तीनजनाको आवेदन परेको थियो,’ नगर प्रमुख रावतले भने, ‘एकजनाको आवश्यक प्रक्रिया पुगेन । पछि महिला र पुरुष भए पनि दुवैजनालाई डाक्टर अध्ययनको लागि छात्रवृत्ति प्रदान गरियो । दुवैजनाले हाल अध्ययन गरिरहेका छन् ।’
कोहलपुरको ‘शैक्षिक हब’ महत्वकांक्षा
चालू आर्थिक वर्ष २०७८/०७९ मा कोहलपुर नगरपालिकाको नीति तथा कार्यक्रम निकै महŒवकांक्षी छ । तीमध्ये शैक्षिक नीतिमा उल्लेख गरिएका शैक्षिक कार्यक्रम झन महŒवाकांक्षी छन् । नगरपालिकाले स्वास्थ्यपछि शिक्षालाई दोस्रो प्राथिमिकता राखेको छ ।
दोस्रो प्राथमिकतामा रहेको शिक्षा नीति शीर्षकमा कूल १९ बुँदा समेटिएका छन् । त्यसमा कोहलपुरलाई ‘शैक्षिक हब’ बनाउने उल्लेख छ । यस्तै मेगा विद्यालय तथा ठूला विद्यालय अवधारणासहित शैक्षिक हब विकास र बृहत् गुरुयोजना निर्माण गर्ने भनिएको छ । यस्तै ‘एक वडा एक नमुना बालविकास केन्द्र अभियान सञ्चालन गर्नेछ’ भनिएको छ ।
चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा शैक्षिक कार्यक्रम ‘सूचना प्रविधियुक्त शिक्षकसँग मेयर’ कार्यक्रम लागू गरिने उल्लेख छ । सोहीअनुसार नगरपालिकाले कोहलपुर क्षेत्रका शिक्षकहरुलाई आवेदनको आधारमा छनोट गरिसकेको छ । सूचना प्रविधियुक्त शिक्षकसँग मेयर ल्यापटम खरिद तथा वितरण छनोट तथा सिफारिस समितिले ६२ जना शिक्षकलाई छनोट गरिएको छ ।
पाँचजना वैकल्पिकमा परेका छन् । ‘विपन्न बालबालिकासँग उपमेयर कार्यक्रम’ समेत रहेको छ । कार्यक्रममार्फत विपन्न र बेरोजगार अभिभावकमध्येबाट नगरपालिकाको कोटामा हरेक वर्ष एक बालक र बालिकालाई प्रत्येक संस्थागत विद्यालयमा निःशुल्क पढाउने उद्देश्य कार्यक्रमको छ । एमफिल-पिएचडी तहमा‘सूचना तथा प्रविधिमा आधारित विद्यालय शिक्षा’ विषय शीर्षकमा प्राज्ञिक अनुसन्धान गर्ने एकजना महिला तथा एकजना पुरुष शिक्षकलाइ छात्रवृत्ति रकम प्रदान गरिने भन्ने कार्यक्रमसमेत छ ।
यस्तै आधारभूत र माध्यमिक तहमा ‘एक विद्यालय–एक खेलकुद शिक्षक’ र ‘एक विद्यालय एक स्वास्थ्यकर्मी’ कार्यक्रम रहेको छ । यस्ता महŒवाकांक्षी योजनाका विषयमा कोहलपुर नगरपालिकाको स्रोतले धान्न सक्ने गरी कार्यक्रम ल्याइएको नगरप्रमुख लुटबहादु रावतले बताए । शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख रविलाल मिजारका अनुसार शाखाअन्तर्गत रहेका कार्यक्रम लागू भइरहेका छन् ।
बाँकेको कोहलपुर साक्षर नगरपालिका हो । यहाँका ९६.८५ प्रतिशत नागरिक साक्षर छन् । कोहलपुरलाई २०७६ जेठ ३१ गते साक्षर घोषणा गरिएको थियो । हाल कोहलपुरमा ३० सामुदायिक विद्यालय सञ्चालनमा छन् । २८ विद्यालयअन्तर्गत ८१ बालविकास केन्द्रमा समेत सञ्चालित छन् । कोहलपुरको त्रिभुवन माविमा खुला शिक्षा सञ्चालनमा छ ।
विश्वविद्यालय तहको शिक्षा प्रदान गरिरहेको बागेश्वरी बहुमुखी क्याम्पससमेत रहेको छ । साधारण तथा प्राविधिक धारतर्फको उच्च शिक्षा प्रदायक संस्था नेपालगन्ज मेडिकल कलेजसहित १५ वटा छन् । सामुदायिक विद्यालयमा बालविकास केन्द्रदेखि कक्षा १२ सम्म कूल १५ हजार नौ सय ७६ विद्यार्थी अध्ययनरत छन् ।
बागेश्वरी बहुमुखी क्याम्पसमा कक्षा ११ देखि स्नातकोत्तर तहसम्म १३५० र निजी विद्यालयमा १५७५९ जना विद्यार्थी छन् । चार विद्यालयले प्राविधिक शिक्षा र व्यावसायिक तालिम प्रदान गर्दै आएका छन् । निजी क्षेत्रबाट प्ले गु्रप तथा मन्टेश्वरीसहित कूल ५५ विद्यालय कोहलपुरमा सञ्चालित रहेको शिक्षा युवा तथा खेलकुद शाखाले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्